शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

चलचित्र छायाङ्कनका लागि मनाङको अवलोकनमा बलिउडकर्मी

बुधबार, ३० भदौ २०७८, १६ : १७
बुधबार, ३० भदौ २०७८

कोभिड– १९ र गत असार १ मा आएको बाढी पहिरोका कारण आवतजावत ठप्प रहेको हिमाली जिल्ला मनाङमा बलिउड चलचित्र छायाङ्कन हुने भएको छ ।  बलिउडको प्रख्यात राजश्री प्रोडक्सनको ब्यानरमा छायाङ्कन हुन लागेको चलचित्र “उचाई”को छायाङ्कन गरिने भएको हो । 

चलचित्रको छायाङ्कनका लागि स्थल अवलोकन गर्न निर्माता निर्देशक सुरज बडाजात्याको टोली अल्टिच्युड एयरको दुई वटा हेलिकप्टरबाट मनाङ आएका छन् । निर्माता, निर्देशकको टोली दुई दिन मनाङमै बसेर चलचित्र छायाङ्कनका लागि विभिन्न स्थानको अवलोकन गरेका छन् । 

सो टोलीले माथिल्लो मनाङको ङिस्याङ गाउँपालिका वरपरका विभिन्न स्थानको अवलोकन गरेका छन् । दुई दिनको अवलोकन पश्चात् टोली आज काठमाडौँ फर्किएर सगरमाथा आधार शिविरमा पनि छायाङ्कनका लागि स्थलगत अवलोकन गर्न गएको नेपालका लागि थ्री विलर्स फिल्मस्का अध्यक्ष लाइन प्रोड्युसर सुरज आचार्यले जानकारी दिए ।

उनका अनुसार मनाङ छायाङ्कनका लागि निकै उपयुक्त स्थान रहेको छ । मनाङमा करिब १० दिन सो फिल्मको छायाङ्कन हुने मनाङका पर्यटन व्यवसायी विनोद गुरुङले बताए । मनाङ जिल्लालगायत नेपालको अन्य विभिन्न स्थानमा सो फिल्मको छायाङ्कन गरिने बताइएको छ । 

यस चलचित्रमा अमिताभ बच्चन, अनुपम खेर, डेनी डेन्जोङ्पा, सारिका, बोमन इरानी, परिणिती चोपडा आदि कलाकारको मुख्य भूमिका रहनेछ । दुई साता अगाडि पनि यो टोलीले जोमसोम, कागबेनी, लुक्ला, नाम्चे बजार र लाङटाङ क्षेत्रको अवलोकन गरिसकेको छ । 

यस चलचित्र छायाङ्कनले कोरोनाका कारण थला परेको यहाँको पर्यटन व्यवसायलाई सहयोग पुग्ने र चलचित्र प्रदर्शन पश्चात् मनाङमा भारतीय पर्यटकको आकर्षण बढ्नसक्ने अनुमान गरिएको पर्यटन व्यवसायी गुरूङले बताए । उनका अनुसार यस बलिउड चलचित्र प्रदर्शन पश्चात् मनाङ मात्र नभइ सिङगो नेपालकै प्रचारप्रसार हुने र नेपाललाई विश्व सामु चिनाउन मद्दत पुग्नेछ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप