शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

म्याद गुज्रिएको चिया बरामद प्रकरण : गुण नियन्त्रण विभागमै युनिलिभर हाबी !

महानिर्देशक भन्छन् : ‘हेटौंडाकै कर्मचारीलाई सोध्नुस्’
मङ्गलबार, २९ भदौ २०७८, १५ : ४५
मङ्गलबार, २९ भदौ २०७८

म्याद गुज्रिएको चियापत्ती फेला परेको प्रकरणमा उन्मुक्ति पाउन बहुराष्ट्रिय कम्पनी युनिलिभरले चलखेल गरेको पाइएको छ । गत भदौ १५ गते जिल्ला प्रशासन कार्यालय मकवानपुर नेतृत्वको अनुगमन टोलीले युनिलिभरको सो केन्द्रबाट म्याद गुज्रिएको ३२ टन सीटीसी र बोरामा कोचेर राखिएको अन्य चियापत्ती बरामद गरेको थियो ।

बरामद चियापत्ती नष्ट गर्नुको साटो परीक्षण गर्न भन्दै खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय हेटौंडाका अधिकारीहरूले काठमाडौँस्थित विभागमा पठाएका थिए । युनिलिभरले विभागका अधिकारीहरूलाई प्रलोभन दिएर सामान छुटाउन, सजायबाट बच्न र प्रशोधन केन्द्रमा लागेको शिल खुलाउन प्रयास गरिरहेको हो ।

‘यहाँ युनिलिभरका कर्मचारीहरूको दौडधुप बढेको छ, यसअघि यस्तो देखिएको थिएन,’ काठमाडौं बबरमहलस्थित खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका एक अधिकारीले भने, ‘हेटौंडादेखि नै युनिलिभरले सेटिङ मिलाएको छ । हेटौंडाका कर्मचारीले जे भन्छन्–यताकाले पनि त्यही जवाफ दिइरहेका छन्, यताकाले जे भन्छन्–उताबाट पनि त्यस्तै जवाफ आउने गरेको छ, महानिर्देशकसँग कुरा गर्नुहोला, उहाँले त्यही जवाफ दिनुहुन्छ ।’

रातोपाटीका मकवानपुर संवाददाता हेटौंडास्थित खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयका अधिकारीहरूले अनुसन्धान प्रकृया जारी नै रहेको र ‘अहिले नै यसै भन्न नसकिने’ बताएका छन् । चियाको नमूना संकलन गरी सुक्ष्म तरिकाले अनुसन्धान गरिरहेको र केही स्याम्पलहरु विभागमा पठाइएको र प्रतिवेदन प्राप्त नभएसम्म कुनै प्रतिक्रिया नदिने कार्यालयका प्रमुख सोमकान्त रिजालले बताएका छन् ।

यता, काठमाडौंस्थित विभागका महानिर्देशक उपेन्द्र रायले पनि युनिलिभर प्रकरणमा उस्तै जवाफ दिए । ‘रक्तसमूह पहिचान गर्न पनि कयौँ दिन लाग्छ, त्यसैले युनिलिभरको चिया कस्तो हो भन्ने थाहा पाउन पनि समय लाग्छ,’ रायले भने, ‘भएको जनशक्ति र प्रविधिअनुसार हामीले काम गरिरहेका छौँ, सामान नष्ट नगरी किन काठमाडौँ पठाइयो भन्नेबारे हेटौंडाकै कर्मचारीलाई सोध्नुस्, परीक्षण कहिले सकिन्छ भन्नेबारे पनि म मिति तोक्न सक्दिनँ । काम भइरहेको छ, यसबारे थप बोल्न चाहन्नँ ।’

यसरी बरामद भएको थियो चिया

भदौ १५ गते स्थानीय प्रशासनले युनिलिभरको चिया प्रशोधन केन्द्रमा छापा हानेको थियो । छापा हान्दा सो केन्द्रमा म्याद गुज्रेको ३२ टनभन्दा बढी चियापत्ती भेटिएको थियो । सो चियापत्तीलाई युनिलिभरले ‘रेड लेबल’ नाममा प्याकेजिङ गरी बेच्न लागेको थियो ।

प्रशासनले युनिलिभरको केन्द्र शील गरेपनि बरामद भएको चिया नष्ट गर्नुको साटो खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय हेटौंडाका अधिकारीहरूले परीक्षण गर्न भन्दै काठमाडौँ पठाएका थिए । म्याद नाघेका खाद्यवस्तु नियम र अभ्यासअनुसार तत्कालै नष्ट गर्ने गरिएको छ । तर, युनिलिभरको हकमा भने यसो गरिएन ।

हेटौंडाको बसामाडीमा रहेको युनिलिभर नेपाल लिमिटेडले आम उपभोक्तालाई ठगी गर्नेगरी म्याद नाघेको चियापत्ति प्रशोधन गरी ‘रेड लेबल’ ब्राण्ड बनाउने गरेको थियो । यसो गर्न युनिलिभरले ३२ टन म्याद गुज्रिएको सिटिसी नाम उल्लेख भएको चियापत्ती भण्डार गरेर राखेको थियो । अनुगमन टोलीका अनुसार सन् २०१९ मा उत्पादित चियापत्तीको उपभोग्य म्याद सन् २०२० को जुन महिनासम्म थियो ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप