शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

विश्वासको मत लिन लागेका आचार्यले गरे मन्त्रिपरिषद् विस्तार

बुधबार, ३० भदौ २०७८, १८ : ३३
बुधबार, ३० भदौ २०७८

प्रदेशसभाबाट विश्वासको मत लिनका लागि बैठक आह्वान गरेका प्रदेश नम्बर १ का मुख्यमन्त्री भीम आचार्यले बुधबार मन्त्रिपरिषद् विस्तार गरेका छन् । उनले बुधबार ५ जना मन्त्री तथा राज्यमन्त्री थप गरेका हुन् । मन्त्री नियुक्त भएकाहरुलाई आजै साँझ सपथग्रहण गराइएको छ । योसँगै प्रदेश १ को मन्त्रिपरिषद ८ सदस्यीय पुगेको छ । 

संखुवासभाका तुलसी न्यौपानेलाई आर्थिक मामिला तथा योजना, झापाका हिराकुमार थापालाई भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री र सोलुखुम्बुका उत्तमकुमार बस्नेतलाई उद्योग वन, पर्यटन तथा वातावरण राज्यमन्त्री बनाइएको छ । यस्तै  मोरङका ज्ञानेश्वर राजवंशीलाई भूमि व्यवस्था, कृषि तथा सहकारी राज्यमन्त्री र मोरङका लिलाबल्लभ अधिकारीलाई आन्तरिक मामिला तथा कानून राज्यमन्त्री बनाइएको छ । यसअघि सामाजिक विकास मन्त्रीको रुपमा ताप्लेजुङका बलबहादुर साम्सोहाङ र तेह्रथुमका लछुमन तिवारी उद्योग, वन, पर्यटन तथा वातावरण मन्त्री नियुक्ति भएका थिए । 

मुख्यमन्त्री पछाडि मन्त्रीहरुको पहिलो वरियतामा न्यौपाने, दोस्रोमा थापा, तेस्रोमा तिवारी, चौथोमा साम्सोहाङ राखिएको छ । यस्तै बस्नेत पाँचौं, राजवंशी छैठौं र अधिकारी सातौं नम्बरको वरियतामा नियुक्त भएका हुन्।
नेकपा एमालेको विभाजनसँगै अल्पमतमा परेका प्रदेश १ का मुख्यमन्त्री भीम प्रसाद आचार्यले संसदबाट विश्वासको मत नलिई मन्त्रिपरिषद विस्तार गरेका हुन् । विश्वासको मत लिनका लागि आचार्यले असोज २४ गते प्रदेशसभा बैठक बोलाएका छन् । 

संविधान अनुसार मुख्यमन्त्रीको पार्टी विभाजन भएपछि ३० दिनभित्र मुख्यमन्त्रीले प्रदेशसभाबाट विश्वासको मत लिनुपर्छ । नेकपा एमालेको विभाजनले भदौ ९ गते निर्वाचन आयोगबाट वैधानिकता पाएकोले असोज ८ गतेभित्र मुख्यमन्त्रीले विश्वासको मत लिनुपर्ने दावी विपक्षी गठबन्धनले गरिरहेको बेला उनले भने असोज २४ गते विश्वासको मत लिने तयारीसहित मन्त्रिपरिषद विस्तार गरेका हुन् । 

आजै राज्यमन्त्री बनाउने प्रस्ताव गरिएका एमाले संसदीय दलका सचेतक बुद्धिकुमार राजभण्डारी, उदयपुरका सांसद बिमल कार्की र अघिल्लो सरकारमा उद्योग पर्यटन वन तथा वातावरण राज्यमन्त्री रहेका राजकुमार ओझाले पद अस्वीकार गरेका थिए । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप