बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

काठमाडौँमा ट्रक भित्र्याउने सरदार, जसले उपत्यकाको अनिकाल टारे

शनिबार, २६ भदौ २०७८, ११ : २२
शनिबार, २६ भदौ २०७८

पहिलोपल्ट काठमाडौँ टेक्दा सरदार प्रितम सिंहमा ठूलो अत्यास थियो । त्यतिबेला उनी २३ वर्षका लक्का जवान थिए । यो विसं २०१५ तिरको कुरा हो; जतिबेला त्रिभुवन राजपथको निर्माण चलिरहेको थियो । २०१३ देखि नै साना सवारीहरू चल्न थालिसकेका थिए । तर, सडक साँघुरा भएकाले ठूला सवारी थिएनन् ।

रक्सौल हुँदै अमलेखगञ्जसम्म ट्रेनमा आइपुगेका प्रितमलाई काठमाडौँ आउन थप तीन दिन लाग्यो । ‘बाटोमा ओर्लिएर पिसाब गरेर फेरि चढ्न पनि भ्याइन्थ्यो, त्यस्तो थियो रेलको गति,’ प्रितमले सम्झिए, ‘अमलेखगन्जमा जङ्गलै जङ्गल मात्र थियो । पुरानो जीएमसी गाडीलाई पनि काठमाडौँसम्म आउन हम्मे थियो ।’

खासमा उनी बिहे भोजमा सहभागी हुन काश्मिरबाट उत्तर प्रदेशको तुल्सीपुरसम्म आएका थिए । भोजपछि बेहुलीका पिताले भने– ‘यहाँबाट काठमाडौँ नजिकै छ, यातायत व्यवसायमा सक्रिय तपाईंहरूका लागि त्यो ठाउँ सम्भावनायुक्त हुन सक्छ । त्यहाँको सडक, घुम्ती र मोड पनि काश्मीरकै जस्तो छ ।’

तर, प्रितमलाई काठमाडौँ कुनै आधुनिक सहरजस्तो लागेन । न त बेहुलीका बाले भनेजस्तो तुल्सीपुरबाट नजिक नै थियो । ‘अहिलेको विमानस्थललाई त्यतिबेला गौचर भनिन्थ्यो, त्यहाँबाट पटनासम्म डाकोटा अर्थात् सानो प्लेन चल्थ्यो । अत्यास बढेपछि त्यसैमा चढेर म भोलिपल्ट बिहानै पटना फर्किएँ ।’

केही दिनपछि उनले घरमा पुगेर बाबुलाई आफ्नो यात्राबारे सुनाए । ‘किन राति पुगेर बिहानै फर्किएको ? नयाँ ठाउँ, केही दिन बसेर बुझेको भए राम्रो हुन्थ्यो,’ बाबुले भने ।

प्रितमका बुबा काश्मीरमा गाडी भित्र्याउने व्यक्ति हुन् । काश्मिरका तत्कालीन महाराजा हरि सिंहको घरमा उनको आवत–जावत बाक्लो थियो । उनी जम्मुमा बसेर यातायात व्यवसाय गर्थे, बाँकी परिवार काश्मीरको पुन्चमा बस्थ्यो । ‘त्यतिबेला राजधानी सहर ६ महिना जम्मु र ६ महिना काश्मिरको श्रीनगरमा हुन्थ्यो,’ प्रितमले सम्झिए, ‘राजालाई आवश्यक पर्दा मेरा बाबुले गाडी उपलब्ध गराउँथे ।’

सन् १९४७ मा भारत विभाजन हुनुअघि काश्मीर निकै शान्त थियो । हिन्दु, शिख र मुस्लिमहरू मिलेर बसेका थिए । तर, भारत–पाकिस्तान विभाजनपछि पठानहरूले यहाँ विद्रोह थाले । धार्मिक सद्भाव खलबलियो । काश्मिरलाई स्वतन्त्र देश बनाउने राजा हरि सिंहको चाहनामा यो विद्रोह बाधक बनिदियो । पाकिस्तानको आड पाएर पठानहरूले हिंसा मच्चाउन थालेपछि बाध्य भएर राजा दिल्ली भागे । त्यहाँ उनले काश्मीरलाई भारतमा विलय गराउने सम्झौता गरे ।

त्यसपछि भारतीय सेना आफ्नो उपस्थित देखाउन काश्मीर छि–यो । ‘उनीहरू प्लेनमार्फत प्यारासुटबाट झर्दै थिए, झन्डै ६ फिट अग्ला सरदारहरू थिए । तर, पठानहरूले जमिनबाट हवाई फायर गर्दै झन्डै २५ प्रतिशत सेनालाई आकाशमै मारे,’ घटनालाई प्रत्यक्ष नियालेका प्रितम सिंह भन्छन्, ‘जो जमिनमा उत्रिए, उनीहरू खरो देखिए । उनीहरूले पठानहरूलाई अन्ततः परास्त गर्न थाले ।’

युद्धको चपेटामा परेपछि ठूलो सङ्ख्यामा मानिसहरूले काश्मीर छाडे । विशेषगरी हिन्दू र शिखहरूको सङ्ख्या ठूलो थियो । उरी, बरामुल्लाह हुँदै मानिसहरूको लस्कर जम्मुतर्फ झरिरहेको थियो । ‘गाडी भएकाहरू दुई–चार लिटर पेट्रोलका लागि सबै गरगहना बुझाउन तयार थिए । गाडी नभएकाहरू लिफ्टकै लागि यी सबै सम्पत्ति बुझाउन तयार थिए,’ प्रितमले सम्झिए, ‘अझै एक साता युद्ध लम्बिएको भए भारतीय सेना यहाँ विजयी हुने थियो । तर यही समय राष्ट्रसङ्घको मध्यस्थतामा सहमति बनेकाले युद्धविराम भयो ।’

त्यसपछि काश्मिरको केही भूभाग पाकिस्तान र केही भारतको नियन्त्रणमा रह्यो ।

प्रितमको बाँकी परिवार पनि जम्मुमा स–यो । उनी जन्मिएको पुन्च जिल्लास्थित गाउँ अहिले पाकिस्तानमा पर्छ । युद्धले धार्मिक सद्भाव बिथोलिएपछि यहाँको शिख र हिन्दु जनसङ्ख्या अन्यत्रै सर्न बाध्य बन्यो ।

डुङ्गामाथि गाडी चलाउँदा...

बाबुले काठमाडौँ जाने इच्छा देखाएपछि उनलाई लिएर प्रितम दोस्रोपटक काठमाडौँ आए । यसपटक न्युरोडको एउटा होटलमा उनीहरू बसेका थिए । त्यहाँ एकजना चिनेजानेका सरदारलाई भेट्दा प्रितमलाई निकै खुसी लाग्यो । ‘ती व्यक्ति र म लखनउमा एकसाथ पाइलट ट्रेनिङ गथ्र्यौं । उनी त यहाँ राजा महेन्द्रको पाइलट रहेछन् । उनीसँगै अर्का एक सरदार पनि थिए, ती पनि राजाकै पाइलट रहेछन्,’ प्रितमले सम्झिए ।

दुलतसिंह नाम गरेका ती पाइलटले प्रितम र उनका बाबुलाई बहादुर भवनस्थित आफ्नो कोठामा लगेर राखे । उनले राजा महेन्द्रसँग पनि बाबु–छोराको भेट गराइदिए र नेपालमा मालवाहक ट्रक भित्र्याउन हौस्याए । ‘काठमाडौँमा जिपसम्म चल्ने भए पनि ठूला ट्रक नचल्ने भएकाले रोपवेकै सहारामा सबै काम हुँदो रहेछ । ट्रक भित्र्याउँदा राम्रो फाइदा हुने सुझाव उनले दिए,’ प्रितम सम्झन्छन् ।

पहिलो पटक काठमाडौँ आउँदा अत्यास मानेका प्रितम यस पटकको भ्रमणबाट भने उत्साहित बने ।

बाटो–बाटोमा ओर्लंदै सडकको अवस्था नियाल्दै बाबु–छोरा फर्किए । यसपछि तीनवटा गाडी, तीनजना चालक र तीनजना सह–चालकसहित भारतबाट प्रितम तेस्रोपटक काठमाडौँ हान्निए ।

पटनासम्म केही गाह्रो थिएन । तर, त्यहाँबाट आउन  भने निकै मुस्किल भयो । केही ठाउँमा त प्रितमलाई ज्यानै जान्छ जस्तो लागिसकेको थियो । विशेष गरी गङ्गा किनारबाट गाडी पास गराउनै गाह्रो थियो ।

‘अहिलेजस्तो गंगामा पुल थिएन । ठूला जहाजमा हालेर गाडी ल्याउनुपर्ने थियो,’ प्रितमले सम्झिए, ‘मलाई २० दिन कुर्न भनियो । त्यसपछि पनि पूरै गाडी हाल्न नसकिने भएकाले आधा–आधा बनाएर हाल्नुपर्ने तर्क जहाजका अधिकारीहरूले गरे ।’

२३ वर्षको त्यो उमेर । प्रितमसँग कुर्ने धैर्यता थिएन । उनले आसपास केही ठूला डुङ्गाहरू देखे । ‘मैले डुङ्गा बलियो गरी बाँधेर गाडी तार्न सकिन्छ भनेर सोधेँ ? माझीहरू तयार भए । उनीहरूले दुई किनारामा बलियो डोरी राखेर पानीमाथि निकै कसेर डुङ्गा बाँधे । अनि टायर सन्तुलनमा रहनेगरी ठूलो काठ हालें, त्यसैमाथि मैले गाडी गुडाएँ ।’

प्रितमले जवानीको जोश सम्झिए, ‘मानिसहरू यो को पागल हो भन्दै थिए । बीचमा पुगेपछि सायद, ट्रक ड्राइभरका हात काँपे, उसले गाडी अघि बढाउन सकेन । त्यसपछि मैले आफैँ गाडी चलाएर नदी कटाएँ । यसरी नै तीनवटा गाडी कटाएँ ।’

सकस यतिमै सकिनेवाला थिएन । बयलगाडा चल्ने साँघुरा बाटामा सडकमा ट्रक गुडाउनु निकै चुनौतीपूर्ण थियो । मिर्जारपुरबाट अगाडि बढेपछि ससना पोखरीहरू थिए । त्यहाँबाट ट्रक अघि बढाउनसक्ने अवस्था नै रहेन । प्रितमको युवा जोशले फेरि अर्को बुद्धि फुरायो– रेलको लिक हुँदै गाडी लैजाने ।

‘त्यतिबेला बिहान एउटा र बेलुकी अर्को रेल रक्सौलका लागि छुट्थ्यो, मैले बिहानीको रेल हिँडिसकेपछि ट्र्याकमा लगेर गाडीलाई चढाएँ,’ उनले भने, ‘ट्रयाकको दायाँतर्फ एउटा पाङ्ग्रा र बायाँतर्फ अर्को पाङ्ग्रा अड्याएर हामी अघि बढ्यौँ । यसरी मिर्जापुरबाट रक्सौल आउन तीन दिन र त्यहाँबाट अमलेखगन्ज आउन थप ३ दिन लाग्यो ।’

हेटौँडाको त्यो सुरुङ

मकवानपुरको चुरियामाई मन्दिर आइपुगेपछि सुरुङबाट गाडी छिराउनुपर्ने थियो । यो सानो सुरुङमा गाडी छिर्दैन भन्ने हेक्का भएरै उनका बाबुले त्यहीअनुसारको टायर बनाए पठाइदिएका थिए ।

 ‘बुबा यातायातमा विज्ञ नै हुनुहुन्थ्यो । मसँग आउँदा उहाँले त्यो सुरुङ नाप्नुभएको थियो र ट्रक सहजै घुस्दैन भन्ने जानेर उहाँले भारतबाटै गाडीको रिमलाई काटेर पछाडिपट्टीका दायाँतर्फका दुई र बायाँतर्फका दुई टायरलाई जोडेर पठाइदिनुभएको थियो । यसरी रिम काट्दा दायाँतर्फ झन्डै ६ र बायाँतर्फ ६ इन्च स्पेस कम भएको थियो,’ प्रितमले सम्झिए, ‘छिर्न कुनै समस्या भएन । तर, सुरुङको बीचमा पुगेपछि गाडी रोकियो ।’

प्रितम र ड्राइभर दुवैजना एकाएक आत्तिए । ड्राइभरसँग टायर खोल्न प्रयोग गरिने रड थियो, त्यसैले अगाडिको सिसा फुटाएर उनीहरू बल्लतल्ल बाहिर निस्किए । ट्रकको पछाडिपट्टि बसेका सहचालक पनि गाडीमुनिबाट छिरेर उनीहरूलाई भेट्न अगाडि आएका रहेछन् । ‘ब्याट्रीको तार लुज भएकाले गाडी रोकिएको रहेछ । हामीले तार कसेर फेरि गाडी स्टार्ट ग¥यौँ,’ प्रितमले भने ।

गाडी हिँड्ने बाटो कतै भिरालो थियो, त कतै खाल्डाखुल्डी । उनीहरूलाई काठमाडौँ आइपुग्न थप दुई दिन लाग्योे । ‘मोड धेरै छोटा थिए । हरेक मोडमा खलासीलाई उठाउनुपर्ने, आफैँ ढुङ्गा राख्ने, त्यसलाई मिलाउने र आउने ग¥यौँ,’ उनले भने ।

त्यस ट्रकलाई उनले सीधै न्युरोडको मध्य भागमा ल्याएर राखे । स्थानीयहरू मालवाहक ट्रक आइपुगेको देखेर छक्क थिए । तर रात परेपछि केही हुल्याहाहरू आएर गाडी तोडफोड गर्न पनि खोजे । ‘पञ्जावीले किन गाडी ल्याएको ? यसको के काम ?’ प्रितमले सम्झिए, ‘उनीहरू सायद यस्तै भन्दै थिए । उनीहरूले पिएका थिए । उनीहरूले गाडी बिगार्न खोजेपछि हाम्रा चालक र सहचालकहरू पनि बचाउनका लागि अघि सरे ।’

काठमाडौँमा मालवाहक ट्रक भित्रिएको यो पहिलो घटना थियो । साना जिपहरूको प्रयोग भने राणाकालमै हुन्थ्यो । इतिहासकारहरूका अनुसार काठमाडौँमा पहिलो पटक वीर शमशेरको कार्यकालमा (वि.सं. १९४२–१९५७) गेहेन्द्र शमशेरले फोर्ड कम्पनीको गाडी भित्र्याएका थिए ।

त्यही गाडी ल्याउनका लागि वीरगन्जदेखि भीमफेदीसम्म सडक खनिएको थियो । त्यसपछि मानिसहरूले नै काँधमा बोकेर चित्लाङको बाटो हुँदै यो गाडीलाई काठमाडौँ ल्याएका थिए । वि.सं. २०१३ सालमा त्रिभुवन राजपथ बन्नुअघिसम्म जति पनि गाडी भित्रिए, ती सबै यसरी नै बोकेर ल्याइएका थिए ।

प्रितम सिंहका अनुसार उनी आउनुभन्दा पहिले पनि दुईजना सरदारहरूले काठमाडौँमा ट्रक भित्र्याउने कोसिस गरेका थिए तर सफल भएनन् । ‘अमलेखगन्जसम्म अन्य सरदारहरू पनि आएका थिए । उनीहरू पञ्जावी थिए । त्यसैले यहाँको कच्ची बाटो र पहाड देखेपछि तर्सिए । तर काश्मिरी भएकाले हामीलाई पहाडको माटोसँग अपनत्व थियो ।’

काठमाडौँमै बसोबास

२०१७ साल असारमा जापान, अमेरिका र क्यानडाको भ्रमण गरिसकेपछि राजा महेन्द्र परिवारसहित अमरनाथ भ्रमणमा गएका थिए । त्यतिबेला संयोगवश, प्रितम सिंह पनि काश्मीरमै थिए । जम्मु–काश्मीरका तत्कालीन प्रधानमन्त्री बक्सी गुलाब मोहम्मदले प्रितमलाई बोलाएर राजा महेन्द्रसँग भेट गराइदिए ।

‘यी हाम्रो परिवारका सदस्य हुन् र नेपालमा व्यवसाय गर्छन् भनेर चिनाजान गराइदिए,’ प्रितम सम्झन्छन्, ‘उहाँले नेपालमा व्यवसाय गर्न केही समस्या भयो भने उनलाई भन्नु भनेर शाही पाश्र्ववर्ती मेजर जनरल शेरबहादुर मल्ललाई चिनाइदिनुभयो ।’

२०१८ साल (सन् १९६१) मा दिल्लीकी अर्चरण कौरसँग प्रितमले विवाह गरे । काठमाडौँमै घर बनाए । श्रीमतीलाई पनि यहीँ राखे । केही महिनापछि एक दिन बबरमहलस्थित आफ्नो घरबाट बाहिर निस्कँदै थिए, एकाएक उनको गाडीलाई सुरक्षाकर्मीले रोके । ‘तपाईंलाई दरबार ल्याउनुपर्ने आदेश भएको छ,’ ती सुरक्षाकर्मीले भने । उनी प्रितमको गाडीमा पुगे । अर्को चोकमा फेरि अर्का सुरक्षाकर्मीले रोके । उनी पनि गाडीमा चढे । यसरी चारजना सुरक्षाकर्मी एक–एक गर्दै उनको गाडीमा चढे । उनलाई सोझै दरबारमा लगियो । त्यहाँ तत्कालीन प्रमुख अञ्चलाधीश तथा राजाका निकट सहयोगी विष्णुमणि आचार्य उनलाई कुरेर बसेका रहेछन् ।

‘खासमा विष्णुमणि बाजेले मेरो गाडी नम्बर टिपाइदिएर सुरक्षाकर्मीहरूलाई लिन पठाएका रहेछन् । मैले ल्याएको भनेर देखाउनका लागि सबै सुरक्षाकर्मीहरू तँछाडमछाड गर्दै मेरो गाडीमा चढेका रहेछन् । त्यतिबेलाको आदेश यस्तो हुन्थ्यो, कामको जस लिने होड त्यस्तो हुन्थ्यो,’ हाँस्दै प्रितमले भने ।

देशका पहाडी इलाकामा अनिकाल लागेकाले विष्णुमणि बाजेले उनलाई बोलाएका रहेछन् । ‘भारतले १० हजार टन चामल सहयोग दिएको थियो । तर, रक्सौलबाट काठमाडौँसम्म नेपालले आफैँ ढुवानी गर्नुपर्ने सर्त रहेछ,’ प्रितमले भने, ‘यसबाहेक नेपालकै तराईबाट पनि चामल ल्याउनुपर्ने थियो । गाडीको व्यवस्थाका लागि मलाई बोलावट गरिएको रहेछ । तर मसँग १२ वटा मात्रै गाडी थिए ।’

विष्णुमणिले सोधे : कसरी ल्याउन सकिन्छ ?

प्रितमको जवाफ थियो : मलाई १ सयवटा गाडी चाहिन्छ । ती गाडी ल्याउनका लागि सरकारले कर छुट दिनुपर्छ । ड्राइभरहरू मैले भारतबाटै ल्याउनुपर्छ । भारतीयलाई लाइन्सेन्स दिने व्यवस्था पनि तपाईंहरूले नै मिलाउनुपर्छ ।

विष्णुमणिले अर्का एक अञ्चलाधीशलाई भेटाइदिए । ती अञ्चलाधीशले कर छुट गर्ने कागजी प्रक्रिया मिलाए । अनि नेपाल भित्रिने सयवटा गाडीमा नम्बर टाँस्ने जिम्मा पनि प्रितमलाई नै दिए । बा. ५०० देखि बा. ६०० सम्मका नम्बर प्रयोग गर्ने अधिकार प्रितमलाई दिइएको थियो । यसमध्येबाट उनले १ सयवटा गाडीमा आफूले चाहेको नम्बर टाँसिदिन पाउँथे ।

प्रितमको हस्ताक्षर भएको एउटा कागज पनि तयार गरियो; जो त्यतिबेलाको लाइसेन्स थियो । ‘मेरो हस्ताक्षर भएका ती कागज देखाउनेलाई गाडी ल्याउन कुनै रोकतोक हुँदैन थियो,’ प्रितमले सम्झिए ।

हिउँदको समय भएकाले काश्मीरका सडकहरूमा हिउँ जमेको थियो । त्यहाँ काम नपाएर बसेका चालकहरूलाई प्रितमले नेपाल बोलाए । सुरुमा १ सय गाडी ल्याउने भनिए पनि पछि यही प्रक्रियाबाट डेढ सय गाडी भित्र्याए ।

छोटो समयमै काठमाडौँमा चामल ढुवानी गरियो । अनिकाल टरेपछि राजा महेन्द्र निकै खुसी भए । उनले बक्सिस स्वरूप १ हजार रुपैयाँ र एउटा प्रमाणपत्र प्रितमलाई पठाए । यसपछि नेपालको राजदरबारसँग पनि उनको सम्बन्ध मजबुत बन्यो ।

४ वर्षमै नागरिकता !

एकदिन दरबार गएका बेला राजाले सोधे– मैले के गर्नुपर्छ ? प्रितमले यस्तो प्रश्नको आशा गरेका थिएनन् । के भन्ने, के भन्ने जस्तो भयो । उनको मुखबाट आफ से अफ शब्द निस्किए– मेरो छोरोको नागरिकता बनाइपाम ।’

यतिबेला उनका छोरा मेहेन्दर पालसिंह केवल चार वर्षका थिए । राजाले ‘मुन्टो हल्लाए’, छोराको नागरिकता बन्यो ।

‘राजाले नै हुकुम गरेपछि उमेर र प्रक्रियाको के कुरा ?’ प्रितमले सम्झिए ।

यसको केही वर्षपछि राजाकै आग्रहमा उनले अधिराजकुमारी शान्ति राज्यलक्ष्मी र उनका श्रीमान् बझाङ्गी राजा दीपक जङ्गबहादुर सिंहलाई अमरनाथसहित काश्मिरका विभिन्न ठाउँहरू घुमाए । ‘हामीबीच पारिवारिक सम्बन्ध बन्यो । अधिराजकुमारी शान्ति, उनकी बहिनी मेरो घरमा आउँथे, राजाले सिकार खेल्न जाँदा पनि मलाई लैजान थाले ।’

पहिलो पटक अत्यास मानेको काठमाडौँ प्रितमलाई मज्जाले फाप्यो । त्यही कारण उनी विगत ६२ वर्षदेखि यहीँ बसिरहेका छन् । यी वर्षहरूमा आफ्नो कम्पनी ‘नेपाल पब्लिक मोटर सर्भिस’मार्फत उनले काठमाडौँमा धेरै सरदारहरूलाई भित्र्याए ।

यसबीच धेरै चालक र सहचालकहरू आफैँ मालिक बने । ‘कुनै समय ट्रक भन्नासाथ मानिसको दिमागमा सरदारको चित्र आउँथ्यो,’ उनले भने, ‘एक समय मेरा मात्र ५ सयभन्दा धेरै गाडी थिए । मैले नै काठमाडौँ भित्र्याएका अन्य सरदारहरूको गाडीसमेत जोड्दा १ हजारभन्दा बढी थिए । सबै रुटमा हाम्रा गाडी थिए ।’

यस अवधिमा उनी आफैँले धेरै चालक र सहचालकहरूलाई किस्ताबन्दीमा गाडी उपलब्ध गराइदिए । ‘त्यतिबेला ट्रकको मूल्य ३१ हजार २ सय भारु थियो । मैले आफ्ना चालकसँग २ सय लिएर बाँकी सबै पैसा किस्ताबन्दीमा तिर्नेगरी गाडी झिकाइदिएको थिएँ,’ उनले सम्झिए, ‘त्यतिबेला गाडी चलाउनेमध्ये ८० प्रतिशतभन्दा धेरै आफैँ मालिक बने । कतिपय त अहिले करोडपति छन् ।’

इन्डियन मोर्डन स्कुल

सरदार प्रितम अहिले ८६ वर्षका भइसके । उनले ट्रकको व्यवसाय छाडेको एक दशक नाघिसक्यो, पछिल्ला दुई दशकदेखि उनी शिक्षा क्षेत्रमा सक्रिय छन् । इन्डियन मोर्डन स्कुलका तीनजना संस्थापकमध्ये उनी एक हुन् र विद्यालय सञ्चालनको अभिभारा उनकै काँधमा छ । त्यसैगरी काठमाडौँस्थित गुरुद्वारामा अध्यक्ष पनि छन् । श्रीमती र छोराको निधनपछि पहिलेको दाँजोमा सक्रियता केही घटेको छ । र पनि दैनिक विद्यालय गएकै हुन्छन् । नेपालमा महाभूकम्प आउँदा उनी राहत वितरणका लागि धेरै जिल्ला पुगेका थिए । दुई छोरीहरू न्युयोर्कमा, एक छोरी मलेसियामा र एक नाति क्यानडामा छन् । जेठा नाति र एक भाइ यहाँ उनीसँगै बस्छन् ।

उनलाई काठमाडौँ नै प्यारो लाग्छ । ‘कुनै समय थियो, जतिबेला हामी सरदारहरूले नेपालका विभिन्न ठाउँहरूलाई पनि काश्मीरी नाम दिने गरेका थियौँ । जस्तो वीरगन्जलाई जम्मु, काठमाडौँलाई श्रीनगर भन्थ्यौँ,’ हाँस्दै उनले भने, ‘म जन्मिएको पुन्च र यहाँको हावापानी उस्तै छ । त्यसैले मेरो दोस्रो घर यही हो ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अन्वेषण अधिकारी
अन्वेषण अधिकारी
लेखकबाट थप