शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

तोडियो भारत सरकारको एकाधिकार, निजी कम्पनीको रेल आइपुग्यो नेपाल

बुधबार, ३० भदौ २०७८, २२ : ०९
बुधबार, ३० भदौ २०७८

नेपालको सुख्खा बन्दरगाहसम्म मालसामान ढुवानीमा आउने रेलमा भारत सरकारको एकाधिकार तोडिएको छ । आज पहिलोपटक ९० वटा कन्टेनर बोकेर भारतको निजी रेल कम्पनी वीरगञ्ज सुख्खा बन्दरगाह आएपछि भारत सरकारको एकाधिकार तोडिएको हो ।

भारतको हिन्द टर्मिनल निजी कम्पनीले ९० वटा कन्टेनर सामान बोकेर आज १० बजेट विरगञ्ज सुख्खा बन्दरगाह आइपुगेको छ । इन्टरमोडल यातायात विकास समितिका कार्यकारी निर्देशक आशिष गजुरेलले नेपालमा भारतीय निजी रेल कम्पनीले सेवा दिन थालेको बताए ।

उनले सन् २०२१ को जुलाईमा नेपाल र भारत सरकारबीच भएको पारवहन सम्झौताअनुसार भारतीय निजी रेल कम्पनीले नेपालमा ढुवानी सुरु गरेको हो । सम्झौता भएको करिब दुई महिनापछि निजी कम्पनीले सञ्चालन गरेको रेल नेपालमा सामान ढुवानी गर्न आइपुगेको बताइएको छ ।

यसअघि, नेपाल र भारत सरकारबीच रेल सेवा सम्झौता भएको करिब १७ वर्षसम्म भारत सरकारको स्वामित्वमा रहेको कम्पनीले मात्रै नेपालमा यो सेवा दिँदै आएको थियो । नेपाल सरकार र भारत सरकारबीच २०६१ सालमा रेल सेवा सम्झौता भएको थियो ।

भारतीय रेल्वेको भगिनी संस्था कोन्करले मात्र नेपालमा रेलमार्फत कन्टेनर ल्याउँदै आएको थियो । जुन, निजी क्षेत्रको प्रवेशसँगै तोडिएको हो । हिन्द टर्मिनलले हल्दिया बन्दरगाहबाट उक्त सामान ल्याएको इन्टरमोडलले जानकारी दिएको छ ।

भारत सरकारसँगको सम्झौतापछि निजी क्षेत्रले नेपालमा सामान ढुवानी गर्न बाटो खुलेको थियो । योसँगै, भारत सरकारको विगत १७ वर्षदेखिको एकाधिकार तोडिनुका साथै अन्य निजी कम्पनीबीच प्रतिस्पर्धा हुने देखिएको छ । फलस्वरुप : नेपाली आयात/निर्यातकर्ताले सहजै वैदेशिक व्यापार गर्न सक्ने उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ ।

के भन्छ निजी क्षेत्र ?
नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले निजी कम्पनीले नेपालमा मालसामान ढुवानी सुरु गर्दा निजी क्षेत्र उत्साहित बनेको बताए । उनले भारतको सरकारी कम्पनी कोन्करले मात्र काम गर्दा ढुवानीमा देखिएको विभिन्न समस्या निजी क्षेत्रको प्रवेशसँगै समाधान हुने बताए । उनले भने, ‘ढुवानीको लागत पनि घट्छ । यसअघि कोन्करले ढुवानी गर्न नभ्याउने गरेकोमा अब नेपाली व्यवसायी एउटै कम्पनीको भरमा बस्नुनपर्ने स्थिति सृजना भएको छ ।’


उनले हाल वीरगञ्जमा मात्रै रहेको रेल सेवा अन्य सुख्खा बन्दरगाहमा पनि सञ्चालन गर्नुपर्नेमा जोड दिए । ‘नेपालका सबै बन्दरगाहलाई रेलमार्गको पहुँचमा पुर्याउनुपर्छ । त्यसका लागि धेरै मेहनेत समेत गर्नुपर्दैन । थोरै जोडबल गरेमा सकिन्छ’ उनले भने । 

यस्तै, नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष राजेन्द्र मल्लले यसबाट नेपालमा ढुवानी लागत घट्ने बताए । यसअघि, सरकारले सञ्चालन गरेको कम्पनीले मात्र सेवा दिइरहेकामा अब निजी क्षेत्रको प्रवेशले सहज हुने उनको भनाई छ ।

यस्तै, भारतको निजी कार्गो रेलले नेपालमा मालसामान ढुवानी गर्दा व्यवसायीलाई सहज हुने र ‘डुइङ बिजनेस’ सुधार आउने मल्लले बताए । भने, ‘धेरै कच्चा पदार्थ विदेशबाट आयात हुन्छ । ती कच्चा पदार्थ समयमै नेपाल आउँदा नेपालमा डुइङ बिजनेशमा समेत सुधार हुनुका साथै नेपालको उत्पादन लागत समेत घट्न आउँछ ।’ यसैगरी अब नेपालले आफ्नै झण्डा भएको कार्गो रेल सञ्चालनको तयारीमा लाग्नुपर्ने उनको भनाई छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप