मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

रातोपाटी ब्रिफिङ : प्रतिनिधिसभामा एमालेको अवरोध कायमै, संखुवासभा हत्याकाण्डका मुख्य आरोपित सार्वजनिक

प्रतिनिधिसभाको अवरोधबारे प्रधानमन्त्रीको जवाफ- ओलीलाई सोध्नु
आइतबार, २७ भदौ २०७८, २० : २२
आइतबार, २७ भदौ २०७८

आज २०७८ भदौ २७ गते आइतबार । आज दिनभरका मुख्य–मुख्य घटनाक्रम रातोपाटी डट कमको नियमित प्रस्तुति ‘सन्ध्याकालीन ब्रिफिङ’मा प्रस्तुत गरेका छौं–
आजका मुख्य समाचारहरुमा प्रतिनिधिसभामा नेकपा एमालेको अवरोध कायमै, प्रतिनिधिसभाको अवरोधबारे प्रधानमन्त्रीको जवाफ–ओलीलाई सोध्नु, संखुवासभा हत्याकाण्डका मुख्य आरोपित सार्वजनिक, अस्पतालमा बम राखेर ३ करोड फिरौती माग्ने पक्राउ, नेकपा एकीकृत समाजवादीको बागमती प्रदेश संसदीय दलको नेतामा पाण्डे, पुस्तक विमोचन कार्यक्रममा कम्युनिस्ट आन्दोलनबारे चर्चा लगायत छन् । 

१. प्रतिनिधिसभामा एमालेको अवरोध कायमै
प्रतिनिधिसभामा प्रमुख प्रतिपक्ष नेकपा एमालेको अवरोध आइतबार पनि जारी रह्यो । नेकपा एमालेका सांसदहरुले प्रतिनिधिसभा बैठकमा नाराबाजी गरेका कारण आइतबार पनि बैठक सुचारु हुन सकेन । यसैबीच सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधिसभा बैठकमा प्रमुख प्रतिपक्ष दलको अवरोध अन्त्य गर्ने उद्देश्यले सर्वदलीय बैठक आह्वान गरेका छन् । सर्वदलीय बैठक सोमबार बस्ने जनाइएको छ ।

२. प्रतिनिधिसभाको अवरोधबारे प्रधानमन्त्रीको जवाफ– ओलीलाई सोध्नु
प्रतिनिधिसभाको बैठक एमालेले लगातार अवरोध गर्दै आएको सम्बन्धमा प्रधानमन्त्री शेरबहादुर देउवाले नेकपा एमाले नै जिम्मेवार रहेको प्रतिक्रिया दिएका छन् । आइतबार प्रतिनिधिसभा बैठक अवरुद्ध भएपछि संचारकर्मीले उनलाई अवरोध कहिले हट्छ भनेर सोधेका थिए । जवाफमा उनले ‘ओलीजीलाई सोध्नु’ भनेर पन्छिए । यसैबीच एमाले अध्यक्ष केपी शर्मा ओलीले आफ्ना सांसदलाई मर्यादित भएर प्रतिनिधिसभामा विरोध प्रदर्शन गर्न निर्देशन दिएका छन् । माइक भाँच्ने, सभामुखमाथि प्रहार गर्ने, मर्यादा पालकको घेरा तोड्नेजस्ता योजना आफूहरुको नरहेको र त्यस्ता गतिविधि नगर्न पनि उनले सांसदहरुलाई सचेत गराएका छन् ।

​३. संखुवासभा हत्याकाण्डका मुख्य आरोपित सार्वजनिक
प्रहरीले संखुवासभाको मादी नगरपालिका–१ स्थित उम्लिङमा एकै परिवारका ६ जनाको हत्यामा संलग्न आरोपितलाई आइतबार सार्वजनिक गरेको छ । प्रदेश १ प्रहरी कार्यालयका प्रमुख एवं डिआइजी अरुण बिसीले आइतबार संखुवासभाको चैनपुरमा पत्रकार सम्मेलन गर्दै सो घटनाका आरोपित लोकबहादुर कार्कीलाई सार्वजनिक गरेका हुन् । आरोपित कार्कीले चिर्पटले हानेर ६ जनाको हत्या गरेको र हत्यामा प्रयोग गरिएको चिर्पटलाई आफूले जलाएको बयान प्रहरीसमक्ष दिएका छन् ।

४. अस्पतालमा बम राखेर ३ करोड फिरौती माग्ने पक्राउ
काठमाडौंको पुरानो बानेश्वरस्थित मातृका आँखा अस्पतालमा बम राखेर फिरौती माग्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले उनीहरुमध्ये दुईलाई काठमाडौं र एक जनालाई धादिङबाट पक्राउ गरेको हो । 

 


५. नेकपा एकीकृत समाजवादीको बागमती प्रदेश संसदीय दलको नेतामा पाण्डे
नेकपा एकीकृत समाजवादी पार्टीको बागमती प्रदेश संसदीय दलको नेतामा राजेन्द्र पाण्डे चयन भएका छन् । निर्वाचन आयोगले सो पार्टीका सांसदहरुको सूची प्रदेशसभा सचिवालयलाई पठाएसँगै संसदीय दलको पहिलो बैठकले नेता चयन गरेको हो । संसदीय दलका नेता पाण्डेले अष्टलक्ष्मी शाक्य नेतृत्वको प्रदेश सरकारलाई समर्थन नगर्ने निर्णय गरेको जानकारी दिए । 

६. पुस्तक विमोचन कार्यक्रममा कम्युनिस्ट आन्दोलनबारे चर्चा
राजधानीमा आइतबार परशुराम तामाङद्वारा लिखित ‘नेपाली कम्युनिस्ट आन्दोलनको कार्यदिशा’ नामक पुस्तक विमोचन गरिएको छ । सो अवसरमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपाल लगायतले कम्युनिस्ट आन्दोलनबारे चर्चा गरे । प्रचण्डले अझै पनि कम्युनिस्ट आन्दोलनलाई उचाइमा लैजाने आधार रहेको तर्क गरे भने नेता नेपालले कम्युनिस्ट आन्दोलनमा देखा परेका विकृति र विसंगति चिर्नका लागि क्रान्तिकारी सर्वहारा संस्कृतिको विकास गर्नुपर्नेमा जोड दिए ।

७. मन्त्रिपरिषद विस्तारमा अझै जुटेन सहमति
सत्तारुढ गठबन्धनमा मन्त्रिपरिषद विस्तारबारे अझै सहमति जुट्न सकेको छैन । आइतबार बसेको गठबन्धन दलका नेताहरुको बैठकमा मन्त्रिपरिषद विस्तारबारे छलफल भए पनि सहमति जुट्न नसकेको हो ।

८. भीम रावलको हकमा ओली ‘जेठ २’ को अवस्थामा नफर्कने
१० बुँदे सहमतिका आधारमा नेकपा एमालेमै रहने निधो गरेका भीम रावलका हकमा एमाले ‘२०७५ जेठ २’को अवस्थामा नफर्कने भएको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीले रावललाई सुदूरपश्चिम प्रदेश इन्चार्जको भूमिका नदिने भएका हुन् । जेठ २ मा फर्कने निर्णय कार्यान्वयन हुँदा रावल सुदूरपश्चिम प्रदेशको पार्टी इन्चार्ज हुनुपर्ने भए पनि ओलीले रावललाई इन्चार्जको भूमिका दिन नसकिने भन्दै उपाध्यक्षका रुपमा मात्र सीमित गर्ने जवाफ दिएका छन् ।

९. प्रतिस्थापन विधेयकमार्फत के केमा बढ्यो कर ?
अर्थमन्त्री जनार्दन शर्माले पेस गरेको प्रतिस्थापन विधेयकमा उत्पादनमुलक र रोजगारी दिने उद्योगलाई प्राथमिकता दिँदै नयाँ व्यवस्था गरिएको छ । केपी शर्मा ओली नेतृत्वको सरकारले ल्याएको अध्यादेश बजेटलाई प्रतिस्थापन गर्न ल्याइएको विधेयकले स्वदेशी उद्योगलाई प्रोत्साहन गर्ने गरी करको दरमा नयाँ व्यवस्था गरेको छ । नयाँ व्यवस्थाअनुसार स्वदेशमै उत्पादन हुने गरेका वस्तु विदेशबाट आयात गर्दा बढी कर तिर्नुपर्ने भएको छ ।

१०. पछिल्लो २४ घण्टामा ९११ संक्रमित थपिए
नेपालमा पछिल्लो २४ घण्टामा कोरोनाभाइरसबाट ९११ जना संक्रमित भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सो अवधिमा कोरोना संक्रमणबाट १३ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा देशभर एक हजार ४२३ जना संक्रमणमुक्त भएका छन् ।

११. र यो पनि,
कोरोना महामारी सुरु भएदेखि बन्द रहँदै आएको स्विमिङ पुल बल्ल खुल्न थालेका छन् । करिब २ वर्ष बन्द रहेका स्विमिङ पुल खुल्न थालेसँगै पौडीका पारखीहरु स्विमिङ पुलमा गएर रम्न थालेका छन् ।

नेपाल र बंगलादेशको महिला फुटबल टोलीबीचको दोस्रो मैत्रिपूर्ण खेल बराबरीमा टुंगिएको छ । काठमाडौँस्थित दशरथ रंगशाला खेलिएको खेल गोलरहित बराबरीमा सकिएको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप