शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

मदन भण्डारी राजमार्ग : आधा काम, आधा अलपत्र

बुधबार, ३० भदौ २०७८, १२ : १६
बुधबार, ३० भदौ २०७८

सरकारले महत्त्वाकाङ्क्षी योजनाको रूपमा अघि सारेको मदन भण्डारी राजमार्ग (चुरे राजमार्ग) को पूर्वी रुटको काम सुरु भएको छ । तर सुनसरी, मोरङ र झापाको अन्तिम बिन्दुबाट काम सुरु भए पनि बीचको रुटमा भने राजमार्ग निर्माणको काम अलपत्र परेको छ ।

सुनसरीको धरानको सदुखोलादेखि झापाकोको मेचीडाँगी चोकसम्मको कुल १३० किलोमिटर दुरी छ । जसमा ७३ किलोमिटर सडक मात्र ठेक्का लागेर चालु आर्थिक वर्षबाट निर्माणको काम सुरु भएको छ ।

मदन भण्डारी राजमार्ग आयोजना निर्देशनालयले धरानको सदु खोलादेखि झापाको रतुवाखोला र शान्तिनगरदेखि अन्तिम बिन्दु मेची डाँगीसम्मको सडक ३३ महिनाभित्र काम सक्ने गरी तीनवटा प्याकेटमा ठेक्का लगाएर निर्माणको काम अघि बढाएको हो ।

गत आर्थिक वर्षबाट सडक विस्तारको काम सुरु भएसँगै पुल निर्माणको काम पनि अघि बढेको छ । जसका लागि सो रुटमा पर्ने विभिन्न खोलामा सानाठुला गरी ३१ वटा पुल निर्माणको काम भइरहेको आयोजनाले जनाएको छ । मदन भण्डारी सडक निर्माणका लागि पूर्वी रुटमा पर्ने खोलामा निर्माण गरिने पुलहरूको डिजाइन स्वीकृत नभई ३१ वटा पुल यसअघि नै ०७७ फागुन १८ मा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले एकै पटक शिलान्यास गरेका थिए ।

तीमध्ये डिजाइन तयारी भई स्वीकृत भएका १३ वटा पुलको निर्माण कार्य गत आर्थिक वर्षबाट अघि बढेको छ । अन्य बाँकी पुलको डिजाइन तयार गरी स्वीकृत हुने चरणमा छन् ।

अघिल्लो सरकारले आफ्नो अनुकूलतामा पुल निर्माणका लागि काम गरेकाले सोही अनुसार पुल जताजता छ, उतैउतै राजमार्गलाई मोड्ने गरी आयोजनाले राजमार्गको रेखाङ्कन गरेको छ । जसका कारण धेरै स्थानमा अहिले रुटको विषयलाई लिएर विवाद कायम छ ।

यसबीचमा ओलीले शिलान्यास गरेकामध्ये १३ वटा पुल ५ अर्ब ८३ करोड रुपैयाँमा ठेक्का लागेर निर्माणको काम अघि बढेको आयोजनाले जनाएको छ । बाँकी पुलहरूको डिजाइन तयार गर्ने काम भइरहेको छ भने केही पुलको डिजाइन स्वीकृत भएर निर्माण थाल्ने तरखर हुँदैछ ।

झापाको बेलडाँगीदेखि शान्तिनगरसम्म अहिले पनि विवादका कारण सडक निर्माणको ठेक्का लगाउने काम रोकिएको छ । यो खण्डको सडक निर्माणका कामका लागि सर्भे लगायतका काम सम्पन्न भए पनि धेरै स्थानमा रुटको विषयमा विवाद कायम रहेकाले ठेक्का प्रक्रियाको काम रोकिएको मदन भण्डारी राजमार्ग आयोजना निर्देशनालयले जनाएको छ ।

सरकारले चुरे आसपासका क्षेत्रको विकासका लागि भन्दै २०७५ जेठ ६ मा इलामको रोङ गाउँपालिकाको सलकपुरदेखि डँडेल्धुराको रुपाल जोड्ने ‘मदन भण्डारी राजमार्ग’ घोषणा गरेको थियो ।

राजनीतिक प्रभावमा राजमार्ग 

मदन भण्डारी राजमार्गको पूर्वी खण्ड (झापाको मेचीडाँगी देखि सुनसरीको धरानसम्म) अधिकांश खण्डमा नयाँ ट्रयाक खन्नुपर्ने छैन । पुरानै सडकलाई रुट तोकिएकाले स्तरोन्नति गरेर काम गर्दा हुने अवस्था छ । यसअघि नै बनिसकेका स्थानीय सडक खण्डलाई नै राजमार्ग बनाउने गरी तत्कालीन समयमा प्रस्तावित रुट सार्वजनिक भएको थियो ।

तर मोरङ, झापा र इलामका प्रस्तावित रुटमा पर्ने साबिकका गाउँहरूलाई छल्दै राजमार्गको रुट एकाएक परिवर्तन गरिए पनि रुटका विषयमा मतभेद कायम छ । राजमार्ग क्षेत्रमा साबिकका रुटलाई राजनीतिक स्वार्थका कारण एकाएक बदलिएको भन्दै स्थानीय स्तरमा असन्तुष्टि बढेको छ ।

यो राजमार्गको सबैभन्दा बढी विवाद मोरङको लेटाङको जाँते–मधुमल्ला खण्डमा छ । सो विवाद अहिले पनि स्थायी रूपमा हल भइसकेको छैन । यद्यपि सो क्षेत्रमा राजमार्ग निर्माणको काम भने अघि बढेको छ ।

सुरुमा मदन भण्डारी राजमार्ग लेटाङको माथिल्लो भेगबाट गुवाबारी, जाँते बजार, खोलीटार, टाँडीको धोबिनी र मधुमल्लाको तोरीबारी हुँदै झापाको बेलडाँगीतर्फ लैजान खोजिएको थियो । यही रुटलाई प्रयोग गर्ने गरी सर्भे भएको थियो । तर, पछि रुट बदलेर दक्षिण लेटाङ, जाँतेको मदनचोक र कत्लेको मिक्खुखोला हुँदै मधुमल्लाको पुछारमा लगेर राजमार्ग जोडिएको छ । यसरी रुट फेरेर घुमाउरो बनाउनुको मुख्य उद्देश्य तत्कालीन प्रधानमन्त्री ओलीको गृहनगर दमकमा बन्न लागेको भ्यु टावरलाई छुवाउने योजना नै मुख्य रहेको मदन भण्डारी राजमार्ग उपभोक्ता सरोकार समिति नेपालका अध्यक्ष वृहस्पति खतिवडाले बताए ।

मोरङको केराबारीबाट मदन भण्डारी राजमार्गलाई सिधै बेलडाँगीतिर सोझ्याउनुपर्नेमा दमकतर्फै नलगी नहुने भन्ने ढङ्गबाट काम भएको उनले बताए । ‘यो राजमार्ग पनि दमकलाई नै लक्षित गरियो, त्यसका निम्ति राजनीतिक दबाबमा रुट परिवर्तन गर्ने काम भएको छ,’ खतिवडा भन्छन् ‘यसले गर्दा चुरे क्षेत्रका बस्तीहरू उपेक्षामा परे ।’

यो राजमार्ग निर्माणमा पनि राजनीतिक स्वार्थ जोडिएको उनको भनाइ छ । यो सडक चुरे क्षेत्रमा जनताको हितमा नभएको उनले प्रस्ट पारे ।

सडक निर्माणको विषयमा पूर्वी रुटको सर्भेका क्रममा विवाद उब्जिएपछि चार वर्षयता सडक निर्माणको काम अघि बढ्न सकेको थिएन । अहिले खतिवडाले भनेजस्तै प्रस्तावित रुटमा पर्ने साबिकका गाउँहरूलाई छल्दै राजमार्ग निर्माणको काम भइरहेको छ ।

प्रस्तावित रुट परिवर्तन गरी दक्षिण लेटाङ, जाँतेको मदनचोक र कत्लेको मिक्खुखोला हुँदै मधुमल्लाको पुछारमा लगेर जोड्ने गरी नै ठेक्का लगाएर राजमार्ग निर्माणको काम अघि बढाइएको छ । माथिल्ला भेगका स्थानीयले भने रुट परिवर्तन गरिएकोमा विरोध जनाउँदै आएका छन् ।

मदन भण्डारी राजमार्ग योजना कार्यालय दमकका इन्जिनियर विवेक पाण्डेले पहिलो प्याकेजको सडक ९३ करोडमा ठेक्का लागेर निर्माण कार्य अघि बढेको बताए । उक्त खण्डमा २४.८ किलोमिटर सडक पर्दछ । साढे चार किलोमिटर वन क्षेत्र रहेकाले रुख कटानका लागि हाल टाँचा लगाउने काम भइरहेको उनले बताए ।

त्यसैगरी दोस्रो प्याकेजको सडक निर्माणका लागि एक अर्ब २९ करोडमा ठेक्का लागेको छ, जसको लम्बाई २८.२ किलोमिटर छ ।

तेस्रो प्याकेजमा शान्तिनगरदेखि पूर्वी खण्डको अन्तिम विन्दु मेची डाँगी चोकसम्मको कुल १० किलोमिटर सडक निर्माणका लागि ३७ करोड ९५ लाख रुपैयाँमा ठेक्का लागेको छ ।

आधा रुटमा काम आधामा अलपत्र

सुनसरी र मोरङमा राजमार्ग विस्तारका लागि काम अघि बढे पनि झापा र इलाममा भने सडक विस्तारको काम अलपत्र परेको छ ।

झापाबाट इलाम जोड्दै पुनः झापामै आउने राजमार्गका धेरै स्थानमा वन क्षेत्र पर्दछ । सुनसरी र मोरङमा सडक विस्तारमा कायम विरोधलाई छिचोल्दै सडक निर्माणको काम अघि बढे पनि झापा र इलाममा भने ठेक्का प्रक्रिया नै अघि बढ्न सकेको छैन ।

सुनसरी र मोरङमा माथिल्लो भेगमा स्थानीयले विरोध गरे पनि राजनीतिक दबाब रहेको भन्दै सडक विभागले पूर्व–पश्चिम राजमार्गकै नजिकबाट मदन भण्डारी राजमार्ग बनाउन काम सुरु गरेको छ । दमकको मुख्य बजार क्षेत्र भएर बनेको पूर्व–पश्चिम राजमार्गभन्दा उत्तरतर्फ तत्कालीन प्रधानमन्त्री ओलीको अग्रसरतामा ‘भ्यु टावर’ बन्दैछ । त्यही भ्यु टावरभन्दा करिब दुई किलोमिटर आसपास पर्ने गरी मदन भण्डारी राजमार्गका लागि पुलहरूको शिलान्यास भएको थियो ।

केराबारीबाट मदन भण्डारी राजमार्गलाई सिधै बेलडाँगीतिर सोझ्याउनुपर्नेमा दमकतर्फ लगिएको छ । दमक हुँदै शिवसतासी नगरपालिकाको दोमुखा पुगेर पुनः उत्तरतर्फ मोडिएर चुरे छिचोल्दै पूर्व सभामुख सुवास नेम्वाङको निर्वाचन क्षेत्र माई नगरपालिका जोडिएको छ ।

झापाको दोमुखासम्म मदन भण्डारी राजमार्ग आइपुग्दा त्यसको करिब २ किलोमिटर दक्षिणमा पूर्वपश्चिम राजमार्ग पर्दछ ।

शिवसतासी नगरपालिकाका मेयर चन्द्रकुमार शेर्माले दोमुखादेखि महामाई जोडिएर लगिएको सडक २०७७ सालमै सुवास नेम्वाङले शिलान्यास गरेको र हिउँदमा गाडी चल्ने जनाए । चुरेको फेदीमा पर्ने दोमुखाबाट सिधै पूर्व लाग्दा वन क्षेत्र पर्ने भएकाले मानव बस्ती हुँदै लाने क्रममा सडकको रेखाङ्कन केही परिवर्तन गरिएको हुने सक्ने उनले बताए । तर चुरे फेदीका जनताले राजमार्गको रेखाङ्कनको विषयमा असहमति जाहेर गर्दै विरोध जनाएका छन् । उनीहरूले मदन भण्डारी राजमार्गलाई सुवास नेम्वाङको निर्वाचन क्षेत्रसँग जोड्न राजनीतिक पहुँचका आधारमा सडकको रेखाङ्कन गर्ने काम भएको बताउँदै आएका छन् ।

सोही कारणले झापा र इलाम खण्डमा पर्ने ५७ किलोमिटर सडक निर्माणको काम अलपत्र परेको छ । सर्भे भएको चार वर्ष भइसक्दा पनि अहिलेसम्म आयोजनाले सो क्षेत्रमा सडक निर्माणका लागि ठेक्का लगाउन सकेको छैन ।

सरकारले २०७५ जेठमा राष्ट्रिय आयोजना घोषणा गरेको यो राजमार्गको लागि पहिलो पटक आर्थिक वर्ष २०७५/७६ मा ४ अर्ब ५० करोड रुपैयाँ विनियोजन गरेको थियो । त्यस यता सरकारले राजमार्ग निर्माणलाई उच्च प्राथमिकतामा राखेर बजेट विनियोजन गर्दै आएको छ ।

कुल १२०० किमी लम्बाइको प्रस्तावित राजमार्गलाई १० खण्डमा विभाजन गरेर निर्माण पूरा गर्ने सरकारको योजना छ । २०७३ सालमा धरान चतरा हुँदै हेटौँडा जोड्ने गरी सुरु भएको आयोजना २०७५ मा मन्त्रिपरिषद्को बैठकबाट मदन भण्डारी राजमार्गमा जोडिएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

ध्रुव भट्टराई
ध्रुव भट्टराई
लेखकबाट थप