बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

के हो निपाह भाइरस ? कसरी बच्ने ?

​निपाह भाइरस सङ्क्रमणको उच्च जोखिममा नेपाल
सोमबार, २८ भदौ २०७८, ०९ : ५६
सोमबार, २८ भदौ २०७८

भारतमा निपाह भाइरसका बिरामी देखिन थालेपछि नेपालको स्वास्थ्य सेवा विभागअन्तर्गत इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले सजग रहन आग्रह गरेको छ । एनआईभी भनिने निपाह भाइरसको सङ्क्रमण भरतमा देखिएकाले नेपालमा पनि फैलिने सम्भावना रहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारी बताउँछन् । रोग नियन्त्रण महाशाखाले रोगको यकिन निदान नहुँदै वा तीव्र भाइरस सङ्क्रमणको अवस्था बिग्रँदै गएका र मृत्यु भएका बिरामीहरूको समयमै अनुसन्धान गरी न्यूनीकरण गर्न र तत्काल रिपोर्टिङ गर्न देशभरका अस्पताललाई निर्देशन दिएको छ ।

नेपाल–भारत खुला सीमा भएकाले यो भाइरस नेपालमा पनि फैलन सक्ने जोखिम बढेको स्वास्थ्य मन्त्रालयको भनाइ छ । २१ मे २०१८ मा दक्षिण भारतीय राज्य केरलामा निपाह भाइरसका कारण १२ जनाको मृत्यु भएको थियो ।

भारतकै केरला र उत्तर प्रदेशमा निपाह भाइरस सङ्क्रमितहरूको उपचारमा संलग्न नर्सको पनि मृत्यु भएको थियो । भारतमा निपाह भाइरसका बिरामी देखिन थोलेपछि नेपाली पनि सचेत हुनुपर्ने मन्त्रालयका सहप्रवक्ता डा. अधिकारी बताउँछन् ।

‘सरुवा रोग भारतमा देखियो भने नेपालमा पनि देखिने सम्भावना बढी हुन्छ,’ उनले भने, ‘कोरोना सङ्क्रमण भारतमा बढ्यो भने नेपालमा पनि बढ्छ, सङ्क्रमण त्यहाँ घट्यो भने यहाँ पनि घट्छ । त्यसैले सजग हुनुपर्छ ।’ 

विश्व स्वास्थ्य सङ्गठनले निपाह भाइरसलाई ठूलो महामारीका रूप लिन सक्ने दस घातक रोगमध्ये एउटा भनेको छ ।

भारतका विभिन्न ठाउँमा नेपाली कामदार कार्यरत छन् । चाडपर्व नजिकिँदै गर्दा भारतका विभिन्न भागबाट स्वदेश भित्रिने नेपाली बढेसँगै निपाह भाइरस पनि सर्ने जोखिम बढ्छ ।

निपाह भाइरस मान्छेबाट मान्छेमा एक त छँदैछ अर्कोतिर यो भाइरस पाइने चमेरा नेपालमा पनि पाइन्छ । यस्तै भारतबाटै सुँगुर, बङ्गुर यहाँ आयात गरिने हुँदा यो भाइरसको सङ्क्रमणको जोखिम धेरै छ ।

सरकारले निपाह भाइरस सङ्क्रमणको जोखिम बढ्न सक्ने भनेको छ तर  यस भाइरस बारेमा अध्ययन अनुसन्धान भने थालिएको छैन ।

यो कस्तो प्रकारको रोग हो ?

निपाह भाइरस पशुबाट मानिसमा सर्ने भाइरसजन्य रोग हो । यो गम्भीर प्रकृतिको सङ्क्रामक रोग हो । प्राकृतिक रूपमा फ्रुट ब्याट भन्ने प्रजातिको चमेरोमा यो भाइरस पाइन्छ ।

चमेरो, बङ्गुरबाट निपाह भाइरस मान्छेमा सर्छ । सरुवा रोग विशेषज्ञहरूका अनुसार चमेराले खाएका फलफूलमा –याल मिसिन्छ र त्यस्ता फलफूल मानिसले खाएपछि सर्ने जोखिम हुन्छ । फ्रुट ब्याट जातको चमेरोले खाएको जुठो फलफूलबाट सर्छ । निपाह भाइरस जनावरबाट जनावरमा, जनावरबाट मानिसमा र मानिसबाट मानिसमा पनि सर्छ । यस्तै सङ्क्रमित व्यक्तिको रगत, दिसा, पिसाबसँग प्रत्यक्ष सम्पर्कमा आएमा पनि सर्छ ।

निपाह भाइरसको सङ्क्रमण पहिलो पटक सन् १९९९ मा सिङ्गापुर र मलेसियामा पहिचान भएको थियो । त्यसपछि २१ मे २०१८ मा दक्षिण भारतीय राज्य केरलामा देखिएको थियो ।

त्यही फ्रुट ब्याट भाइरस पशुपन्छी तथा फलफूलको माध्यमबाट निपाह भाइरस सर्ने जोखिम हुने सरुवारोग विशेषज्ञहरूको भनाइ छ ।

लक्षण

मान्छेमा निपाह भाइरसको सङ्क्रमण भएमा यस्ता लक्षण देखिन्छन् । साता दस दिनपछि ज्वरो आउने, टाउको दुख्ने, रिँगटा लाग्ने, श्वासप्रश्वासमा समस्या, स्मरण शक्तिमा कमी र मस्तिष्क सुनिने जस्ता लक्षण देखापर्छन् ।

निपाह भाइरसबाट कसरी जागिने ?

निपाह भाइरसको सङ्क्रमणबाट बच्नका लागि विशेष सतर्कता अपनाउनुपर्ने हुन्छ । निपाह भाइरस भएका बिरामीको स्याहार सम्भार तथा हेरचाह गरेपछि राम्रोसँग साबुनपानीले हात सफा गर्नुपर्छ ।

–बङ्गुर तथा सुँगुरको नजिक जाँदा सचेत हुने ।

–चमेराले जुठो हालेका फलफूल खानु हुँदैन ।

–फलफूल राम्रोसँग पखालेर मात्रै खाने ।

–गाईवस्तुको गोठ र फार्म सफा राख्ने ।

–मासु काट्दा र पकाउँदा पञ्जा र मास्कको प्रयोग गर्ने ।

–सकेसम्म पानी उमालेर मात्रै पिउने ।

–बेलाबेलामा साबुन पानीले हात धुने ।

–भीडभाडमा जाँदा मास्क लगाउने ।

–निपा भाइरसको लक्षणको जस्तो देखिएमा सङ्क्रमण भएको हो कि होइन भनेर प्रयोगशालामा पीसीआर वा एलैजा विधिको प्रयोग गरेर रगत, पिसाब, नाक, कान र घाँटीको परीक्षण गराउने ।

यसको औषधि छ कि छैन ?

निपाह भाइरसबाट लाग्ने रोगको उपचार छैन । हालसम्म यो भाइरसको औषधिको विकास भएको छैन । विश्व स्वास्थ्य सङ्गठनका अनुसार यो भाइरस विरुद्धको औषधि पत्ता लागेको छैन । यस्तै निपाह भाइरसविरुद्धको खोप पनि विकास भएको छैन । यो रोग लागेपछि आईसीयूमा राखेर उपचार गर्नुपर्छ । विशेषज्ञका अनुसार यो रोगको लक्षण देखापरेको २४ देखि ४८ घण्टाभित्रै बिरामी कोमामा जान सक्छन् । यो भाइरसबाट रोग लागेका मध्ये ७० प्रतिशत मानिसको मृत्यु हुनेगरेको पाइन्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

माया श्रेष्ठ
माया श्रेष्ठ

श्रेष्ठ राताेपाटीका लागि समसामयिक विषयमा रिपाेर्टिङ गर्छिन् ।

लेखकबाट थप