शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

बुटवलमा एमालेको अगुवा कार्यकर्ता भेला : कसले के भने ?

माधव नेपाललाई ‘कमरेड’ भन्न सुहाउँदैन : ओली
बुधबार, ३० भदौ २०७८, २१ : ०५
बुधबार, ३० भदौ २०७८

 

नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी ओली शर्मा ओलीले शेरबहादुर देउवा नेतृत्वको सरकारले जनताको काम केही पनि गर्न नसक्ने दाबी गरेका छन् । बुधबार बुटवलमा एमालेको अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै ओलीले सरकार गठन भएको यति लामो समयसम्म पनि जनतालाई आश लाग्ने केही काम गर्न नसकेको भन्दै विगतका सरकारले गरेका राम्रा कामलाई समेत संरक्षण गर्न नसकेको आरोप लगाए ।

उनले अब सरकारको हैसियत देखिने भन्दै बिहीबारदेखि सरकारले बजेटसमेत खर्च गर्न नसक्ने अवस्था सिर्जना हुने जिकिर गरे । ‘भोलिदेखि यो सरकारले बजेट खर्च गर्न पाउँदैन, कसरी काम हुन्छ ?’ उनले भने, ‘अघिल्लो सरकारले ल्याएको बजेट प्रतिस्थापन गर्ने उद्देश्यले ल्याएको विधेयक पास गर्ने समय आज मध्यरातदेखि सकिने हुँदा भोलिदेखि सरकारलाई बजेट खर्च गर्न पनि समस्या हुन्छ ।’

उनले गठबन्धन सरकारले नयाँ घण्टाघर बनाउने भनेर गरेको घोषणा हाँस्यास्पद भएको टिप्पणी गरे । भूकम्पका बेला नेकपा एमालेले २७ हजार घर, १३ हजार स्कुल र चौकीहरू बनाएको भन्दै उनले अब एमाले परोपकारी संस्थाका रुपमा हाजिर भइरहेको र अझै भइरहने दाबी गरे ।

ओलीले एमालेको सरकारले गरेको विकास देखेर आत्तिँदै ‘प्रतिक्रियावादी’हरुले सरकार ढालेको आरोपसमेत लगाए । विकास निर्माणका कामले गति लिएको अवस्थामा सरकारका विरुद्ध संगठित भएर प्रतिपक्षले विकासको गतिलाई रोक्ने प्रयास गरेको उनको भनाइ थियो ।

उनले भने, ‘हाम्रो सरकार तीव्र विकासको गतिमा अगाडि बढेको थियो । तर, अहिले हेर्नुस् त ! २ महिना भयो मन्त्रिपरिषद् विस्तार हुन सकेको छैन ।’

ओलीले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले पार्टीमाथि बञ्चरो प्रहार गरेर अपराधकर्म गरेको आरोप लगाए । उनले भने, ‘माधव नेपाललाई कमरेड भन्न पनि सुहाउँदैन ।’

सोही कार्यक्रममा नेकपा एमालेका नेता विष्णु पौडेलले एमाले केही समयमात्र प्रतिपक्षमा रहने बताए । उनले देउवा सरकारले जनताको मन जित्ने काम गर्न नसकेको भन्दै फेरि केही समयपछि एमाले सत्तामा आउने बताए ।

एमालेले सत्ता चाहेकोभन्दा पनि जनतालाई एमाले सत्तामा गएको हेर्ने चाहना भएकाले नै एमाले सत्तामा जाने गरेको उनको भनाइ थियो । उनले चुनाव जित्न सरकारमा बस्नु पर्ने मानसिकता एमालेको नभएको जिकिर गर्दै जनताले जिताउने भएपछि अरु कसैको केही नलाग्ने बताए ।

एमालेमा राज्यसत्ताको दुरुपयोग गरेरभन्दा पनि जनताको विश्वास जितेर चुनाव जित्ने ल्याकत रहेको भन्दै उनले जनतामा जान एमालेसँग प्रशस्त मुद्दा र एजेण्डा रहेको बताए ।

पौडेलले एमाले विभाजन गर्न ल्याइएको अध्यादेशले एमाले विभाजन नभई पार्टीभित्रका केही स्वार्थी तत्वहरु मात्र बाहिर गएको बताए । उनले पार्टीभित्र देखिएको अन्तरविरोध वैचारिक लडाइँ नभई स्वार्थको लडाइँमात्र रहेको दाबी गरे ।

नेकपा एमालेका उपमहासचिव घनश्याम भुसालले एमाले सबैभन्दा ठूलो पार्टी भएकाले कमजोरी गर्ने र उत्ताउलो हुने छुट नभएको बताए । उनले विभाजित हुँदा पनि एमाले नै सबैभन्दा ठूलो पार्टी रहेको भन्दै कमजोरी गर्ने र उत्ताउलो हुने छुट नभएको बताएका हुन् ।

एमालेलाई २०७४ सालकै अवस्थामा फर्काउने भन्दै उनले एमालेमा आन्तरिक लोकतन्त्र बलियो बनाउन सके मुलुकमा एमालेलाई हराउने शक्ति नहुने प्रस्ट पारे ।

आन्तरिक रूपमा लोकतान्त्रिक हुन नसके मुलुकको नेतृत्व गर्न नसक्ने बताउँदै उनले एमालेले आफैभित्र हरबखत न्याय र समानता कायम गर्न सक्नुपर्ने आवश्यकता औंल्याए ।

 

कार्यक्रममा पूर्व उपप्रधानमन्त्री एवं नेकपा एमालेका स्थायी कमिटी सदस्य टोपबहादुर रायमाझीले शेरबहादुर देउवालाई टीका लगाई प्रधानमन्त्री बनाएको बताए ।

जनादेशको विरुद्ध परमादेशबाट शेरबहादुर देउवालाई टीका लगाइदिएर प्रधानमन्त्री बनाएको भन्दै उनले विदेशी शक्ति केन्द्र एकातिर र केपी ओलीको नेतृत्व अर्कोतिर भएको बताए ।

पार्टी अनुशासनमा नबस्ने नेताहरुलाई पार्टीले कारबाही गरेको जिकिर गर्दै उनले संसदमा पनि बहुमत जुटाउन नसक्ने, पार्टीमा पनि बहुमत नपुग्ने भएपछि कोहीकोही शेरबहादुर देउवाको पुच्छर बनेको टिप्पणी गरे ।

एमाले नेता छविलाल विश्वकर्माले अहिलेको परिस्थिति असामान्य रहेको भन्दै विस्तारै सामान्यतर्फ जाँदै गरेको बताए । उनले १० बुँदे सहमतिपछि एमाले अहिले झन् एकतावद्ध र पुनर्जागृत भएको जिकिर गर्दै राष्ट्रका समस्या समाधानमा बलियो शक्ति बन्ने बताए । पार्टीभित्र रहेका सबै एकतावद्ध भएर योग्यता र क्षमतालाई विस्तार गर्दै जनताको मन जित्नुपर्ने खाँचोसमेत उनले औंल्याए ।

नाकाबन्दीले नेपाली जनताको ढाड सेकेको बेला सहज बनाउने पार्टी एमाले नै रहेको जिकिर गर्दै उनले लामो समय समृद्धिको सपना देखाएको र जनताको काम गर्ने पार्टी एमाले नै रहेको दाबी गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

तेजेन्द्र के.सी.
तेजेन्द्र के.सी.

केसी रातोपाटीका प्रदेश नम्बर ५ का संयोजक हुन् । 

लेखकबाट थप