शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

अब अरूलाई होइन, आफैलाई गाली गरौँ : प्रचण्ड

बुधबार, ३० भदौ २०७८, २० : ००
बुधबार, ३० भदौ २०७८

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीका नेता कार्यकर्ताहरूले अब आफैले आफैलाई गाली गर्नुपर्ने बताएका छन् । बुधबार स्व. नेता पोष्टबहादुर बोगटी ‘दिवाकर’को सातौँ स्मृति दिवसका अवसरमा पार्टी कार्यालय पेरिसडाँडामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै पार्टी पुनःनिर्माणको महान् अभियानमा लागेकाले अब अरूलाई गाली गर्न छाडेर आफैलाई गाली गर्नुपर्ने अवस्था आएको बताएका हुन् ।

‘हामी पार्टी पुनःनिर्माणको महान् अभियानतिर जान खोजेका छौ । विगत ८–१० वर्ष अरूलाई गाली गरेर बितायौँ । अब आफैलाई गाली गरौँ, म सच्चिनुपर्छ भन्तेतिर लागियो भने पार्टी बदलिन्छ’ प्रचण्डले त्यसो गर्न सके आगामी निर्वाचनमा एक नम्बरको पार्टी बनाउन सकिने धारणा राखे ।

‘आउने निर्वाचनमा हेर्नुहोला, केन्द्रीय समितिबाट हामीले जुन सङ्कल्प गरेका छौ, विचार, सिद्धान्त र संगठन बनाउने त्यो अनुसार हिँडियो भने फेरि एक नम्बरको पार्टी बन्नबाट कसैले रोक्न सक्दैन र हामीले देशको नेतृत्व गर्ने स्थिति बन्छ’ प्रचण्डको भनाइ छ ।  उनले विगत १५ वर्षमा पार्टीबाट सय जना मन्त्री बनेको र त्यसतिर बढी ध्यान गएको भन्दै अब पार्टी निर्माणमा ध्यान केन्द्रित गर्ने बेला भएको बताए । 

प्रचण्डले संविधान संशोधनका लागि सडक संघर्षमा जानुपर्ने अवस्था आउन सक्ने बताए । उनले पार्टीले हालसम्म हासिल गरेको उपलब्धि युद्ध वा सडक संघर्षकै प्रतिफल भएको उल्लेख गर्दै संविधान संशोधनका लागि पनि सडक संघर्षमा जानुपर्ने अवस्था आउनेतर्फ चिन्तन मनन गर्न पनि पार्टीका नेता, कार्यकर्तालाई आह्वान गरे ।

उनले विकृत बुर्जुवा प्रणाली बदल्नका निम्ति पनि संविधान संशोधनका लागि सडक संघर्षमा जानुपर्ने अवस्था आउन सक्ने तर्क समेत गरे। अध्यक्ष दाहालले संविधान संशोधनका लागि सकेसम्म राजनीतिक दलहरुबीचको संवाद, सहमति र समझदारी नै जोड दिने पनि स्पष्ट पारे ।

निर्वाचन प्रणाली, शासकीय स्वरूप र संघीयताका विषयमा संशोधन गरेर जाने बाटो संविधानले खुला गरेकाले आफूहरूले संविधान जारी गरेदेखि नै संविधान संशोधनको विषयलाई बढी जोड दिएर उठान गर्ने गरेको पनि स्मरण गराए । अध्यक्ष दाहालले आफू २ पटक प्रधानमन्त्री हुँदा संविधान संशोधनका लागि संसद्मा प्रस्ताव नै लगेको पनि बताए । तर प्रतिगामी र दक्षिणपन्थी शक्तिहरूको सो प्रस्ताव संसद्मा छलफल गर्न समेत नदिएको अध्यक्ष प्रचण्डको गुनासो छ । उनले भने, ‘जरुरी प–यो भने हामी सडकमा जानुपर्ने हुन पनि सक्छ । यो विकृत बुर्जुवा प्रणालीलाई बदल्नका निम्ति हामी सडकमा जानुपर्ने हुन सक्छ । तर पनि हाम्रो कोसिस सकेसम्म राजनीतिक दलहरुबीच संवाद, सहमति र समझदारीबाटै संविधान संशोधन गर्दै जानेमै हाम्रो जोड छ । जरुरी प–यो भने हामी फेरी एकचोटी किनभने हामीले जति पनि सफलता प्राप्त गरेका छौँ–सडकबाटै प्राप्त गरेका छौँ । हिजो युद्ध भनेको पनि सडक संघर्ष नै हो । अहिले प्रतिगामी विरोधी आन्दोलन पनि सडकबाटै प्राप्त गरेको सफलता हो भने भोलि संविधान संशोधनका लागि पनि जरुरी प–यो भने हामी सडकमा जान्छौँ । यो कुरा सबै कमरेडहरूलाई विचार गरी राख्न, चिन्तन गरी राख्न अपिल गर्दछु ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप