शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

सप्तऋषिको पूजा आराधना गरी मनाइयो ऋषिपञ्चमी

शनिबार, २६ भदौ २०७८, १९ : ४२
शनिबार, २६ भदौ २०७८

भाद्र शुक्ल पञ्चमीका दिनमा मनाइने ऋषि पञ्चमी आज नेपाली नारीहरूले अरुन्धतीसहित सप्तऋषिको विधिपूर्वक पूजा आराधना गरी मनाएका छन् । महिलाले आज बिहानै उठेर नजिकको नदी, खोला, ताल, तलैया र पोखरीमा गई ३६५ वटा दतिवनले दाँत माझ्ने, गाईको गोबर, माटो र खरानी लगाई स्नान गर्ने गर्दछन् ।  वाग्मती, मनोहरालगायत नदी किनारको मुहान क्षेत्रमा स्नान गर्न सकिने गरी पानी स्वच्छ भएकाले प्रत्येक वर्ष ऋषि पञ्चमीका दिन अपामार्गसहित विधिपूर्वक स्नान गर्न धेरै महिला जाने गरेका छन् ।  

स्नान गरेपछि अरुन्धतीसहित अत्रि, गौतम, भरद्वाज, जमदग्नि, वशिष्ठ, कश्यप र विश्वामित्रको पूजा गरेका छन् । जसलाई ऋषि पञ्चमीको पूजा लगाउने भनिन्छ । सप्तऋषिको पूजा गर्ने पञ्चमी भएकैले आजको पञ्चमीलाई ऋषि पञ्चमी भनिएको हो । अन्जानमा भएका पापबाट मुक्त भइने धार्मिक विश्वास रही आएको धर्मशास्त्रविद् प्रा.डा रामचन्द्र गौतम बताउछन् ।

आज स्नान गरी पूजाआजा गरेपछि नरोपी उम्रेका अन्न सामा, कागुनो, कन्दमूल  र कर्कला आदि खाई एक छाक हविष्य बस्नुपर्ने व्रत विधि छ । प्रत्येक वर्ष ऋषि पञ्चमीका दिन काठमाडौँको टेकु, मूलपानीलगायत मुलुकभरका ऋषेश्वर मन्दिरमा पूजाआजाका लागि श्रद्धालु महिला भक्तजनको भीड लाग्ने गर्छ । ऋषिपञ्चमीसँगै चार दिन लामो तीज पर्व आजैदेखि समापन भएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप