बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

एक महिनाको अध्ययन, दुई हप्तामा फिल्म !

आइतबार, २७ भदौ २०७८, ११ : १७
आइतबार, २७ भदौ २०७८

एक महिना फिल्म पढेका व्यक्तिले दुई हप्तामा फिल्म बनाएर दिन्छन् भन्ने कुरो जो कोहीका लागि पनि पत्याउन गाह्रो पर्दछ । तर किपालय प्रडक्सन र  प्लान इन्टरनेसनलको ‘गल्र्स गेट इक्वेल’ अभियान अन्तर्गत रहेर फिल्म मेकिङ कार्यशालामा भाग लिएका १० किशोरीले एक महिना सिकेकै भरमा राम्रा फिल्म बनाएका छन् । शुक्रबार नेपाल चलचित्र विकास बोर्डको हलमा १० किशोरीले एक महिने फिल्म मेकिङ कार्यशाला अन्तर्गत बनाएका ५ फिल्मको प्रदर्शन भयो । जुन फिल्ममा अनुभवी फिल्म मेकिङको झलक देख्न सकिन्थ्यो । 

‘वुमन मेक फिल्मस्’ शीर्षकमा सञ्चालन तालिममा अस्कर इन्टरनेशनल कलेज र चलचित्र विकास बोर्डको समेत सहकार्य रहेको थियो । प्रदर्शित ५ फिल्मका लम्बाई औसतमा ५ मिनेटका रहेका थिए । नेपाली फिल्ममा महिलाको चरित्र चित्रण अस्वभाविक र यथास्थितिवादी टिप्पणी हुने गरेकोले त्यो चिर्न र फिल्म निर्माणमा महिलाको संख्या बढाउने उद्देश्यले कार्यशाला गरेको आयोजक किपालयले बताएको छ ।

किपालयकी प्रोजेक्ट हेड आश्मा पोखरेलले कार्यशालाका लागि देशभरबाट आवेदन मागिएको र यसरी आएका आवेदनबाट १० जनालाई छनोट गरी कार्यशालामा सहभागी गराइएको जानकारी गराइन् ।  सुरुमा कार्यशाला भौतिक रुपमै काठमाडौं र चित्लाङ गरी दुई ठाउँमा गर्ने योजना रहे पनि महामारीको दोस्रो लहर आएसँगै कार्यशालामा भर्चुअल रुपमा सम्पन्न हुने उनले सुनाइन् ।

कार्यशालाका प्रोजेक्ट कोअर्डिनेटर नव विजय श्रेष्ठले सैद्धान्तिक र प्रायोगिक दुवै विधिको प्रयोग गरी किशोरीलाई फिल्म मेकिङमा दीक्षित गर्ने प्रयास गरेको जनाए । त्यस्तै प्लान नेपालकी अभियान विशेषज्ञ सृजना बज्रचार्यले छोटो समयमै किशोरीहरूले उत्कृष्ट फिल्म बनाउन सफल भएकोमा खुशी व्यक्त गरिन् ।

एक महिने कार्यशाला साउन ३ देखि भदौ ३ सम्म चलेको थियो । कार्यशालामा आश्रुति त्रिपाठी, प्राधान्या योञ्जन, एन्जला चौधरी, पुष्पा जोशी, पूर्णिमा महर्जन, अम्बिका भण्डारी, अस्मितालावती, श्रीषा कुँवर, मीरा खड्का र ज्योति बेलबासे सहभागी भएका थिए । १० जनाले ५ समूहमा विभक्त भई बनाएका फिल्ममा उनीहरूले ५ फरक महिलाको जिन्दगीलाई उतारेका छन् । यसरी बनेका सबै फिल्म डकुमेन्ट्री हुन् । 

फिल्म निर्माण गर्नेमध्ये एक पुष्पा जोशीले कार्यशालाले आफूलाई फिल्म बनाउने कला मात्र नसिकाएर महिलाका मुद्दालाई लेन्सको आँखाले कसरी हेर्न सकिन्छ भन्ने पनि ज्ञान मिलेको बताइन् ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप