शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

प्रदेश १ : काँग्रेसको वडा नेतृत्वमा महिला र दलितको उपस्थिति न्यून

बुधबार, ३० भदौ २०७८, ११ : ४७
बुधबार, ३० भदौ २०७८

प्रदेश १ मा महिला र दलित नेतृत्व स्थापित गर्ने सवालमा नेपाली काँग्रेस कमजोर देखिएको छ । राजनीतिक दलहरू समावेशी बन्नुपर्ने आवाज बुलन्द भइरहेका बेला १४ औं महाधिवेशनको मुखैमा प्रदेश १ का १३ जिल्लामा भर्खरै सम्पन्न काँग्रेसको वडा अधिवेशन र तिनले चयन गरेका नेतृत्वमा प्रदेशभरि जम्मा चार जनामात्रै महिला चुनिएका छन् ।

यस्तै, दलित समुदायबाट प्रदेश १ मा दुई जना वडा सभापति चयन भएका छन् । त्यसमा पनि तराईका जिल्लामा महिला र दलितको उपस्थिति एकदमै कमजोर देखिएको छ ।

प्रदेश १ का १३ जिल्लाका ९९८ वटा वडामा छानिएका काँग्रेस सभापतिमध्ये भोजपुरमा दुई जना, उदयपुर र ओखलढुंगामा एक÷एक जना महिला सभापतिमा चयन भएका छन् । झापा र सोलुखुम्बुमा एक÷एक जना दलितले वडाको नेतृत्व गर्ने अवसर पाएका छन् ।

प्रदेश १ का १४ जिल्लामा एक हजार १५७ वटा वडा छन् । मोरङबाहेक १३ जिल्लामा पार्टीको वडा अधिवेशनले सभापतिसहितको समिति चयन गरिसकेको छ । मोरङका १ सय ३७ वटा वडामा अधिवेशन हुन बाँकी छ ।

झापामा १३१ वटा वडा रहेकामा सबै वडामा सभापतिसहित नेतृत्व चयन भइसकेको छ । काँग्रेसका प्रभावशाली नेताद्वय कृष्णप्रसाद सिटौला र विश्वप्रकाश शर्माको गृहजिल्ला झापामा सम्पन्न वडा अधिवेशनमा एक जना दलित वडा सभापतिमा चुनिएका छन् । अर्जुनधारा नगरको ४ नम्बर वडामा ध्रुव खाती सभापतिमा चुनिएका हुन् ।

१२४ वटा वडा भएको सुनसरीको हालत पनि यस्तै छ । सुनसरीमा कुनै पनि वडामा महिलाले सभापति पदमा अवसर पाएनन् । ज्ञानेन्द्रबहादुर कार्की, राजीव कोइराला, विजयकुमार गच्छदार लगायतका प्रभावशाली नेताहरू भएको जिल्लामा महिलाले कुनै पनि वडामा सभापतिको अवसर नपाएको जिल्ला सचिव केदार भण्डारीले बताए । सुनसरीमा सम्पन्न वडामा अधिवेशनमा दलित समुदाय वडा सभापतिमा चुनिन सकेनन् ।

प्रदेशका १४ जिल्लामध्ये महिलाले जिल्लाको नेतृत्व गरेको ताप्लेजुङमा पनि वडा अधिवेशनले महिलालाई नेतृत्वमा स्थापित गर्न सकेन । पाँच हजार पाँच सय क्रियाशील सदस्य रहेको ताप्लेजुङमा २० प्रतिशत सदस्य महिला छन् । तीमध्ये कोही पनि वडाको नेतृत्वमा आउन नसकेको जिल्ला सभापति लीलादेवी बोखिमले बताइन् । उनले ६१ वटा वडामध्ये सबैमा पुरुष र गैरदलित मात्रै चुनिएको बताइन् ।

६० वटा वडा भएको पाँचथरको अवस्था पनि उस्तै छ । पाँचथरमा वडा सभापतिमा उपल्ला जातका क्षेत्री, बाहुनका अतिरिक्त जनजातिबाट राई, लिम्बुमात्र चयन भएका छन् भने लैंगिक हिसाबले महिलाको प्रतिनिधित्व शून्य छ ।

८१ वटा वडा रहेको इलाममा वडा सभापतिमा चुनिने महिला र दलितको संख्या शून्य छ । ७६ वटा वडा रहेको संखुवासभामा पनि दलित र महिलाले कुनै पनि वडामा नेतृत्व गर्ने अवसर पाएनन् ।

यता, भोजपुरमा दुई जना महिलाले वडा सभापतिको जिम्मेवारी पाएका छन् । षडानन्द नगरपालिका वडा नम्बर ६ बाट निर्मला लम्साल र र ११ मा अनिता राई सभापतिमा निर्विरोध चयन भएका हुन् । भोजपुरमा जम्मा ८१ वडा छन् ।

६० वटा वडा रहेको धनकुटामा महिला र दलित नेतृत्व शून्य छ भने ४३ वटा वडा भएको तेह्रथुममा पनि उस्तै अवस्था छ । ५२ वडा भएको सोलुखुम्बुमा सोलुदूधकुण्ड नगरको ४ नम्बर वडामा दलित समुदायका रामबहादुर बराइली वडा सभापतिमा चुनिएका छन् ।

७९ वडा भएको खोटाङमा पनि महिला र दलित समुदायबाट काँग्रेसको वडा सभापति चुनिएनन् । उदयपुरका ७५ वडामध्ये चौदण्डीगढी–७ मा पार्वती तिमिल्सिना वडा सभापतिमा चयन भएकी छन् । उदयपुरमा दलित समुदायबाट भने वडाको नेतृत्वमा कोही पुग्न सकेनन् ।

ओखलढुंगाका ७५ मध्ये एउटा वडामा महिला सभापति चुनिएकी छन् । सुनकोसी गाउँपालिका ७ मा सपना खत्री सभापति चुनिएकी हुन् । अन्य वडाहरुमा महिला र दलितले सभापति पदमा अवसर नै पाएनन् ।

संविधानले ३३ प्रतिशत महिलासहित दलित, आदिवासी जनजाति, मधेसी, मुस्लिम, खसआर्य, थारू र पिछडिएको समुदायबाट अनिवार्य सहभागिताको व्यवस्था गरेको छ । काँग्रेसको विधानले पनि केन्द्रीय पदाधिकारीदेखि वडा तहसम्म समावेशी सिद्धान्त सुनिश्चित गरेको छ । त्यसै अनुसार काँग्रेसको नेतृत्वमा महिला, पिछडिएको क्षेत्र तथा समुदायबाट सहमहामन्त्रीदेखि क्षेत्रीय प्रतिनिधि अनिवार्य गरिएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप