शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

बजारमा कच्चा सुन अभाव, व्यवसायी पुगे राष्ट्र बैंक

बुधबार, ३० भदौ २०७८, १७ : २८
बुधबार, ३० भदौ २०७८

बजारमा कच्चा सुन अभाव भएको भन्दै सुनचाँदी व्यवसायीहरू नेपाल राष्ट्र बैंक पुगेका छन् । आपूर्ति कोटा बढाउन व्यवसायीहरूले केन्द्रीय बैंकलाई गुहारेका हुन् ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष माणिकरत्न शाक्य नेतृत्वमा गएको महासंघ प्रतिनिधिमण्डलले राष्ट्र बैंक, विदेशी विनिमय विभागका कार्यकारी निर्देशक रामु पौडेललाई सुन अभावबारे जानकारी गराएको हो । 

बजारमा माग र आपूर्तिबीच चरम असन्तुलन रहेको महासंघले दाबी गरेको छ । त्यसकारण तत्काल कच्चा सुनको आपूर्ति बढाउन आफूहरूले आग्रह गरेको महासंघका अध्यक्ष शाक्यले बताए । उनकाअनुसार नेपालमा चाडवाडको समयमा दैनिक ३५ देखि ४० किलोग्रामसम्म र सामान्य समयमा दैनिक २५ देखि ३० किलो सुन माग हुने गरेको छ । हाल व्यवसायीहरूले दैनिक २० किलोग्राममात्र कच्चा सुन पाउँदै आएका छन् । 

महासंघले राष्ट्र बैंकलाई सुन आपूर्ति व्यवस्था सहज बनाउन, बैंकद्वारा जारी निर्देशिकामा उल्लेख भएअनुसार क्षेत्रगत रूपमा विभिन्न नौवटा नाकाहरूबाट कच्चा सुन वितरण व्यवस्था मिलाउन, सुनचाँदी व्यवसायीले सबै बैंकको खाता खोल्नुपर्ने बाध्यात्मक व्यवस्था हटाइ एकल खाता प्रणालीमा जाने व्यवस्था मिलाउन आग्रह गरेको छ । 

यस्तै, सुन आयातमा बैंकको एकाधिकार तोडी निजी क्षेत्रलाई पनि सहभागी गराइनुपर्ने, गोल्ड एक्सचेञ्ज स्थापनाका निम्ति पहल गर्नुपर्ने, कोरोना प्रभावित सुनचाँदी व्यवसायीलाई पुनर्कर्जा व्यवस्था मिलाइनुपर्ने, चाँदी आयात व्यवस्थित बनाइनुपर्ने लगायतका मागहरू पनि राखेको छ ।  पछिल्लो समय राष्ट्र बैंकले दैनिक २० किलोग्रामका दरले बजारमा कच्चा सुन उपलब्ध गराइरहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप