बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

पशुपतिमा अख्तियार : सुनको जलहरीमा भ्रष्टाचार भएकै हो त ?

अख्तियार भन्छ– ११ किलो सुन घोटालाको उजुरीमा अनुसन्धान गर्दैछौँ’
मङ्गलबार, २९ भदौ २०७८, १३ : २२
मङ्गलबार, २९ भदौ २०७८

विगतमा राजाहरूले आफ्नो सम्बोधनको अन्त्यमा ‘पशुपतिनाथले हामी सबैको कल्याण गरुन्’ भन्थे । भ्रष्टाचारीको मुख नहेर्ने घोषणा गरेका पूर्ववर्ती कम्युनिस्ट प्रधानमन्त्री केपी शर्मा ओलीले त्यही पशुपतिनाथ मन्दिरमा पूजा गर्न जाँदा चाँदीको जलहरी हटाई सुनको जलहरी राख्ने निर्देशन दिए । तर, जलहरी सुनको बनाए पनि मन सफा नभएपछि यतिबेला पशुपतिनाथको मुटुमा रहेको जलहरीमा भ्रष्टाचारको गन्ध आएको छ ।  

हिन्दूहरुको पवित्र धार्मिकस्थल पशुपतिनाथमा अहिले अख्तियार पसेको छ । मन्दिरमा सुनको जलहरी बनाउँदा करिब ११ किलो सुन घोटाला भएको आशङ्कामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन थालेको हो ।

पुरानो चाँदीको जलहरी हटाएर तयार गरिएको सुनको नयाँ जलहरी २०७७ फागुन १२ मा राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गरेकी थिइन् ।

२०७७ माघमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले पशुपतिनाथको दर्शन गर्न जाँदा सुनको जलहरी राख्न निर्देशन दिएका थिए । त्यसपछि कोषले १०८ केजी सुनको जलहरी राख्ने प्रक्रिया अगाडि बढाएको थियो ।

जलहरी बनाउन पशुपति विकास कोषले राष्ट्र बैङ्कबाट १०३ किलो सुन किनेको थियो । २४ क्यारेटको सुन पगालेर २२ क्यारेटको बनाउन त्यसमा ३ प्रतिशत तामा र १ प्रतिशत चाँदी मिसाएको कोषको अभिलेखमा उल्लेख छ ।

त्यो सहित २२ क्यारेटको १०८ केजी सुनको जलहरी तयार पारियो तर, कोषको रेकर्डमा भने जलहरी बनाएको सुनको परिमाण ९६ केजी ८२२ ग्राम भएको मुचुल्का उठाइएको थियो । जलहरी बनाएर बाँकी रहेको ११ किलो सुन गोलमाल भएको भन्दै अख्तियारमा उजुरी परेको हो ।

२०७८ असार २२ मा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा दर्ता भएको उजुरीमा भनिएको छ, ‘जलहरी बनाउँदा ९७ किलो मात्र सुन खपत भएको निर्माण सम्पन्न मुचुल्कामा उल्लेख गरिएको छ । तर, भोलिपल्ट राष्ट्रपतिद्वारा गरिएको उद्घाटन कार्यक्रममा १०८ किलो सुन लागेको भनेर सार्वजनिक गरिएको थियो ।’

२०७७ फागुन ११ मा राति निर्माण सम्पन्न गरी मुचुल्का उठाएको र सार्वजनिक कार्यक्रममा दाबी गरिएको सुनको परिमाणमा फरक परेको उजुरीकर्ता जिकिर गरेका छन् । 

सुन घोटालाबारे अनुसन्धान भइरहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता (सहसचिव) नारायणप्रसाद रिसालले रातोपाटीलाई बताए । ‘पशुपतिनाथको विषय अनुसन्धानको क्रममा छ,’ उनले भने–‘जति परिणामको बन्ने भनियो, त्योअनुसार भएन भन्ने सम्बन्धमा आयोगले अनुसन्धान गरिरहेको अवस्था छ, त्यसबाहेक अनुसन्धानमा भएका कुराहरू सार्वजनिक गर्न मिलेन ।’

कोषका पदाधिकारीसँग बयान

जलहरी बनाउँदा भएको सुनको घोटालाको अनुसन्धान गर्ने जिम्मा प्रहरी उपरीक्षक (एसपी) वीरेन्द्र शाहीलाई दिइएको छ । शाहीले पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव मिलनकुमार थापासँग बयान लिएका छन् ।

अख्तियार स्रोतका अनुसार निवर्तमान सदस्यसचिव प्रदीप ढकाल लगायतका जलहरी निर्माणमा संलग्न कोषका अधिकारीसँग बयान लिइएको छ । ढकाल चार वर्षे कार्यकाल पूरा गरेर साउन ३१ मा कोषबाट बाहिरिएका थिए ।

जलहरी निर्माण गर्दा कोषाध्यक्ष रहेका मिलनकुमार थापालाई मन्त्रिपरिषद्ले गत भदौ १८ मा कोषको सदस्य–सचिव पदमा नियुक्त गरेको थियो । भदौ १२ मा उनले कोषाध्यक्षको कार्यकाल पूरा गरेका थिए । कोषाध्यक्षको कार्यकाल पूरा गरेको एक साता नबित्दै थापाले सदस्य–सचिवमा नियुक्ति पाएका हुन् ।   

सुनको जलहरी जोख्न अप्ठ्यारो

पशुपतिनाथ सांस्कृतिक महत्त्वको धार्मिक स्थल भएकाले यहाँ भ्रष्टाचार भएको घटनाले भक्तजनहरूमा नकारात्मक असर पर्न सक्ने र खासगरी भारतबाट आउने धार्मिक पर्यटकहरूलाई नकारात्मक प्रभाव पर्न सक्ने भन्दै अख्तियारका अधिकारीहरू यसमा सचेत रहेको स्रोतले बतायो ।

‘अरू ठाउँको भन्दा पशुपतिनाथको भ्रष्टाचारबारे छानबिन गर्न जटिल छ,’ अख्तियारका एक उच्च अधिकारीले भने, मन्दिरमा राखिएको जलहरी झिकेर जोख्न पनि विचार पुर्‍याउनुपर्ने हुन्छ, त्यसैले हामी यथेष्ट प्रमाणहरूको खोजीमा लागेका छौँ ।’

भोलि त्यहाँ भ्रष्टाचार भएको पुष्टि हुन सकेन भने ‘अख्तियार केही काम नपाएर पशुपतिमा पस्यो’ भन्ने आरोप लाग्न सक्ने भएकाले सतर्कतापूर्वक अनुसन्धान अगाडि बढाइएको अख्तियार स्रोतले रातोपाटीलाई बतायो ।   

भ्रष्टाचार नभएको कोषको दाबी

यसैबीच, पशुपति क्षेत्र विकास कोषले भने पशुपतिनाथ मन्दिरमा सुनको जलहरी राख्दा अनियमितता नभएको दाबी गरेको छ । कोषले  विज्ञप्ति जारी गर्दै जलहरी लगायत विविध विषयमा आएको समाचार भ्रमपूर्ण भएको भन्दै कोषको ध्यानाकर्षण भएको जनाएको हो ।

विज्ञप्तिमा कोषले जलहरी कोषका पदाधिकारी, मूलभट्ट, नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको विशेष निगरानीमा सीसी क्यामेराको समेत प्रयोग गरी निर्माण र स्थापना भएको स्पष्ट पारेको छ । नेपाल सरकार र कोषको लगानीमा स्थापना गरिएको जलहरी निर्माण र स्थापनामा कुनै निजी स्वार्थ र कुण्ठा पूरा नभएकै कारण आरोप–प्रत्यारोप र प्रचारबाजी भएको कोषले आरोप लगाएको छ ।

हेर्नुहोस् कोषको विज्ञप्ति

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजेश भण्डारी
राजेश भण्डारी

भण्डारी रातोपाटीका लागि सुरक्षा/अपराध बिटमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप