शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

हिजो संसद् विघटन, आज अवरोध : संवादबाट भाग्दै एमाले ?

सोमबार, २८ भदौ २०७८, २० : १७
सोमबार, २८ भदौ २०७८

भनिन्छ, प्रमुख प्रतिपक्षी दल संसदीय प्रणालीको गहना हो । संसद्मा प्रतिपक्षको भूमिका मुख्य हुन्छ । सरकारलाई सचेत गराउनेदेखि संसद्मा जनताका जल्दाबल्दा सवाललाई प्राथमिकताका साथ उठाउने जिम्मेवारी प्रमुख प्रतिपक्षकै रहन्छ ।

हिजो केपी शर्मा ओली प्रधानमन्त्री रहेका बेला प्रमुख प्रतिपक्षमा रहेको नेपाली काँग्रेसले उचित भूमिका नखेलेको आरोप लागेको थियो । अहिले प्रमुख प्रतिपक्षमा रहेको नेकपा एमालेमाथि बेग्लै प्रश्न उठेको छ ।

भदौ २३ गते संसद्को नवौँ अधिवेशन सुरु भएदेखि नै प्रमुख प्रतिपक्षी नेकपा एमालेले संसद् बैठक अवरुद्ध पार्दै आएको छ । विरोधका क्रममा एमाले सांसद मर्यादा पालकको काँधमा चढ्नेसम्मको हर्कत भएको छ, जसलाई एमाले अध्यक्ष ओलीले समेत गलत कार्य भएको बताइसकेका छन् ।

जनताको सर्वोच्च जनप्रतिनिधिमूलक संस्था संसद् भन्ने बित्तिकै नेकपा एमालेले यो वा त्यो बहानामा कहिले संसद् भङ्ग गर्ने, संसद् छल्ने, बैठकहरू टार्ने र भाग्ने उपायमा लागेको देखिन्छ । प्रतिपक्षको भूमिकामा आइसकेपछि पनि एमालेको पछिल्लो गतिविधिले उसमाथि थप आशङ्का उब्जाएको सत्ता पक्षका नेताहरू बताउँछन् ।

जारी संसद्को अवरोध हटाउन सभामुख अग्नि सापकोटाले सोमबार बोलाएको सर्वदलीय बैठकमा प्रमुख प्रतिपक्ष दल नेकपा एमाले सहभागी नभएर सोही आशङ्कालाई थप मलजल गरेको सत्तापक्षको आरोप छ ।

बरु सरकारको नेतृत्वकर्ता नेपाली काँग्रेसका सभापति समेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डदेखि नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जसपा, लोसपा र राष्ट्रिय जनमोर्चाका नेताहरू सहभागी भए पनि एमालेले भने सोमबारका लागि सभामुखले बोलाएको सर्वदलीय बैठकलाई अस्वीकार गर्न पुग्यो ।  

गत भदौ २३ गते संसद्को नवौँ अधिवेशन सुरु भएदेखि आफैले संसद् बैठक अवरोध गर्दै आएको एमाले भने सहमति खोज्न संवादमा बोलाउँदा ‘सहभागी नै नहुने’ भनेर संवादलाई अस्वीकार गर्दै भाग्न खोजेको पुष्टि भएको छ । माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) पार्टीका नेताहरू सहभागी हुने बैठकमा आफू सहभागी हुन नसक्ने बताएको प्रमुख प्रतिपक्ष एमाले यो घट्नापछि सांसदप्रति कति उत्तरदायी हो ? भन्ने प्रश्न समेत उठ्न पुगेको छ ।

यसअघि सो पार्टीले सभामुख अग्नि सापकोटाले संसद् बैठक सञ्चालन गर्न आफूहरूसँग कुनै पनि संवादको पहल नगरेको, एकतर्फी पेलेर जान खोजेको भन्दै आरोप लगाउने गरेको थियो । तर, उसैको मागअनुसार संवाद र सहमतिका लागि बोलाउँदा भने अर्को बहाना बनाएर अनुपस्थित बन्न पुगेको हो । यसरी एकपछि अर्को बहाना बनाएर संवाद र सहमतिलाई अस्वीकार गरेको एमाले के चाहन्छ त ? सोमबारको सर्वदलीय बैठकमा सहभागी एक नेताको टिप्पणी छ, ‘हिजो विघटन, आज अवरोध ः संवादबाट भाग्दै एमाले । यसको केही उपचार नै छैन ।’

हुन पनि ती नेताले भनेजस्तै एमाले अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले दुई दुई पटक संविधानविपरित संसद् विघटन गरेका थिए । ओलीले गरेको उक्त विघटनलाई सर्वोच्च अदालतले असंवैधानिक भन्दै उल्टाइदिएको थियो । अदालतले आफ्नै निर्णय उल्ट्याएपछि एमालेले यसलाई पचाउने कुरै भएन । उसले सर्वोच्चको संसद् विघटन गर्ने निर्णय बदर भएपछि आफ्ना कयौँ निर्णय र दस्तावेजमा नै सर्वोच्चको निर्णय मान्नुपर्ने बाध्यता भएर मात्रै स्वीकार गर्नुपरेको उल्लेख गरेको छ ।

त्यसो त एमालेको उपस्थितिविनै सोमबार बसेको बैठकमा सहभागी अन्य दलका नेताहरूले एमालेसँग संवाद गरेर अर्को बैठक राख्न सभामुख अग्नि सापकोटालाई सुझाव दिएका छन् । उनीहरूले प्रतिपक्षले ‘इगो र हठ’ का कारण संसद्मा आफ्नो भूमिका निष्क्रिय बनाउन नहुने सुझाव समेत दिएका छन् ।

नेकपा एमालेले आफूले कारबाही गरेका माधव नेपालसहित १४ जना सांसदलाई सांसदकै मान्यता दिएर नयाँ पार्टी गठनमा भूमिका खेलेको सभामुख सापकोटामाथि आरोप लगाउँदै आएको छ । उसले कारबाही गरेका नेताहरूको सूचना टाँस नगरेर सभामुख सापकोटाले पक्षपातपूर्ण व्यवहार गरेको दाबी समेत गर्दै आएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप