शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

तालिबानविरुद्ध अफगानी महिलाले चलाए #DoNotTouchMyClothes अभियान

मङ्गलबार, २९ भदौ २०७८, १७ : २४
मङ्गलबार, २९ भदौ २०७८

 

महिला विद्यार्थीका लागि तालिबानको नयाँ र कडा ड्रेस कोडविरुद्ध अफगान महिलाले एक अनलाइन अभियान सुरु गरेका छन् । उनीहरु यो अभियानका लागि #DoNotTouchMyClothes​ र #AfghanistanCulture जस्ता ह्यासट्याग चलाइरहेका छन् ।

अफगान महिला सोसल मिडियामा रङ्गीन र पारम्परिक पहिरनमा आफ्नो तस्बिर सेयर गरिरहेका छन् । बीबीसीले यस्तै केही महिलासँग कुरा गर्र्दै उनीहरुको मुद्दाबारे बुझ्ने कोसिस गरेको छ ।

तपाईं गुगलमा  ‘अफगानिस्तानको पारम्परिक पहिरन’ टाइप गर्नुहोस् र तपाईंले रङले भरिएको उनीहरुको सांस्कृतिक पहिरनलाई देखेर दङ्ग पर्नुहुन्छ । उनीहरुको सबै पहिरन तपाईंलाई विशेष लाग्नेछ ।

हेभी डिजाइन, छाती नजिकै टाँसिएका स–साना सीसा जसमा तपाईंले आफ्नो छाया देख्नुहुन्छ, लामो घाँघर जुन अफगानिस्तानको राष्ट्रिय नृत्य अट्टनका लागि फिट देखिन्छन् ।

केही महिलाले टोपी पनि लगाउँछन् । केहीका स्कार्फमा हेभी वर्क गरिएको हुन्छ तर अफगानिस्तानको कुन इलाकासँग ती महिला सम्बन्धित छन्, यसमा पनि उनीहरुको पोशास कस्तो हुन्छ भन्ने कुरा निर्धारण हुन्छ ।

 पछिल्लो २० वर्षदेखि अफगान महिला आफ्नो दैनिक दिनचर्या, चाहे त्यो कामकाजको स्थल होस् वा कलेज, युनिभर्सिटीमा, यस्तै पहिरनमा देखिन्छन् ।

सोसल मिडियामा अभियानः

तर यसैबीच एक अचम्मको कुरा पनि सार्वजनिक भएको छ । पूरा शरीर ढाक्ने कालो रङको हिजाब लगाएका महिलाले अघिल्लो हप्ता तालिबानको समर्थनमा काबुलमा एउटा र्याली निकाले ।

काबुलमा यो र्यालीमा भाग लिने एक महिलाले आधुनिक कपडा लगाउने र मेकअप गर्ने अफगान महिलाले देशको मुस्लिम महिलाको प्रतिनिधित्व नगर्ने बताएकी छिन् ।

क्यामराको अगाडि उनले भनिरहेकी थिइन्, ‘हामी महिलाका लागि यस्तो अधिकार चाहँदैनौं जो विदेशी छन् र शरिया कानूनसँग मेल खाँदैनन् । ’

तर संसारभरीका अफगान महिलाले तालिबानलाई आफ्नो जवाफ दिनका लागि सोसल मिडियाको सहारा लिएका छन् ।

अफगानिस्तानमा एक अमेरिकी युनिभर्सिटीमा इतिहासकी प्राध्यापक डाक्टर बहार जलालीद्वारा सुरु गरिएको सोसल मिडिया अभियानमा अन्य अफगान महिलाले आफ्नो पारम्परिक पहिरनलाई सार्वजनिक गर्दै #DoNotTouchMyClothes र #AfghanistanCulture जस्ता ह्यासट्याग प्रयोग गरेका छन् ।

बहार जलालीका अनुसार उनले यो अभियान अफगानिस्तानको पहिचान र यसको सम्प्रभुतामाथि हमला भएका कारण सुरु गरेको बताइन् ।

हरियो रङको अफगान पहिरनमा उनले आफ्नो तस्बिर सेयर गर्दै अन्य अफगानी महिलालाई भनिन्, ‘अफगानिस्तानको वास्तविक अनुहार देखाउन’ अपिल गरेकी छिन् ।

उनले भनिन्, ‘म संसारलाई यो भन्न चाहन्थेँ कि मिडियामा तालिबान समर्थक र्यालीका बेला जुन तस्बिर तपाईंहरुले देख्नुभयो त्यो हाम्रो संस्कृति होइन । त्यो हाम्रो पहिचान होइन ।’

पहिचानका लागि अभियानः

यो तालिबान समर्थक र्यालीमा महिलाले जस्तो कपडा लगाएका थिए, त्यो देखेर धेरै मानिस चकित भए ।

पारम्परिक रुपमा रङ्गीन कपडा लगाउने अफगानका लागि पूरा शरीर ढाक्ने कपडा एक विदेशी अवधारणाजस्तै थियो ।

अफगानिस्तानका हरेक इलाकामा आफ्नो पारम्परिक पहिरन छ । यति विविधता हुँदा हुँदै पनि यसमा धेरै कुरा मेल खान्छन् जस्तै रङ्ग, सिसा र एम्ब्रोइडरी असाध्यै प्रयोग गरिन्छन् । यी सबै महिला उनीहरुको कपडा नै उनीहरुको पहिचान भएको कुरामा विश्वास राख्छन् ।

भर्जिनियामा एक मानवाधिकार कार्यकर्ता स्पोजमे मसिदले ट्वीटरमा लेखे, ‘यो हाम्रो वास्तविक अफगान पहिरन हो । अफगान महिला यति रङ्गीन कपडा लगाउँछन् । कालो रङको बुर्का कहिले पनि अफगानिस्तानको पारम्परिक पहिरन होइन ।’

मसिद भन्छिन्, ‘हामी शताब्दियौं देखि एक इस्लामिक मुलुक हौं र हाम्रा हजुरआमा, जिजुमुवाले आफ्नो पारम्परिक पहिरन लगाउँदै आएका छन् । उनीहरुले अरबका काला बुर्का लगाउँदैनथे ।’

‘हाम्रो पारम्परिक पहिरनले पाँच हजार वर्षको हाम्रो समृद्ध संस्कृति र इतिहासको प्रतिनिधित्व गर्छ । हरेक अफगानलाई यसमाथि गर्व हुन्छ ।’

‘चरमपन्थी गुटले हाम्रो पहिचान निश्चित गर्न सक्दैन’

यहाँसम्म कि अफगानिस्तानको रुढिवादी इलाकामा बस्ने मानिसहरुले पनि उनीहरुले कहिले पनि महिलाले कालो रङको नकाब लगाएको कहिल्यै नदेखेको बताउने गर्छन् ।

३७ वर्षकी अफगान अनुुसन्धाता लीमा हलिमा अहमद भन्छिन्, ‘मैले आफ्नो तस्बिर यसकारण पोस्ट गरेँ किनभने हामी अफगान महिला हौं । हामीलाई हाम्रो संस्कृतिमा गर्व छ र हामीलाई के लाग्छ भने कुनै चरमपन्थी गुटले हाम्रो पहिचान निश्चित गर्न सक्दैन । हाम्रो संस्कृति रङ्गले भरिएको छ । यसमा सुन्दरता छ । यसमा कला छ र यसैमा पहिचान छ ।’

अफगानिस्तानमा पछिल्लो २० वर्षदेखि काम गरिरहेकी लीमा हलिमा अहमद भन्छिन्, ‘महिलासँग एउटा विकल्प थियो । मेरी आमा लामो र निकै ठूलो नकाब लगाउने गर्नुहुन्थ्यो र केही महिलाले त्योभन्दा सानो नकाब लगाउने गर्दथे । महिलामा कुनै ड्रेस कोड लादिएको थिएन ।’

काबुलमा भएको तालिबान समर्थक र्यालीबारे कुरा गर्दै हलिमा भन्छिन्, ‘हामी अफगान महिला हौं र हाम्रा महिलाले पूर्ण रुपमा शरीर ढाक्ने कपडा लगाएको हामीले कहिल्यै देखेका छैनौं । प्रदर्शनमा आएका महिलाले जुन प्रकारको कालो बुर्का लगाएका छन्, त्यो हेर्दा यस्तो लागिरहेको थियो कि र्यालीका लागि विशेष रुपमा यसलाई सिलाइएको छ ।’

बीबीसी

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप