शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

मदरसाबाट एसईई उत्तीर्ण गरेका विद्यार्थीलाई सम्मान

मङ्गलबार, २९ भदौ २०७८, २० : ५६
मङ्गलबार, २९ भदौ २०७८

परासी । मुस्लिम समुदायको धार्मिक विद्यालय ‘मदरसा’बाट पहिलो पटक एसईई उत्तीर्ण गरेका विद्यार्थीहरु सम्मानित भएका छन् । नेपालमै पहिलो पटक कक्षा १० सम्मको अनुमति प्राप्त गरेको नवलपरासीको प्रतापपुर गाउँपालिका–६ को मदरसा मदिनतुल ओलुमबाट यस वर्ष ११ जना छात्राले एसईई उत्तीर्ण गरे । उनीहरुलाई शैक्षिक प्रमाणपत्रका साथै शैक्षिक सामग्री प्रदान गर्दै सम्मान गरिएको छ ।

मदरसा व्यवस्थापन समितिका अध्यक्ष साकिर अन्सारीको अध्यक्षतामा आयोजित कार्यक्रममा पूर्वमन्त्री तथा प्रतिनिधिसभा सदस्य हृदयेश त्रिपाठीले कक्षा १० पास गरेका ती ११ जना छात्रालाई शैक्षिक प्रमाणपत्र वितरण गर्दै बधाई ज्ञापन गरे ।

मदरसाबाट कक्षा ८ पछि माध्यमिक तथा उच्च शिक्षा हासिल गर्न बाध्य भएर भारत जानुपर्ने अवस्था अब अन्त्य भएको भन्दै मदरसाका प्रधानाध्यापक आमिरआजम अन्सारीले मुस्लिम समुदायका छात्रछात्रालाई सहज तुल्याएको टिप्पणी गरे ।

यस मदरसाबाट धार्मिक तथा भाषिक शिक्षातर्फ कुरान, उर्दु, अरबी, दिनियातसहित अंग्रेजी, विज्ञान, गणित र सामाजिक विषयको पठन पाठन गराउँदै आएको अन्सारीले बताए ।

हाल सो मदरसामै ११ कक्षाको पनि पढाइ भइरहेको छ । कक्षा १२ सम्मको अनुमति पाएको सो मदरसाले मुस्लिम समुदायका बालबालिकालाई उच्च माध्यमिक तहसम्म अध्ययनका लागि सहजता थपेको हो ।

मदरसालाई उर्दु अरबी भाषा, ईस्लाम धर्म र यसका कानुनी प्रावधान तथा संस्कारका विषयमा अध्ययन गराउने शिक्षालयका रुपमा लिइन्छ । राज्यले यस्ता धार्मिक विद्यालयहरुलाई पनि मुलधारमा ल्याई व्यस्थित गर्दै उर्दु अरबी भाषा र धार्मिक ज्ञानसँगै जीवनोपयोगी शिक्षा, अंग्रेजी, विज्ञान, गणित, सामाजिक र नेपालीजस्ता विषयहरु थपेको छ । धार्मिक र व्यावहारिक शिक्षालाई सँगै लैजाने उद्देश्यले राज्यले नेपालका मदरसाहरुलाई पनि क्रमशः कक्षागत अनुमति दिँदै अध्यापन गराउँदै आएको छ ।

विगतमा मदरसामा अध्ययनरत विद्यार्थीहरु माध्यमिक र उच्च माध्यमिक तथा उच्च शिक्षाका लागि उर्दु अरबी भाषा छाडेर देशकै सामुदायिक तथा निजी विद्यालयमा परम्परागत पाठ्यक्रम बढ्नुपर्ने वा छिमेकी मुलुक भारतमा गएर पढ्नुपर्ने बाध्यता थियो । पश्चिम नवलपरासीमा भने अब उच्च माध्यमिक तहसम्म मुस्लिम विद्यार्थीले मदरसामै पढ्न पाउने भएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप