बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

मुख्यमन्त्रीले विश्वासको मत लिन प्रदेश १ को प्रदेशसभा बैठक बोलाउने निर्णय

बुधबार, ३० भदौ २०७८, १७ : २४
बुधबार, ३० भदौ २०७८

प्रदेश १ सरकारले आगामी असोज २२ गते प्रदेशसभाको अधिवेशन बोलाउने निर्णय गरेको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा  बुधबार बसेको बैठकले असोज २२ गते प्रदेशसभाको अधिवेशन बोलाउने निर्णय गरेको हो ।

नेकपा एमाले विभाजन भएपछि मुख्यमन्त्री भीम आचार्यले प्रदेशसभाबाट विश्वासको मत लिनुपर्ने भएपनि सोही प्रयोजनका लागि बैठक बोलाइएको हो ।

संविधानअनुसार सत्तारुढ दल विभाजन भएको अवस्थामा मुख्यमन्त्रीले ३० दिनभित्र विश्वासको मत लिनुपर्ने हुन्छ ।  प्रदेशसभा सभामा भदौ २५ गते शुक्रबार संसदीय दल विभाजन भएको जानकारीसहितको पत्र निर्वाचन आयोगबाट प्राप्त भएकाले मुख्यमन्त्रीले विश्वासको मत लिनुभन्दा दुई दिनअघि नै संसद सचिवालयलाई जानकारी दिनुपर्ने हुन्छ ।

सो आधारमा आगामी असोज २२ गतेभित्र मुख्यमन्त्रीले विश्वासको मत लिने प्रस्ताव प्रदेशसभामा पठाउनुपर्ने छ । यस आधारमा असोज २४ सम्ममा मुख्यमन्त्री आचार्यले विश्वासको मत लिनुपर्ने हुन्छ ।

प्रदेशसभामा नेकपा एमालेको ५१ सांसदसहित बहुमत रहेकोमा १० जना सांसद नेकपा एकीकृत समाजवादीमा सामेल भएका छन् ।

हाल प्रदेशसभामा एमालेको पक्षमा ४१ सांसदमात्र छन् । प्रदेशसभाका कायम रहेका ९२ सदस्यमध्ये विपक्षी गठबन्धन नेपाली काँग्रेसका २१, नेकपा माओवादी केन्द्रका १५, नेकपा एकीकृत समाजवादीका १०, जनता समाजवादी पार्टीका ३ र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका १ सांसद छन् ।

मुख्यमन्त्री शेरधन राईलाई पदबाट राजीनामा गराएर आचार्य गएको भदौ १० गते प्रदेश १ को मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप