शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

प्रहरीसमक्ष आरोपीको बयान, ‘त्यतिबेला देख्ने सबैलाई मार्थेँ’

काठको चिर्पट हानेर सबैको हत्या
आइतबार, २७ भदौ २०७८, १० : २३
आइतबार, २७ भदौ २०७८

भदौ २१ गते बिहान सङ्खुवासभाको मादी नगरपालिका १ उम्लिङमा एकै परिवारको ६ जनाको बीभत्स हत्या गर्ने आरोपीले उक्त दिन घटना देख्ने सबैलाई मार्ने योजना बनाएको प्रहरीसमक्ष बयान दिएका छन् । घटनाको अनुसन्धान गरिरहेका प्रहरी अधिकृतका अनुसार आरोपीले घटना देख्ने सबैलाई मार्ने योजना बनाएको कुरा प्रहरीसमक्ष बताएका हुन् । शुक्रबार रातीदेखि सूक्ष्म अनुसन्धान गर्दै सोधपुछ गरेपछि शनिवार बिहान आरोपीले घटनामा आफ्नो संलग्नता स्वीकार गर्दै आफ्नो टार्गेटमा तेजबहादुर मात्रै रहेको बताएका हुन् । 

भदौ २१ गते बिहानै सङ्खुवासभाको मादी नगरपालिका १ उम्लिङमा एकै परिवारको ६ जनाको बीभत्स हत्या भएको समाचार एकाएक बाहिरियो । मादी नगरपालिका १ उम्लिङको खोला गाउँमा ८५ वर्षीय बौद्धमान कार्कीकी श्रीमती ८४ वर्षीया पार्वती कार्की, ५२ वर्षीय छोरा तेजबहादुर कार्की, ५२ वर्षीया बुहारी कमला कार्की, तेजबहादुरकी ३२ वर्षीया बुहारी रञ्जना कार्की, तेजबहादुरकै ११ वर्षीय नाती दीपेन कार्की र नातिनी ७ वर्षीया गोमा कार्कीको सामूहिक हत्या भएको थियो ।

हत्याको भोलिपल्ट मात्रै अनुसन्धान अधिकारीहरू पुगेपछि शव उठाइएको थियो । अनुसन्धानका लागि आवश्यक प्रमाणहरू जुटाएपछि शव परीक्षणका लागि धरान पठाइएको थियो भने प्रदेश प्रहरी कार्यालय, जिल्ला प्रहरी कार्यालय र केन्द्रीय अनुसन्धान ब्युरोको अनुसन्धान टोलीले घटनाका सम्बन्धमा अनुसन्धान गर्दै खोजी गरेको थियो । 

सुरुमा ६ जनाको हत्या हुँदा घटना लुटपाट वा लेनदेनको उद्देश्यबाट भएको हुनसक्ने भन्दै अनुसन्धान त्यही तर्फ मोडिएको थियो । तर घटनापछि घरको खानतलासी गर्ने क्रममा लुटपाट भएको भेटिएन भने तेजबहादुरसँग लेनदेन रहेका व्यक्तिहरूको खोजी गरियो । तर, लेनदेनमा संलग्न व्यक्ति पनि घटनामा संलग्न हुने सम्भावना ज्यादै कम देखिएपछि प्रहरीले घटना रिसिइबी वा तत्कालीन आवेगमा केन्द्रित रहेको भन्दै त्यसैतर्फ अनुसन्धान केन्द्रित गर्‍यो । र, अन्ततः भदौ २६ गते शनिवार बिहानै अभियुक्त लोकबहादुर कार्कीले अपराध अपराध कबुल गरेका थिए ।

प्रहरीको अनुमान अनुसार नै हत्याको टाइमलाइन

घटनास्थलमा खटिएका प्रहरीले यसअघि रातोपाटीसँगको कुराकानीमा पहिलो हत्या तेजबहादुरको भएको र तेजबहादुरले गुहार मागेपछि अन्यले देखेर उनीहरूको पनि हत्या भएको हुनसक्ने बताएको थियो । सोही आधारमा रातोपाटीले हत्याको प्रकृति र टाइमलाइन भदौ २४ गते नै प्रकाशन गरिसकेको थियो । 

अनुसन्धानमा संलग्न प्रहरी अधिकृतका अनुसार प्रहरीले अनुमान गरेजस्तै घटनामा एकपछि अर्कोले देखेर सामूहिक हत्या भएको पाइएको छ । प्रहरीका अनुसार हत्याका अभियुक्त लोक बहादुर कार्कीले नातामा काका पर्ने तेजबहादुर कार्की घरबाट निस्किएको आफ्नो शौचालयमा देखेका थिए । आफूलाई सधैँ हेप्ने, सापटी लिएको रकमको ब्याज लिएको आदि कुराले लोकबहादुर काका तेजबहादुरप्रति रुष्ट थिए । हत्याको अघिल्लो रात पनि लोकबहादुरको मनमा अनेकौँ कुराहरू खेलेका थिए । जब बिहानै तेजबहादुर घरबाट निस्किन लागे लोकबहादुरले तेजबहादुरलाई आक्रमण गर्ने सोच बनाए । अनि घर नजिकै रहेको दाउराको चाङबाट एउटा चिर्पट निकाले, अनि तेजबहादुर अगाडि बढेपछि उनी खोल्सीमा पुगेर तेजबहादुरमाथि आक्रमण गरे । तेजबहादुरले ‘लोकेले मा–यो, गुहार ...’ भनेर चिच्याएपछि उक्त चिच्च्याहटका कारण तेजबहादुरकी श्रीमती कमला र बुहारी रञ्जना पनि घटनास्थलतर्फ आए । घटनामा संलग्न लोकबहादुर कमला र रञ्जनालाई देखेपछि पोल खुल्ने डरले पहिले कमलामाथि पनि त्यही चिर्पटले टाउकोमा प्रहार गरे ।

कमला पनि लडे लगत्तै तेजबहादुरकी बुहारी रञ्जना बेहोस भएर ढलिन् । तर लोकबहादुरले बेहोसी अवस्थामै रञ्जनामाथि पनि प्रहार गरे । तीन जनामाथि आक्रमण गरेको दुई बालबालिकाले पनि देखे । त्यसपछि उनीहरूलाई पनि आक्रमण गर्न जाँदा बालबालिकाहरू भागे । उनीहरूलाई लखेट्दै लखेट्दै टाउकोमै चिर्पट हानेर हत्या गरियो ।

घरमा बुढी हजुरआमा कान सुन्ने र आँखा देख्ने हुनुहुन्थ्यो । गुहारको चिच्च्याहट सुनेको र आफूलाई देखेको हुनसक्ने डर लोकबहादुरलाई भयो, त्यसपछि उनले गाई वस्तुलाई दिन कुँडो (खोले) पकाइरहेकी बुढी हजुरआमालाई पनि आक्रमण गरी हत्या गरे । वरिपरि नदेखेको र कान पनि नसुन्ने कारण वृद्ध हजुरबुवा बौद्धमानलाई भने उनले केही गरेनन् । हत्यामा प्रयोग भएको चिर्पट वारदातपछि उनले अगेनोमा जलाएको पनि बयान दिएका छन् ।

प्रहरीसमक्ष दिएको प्रारम्भिक बयानमा लोकबहादुरले उक्त दिन वरिपरि भएका सबैलाई मार्ने योजना बनाएको बताएका छन् । प्रहरीसमक्ष लोकबहादुरले भनेका छन्, ‘मेरो टार्गेट र रिस भनेको काका (तेजबहादुर) मात्रै हुन्, तर मैले हानेको देखेपछि सबैलाई हानेको हुँ । अरूले देखेको भए अरूलाई पनि हान्थे र मार्थेँ ।’

घटनाका सम्बन्धमा विस्तृत जानकारी दिनका लागि केही समयमा इलाका प्रहरी कार्यालय चैनपुर, सङ्खुवासभामा पत्रकार सम्मेलन गर्ने तयारी भइरहेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

मदन ढुङ्गाना
मदन ढुङ्गाना
लेखकबाट थप