शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

क्षुद्रग्रह धर्तीमा ठोक्किँदा सर्पका लागि वरदान र डायनासोरका लागि श्राप कसरी बन्यो ?

बिहीबार, ३१ भदौ २०७८, १२ : ०५
बिहीबार, ३१ भदौ २०७८

धर्तीमा सर्पको प्रजाति फस्टाउनमा केही हदसम्म क्षुद्रग्रहको पनि योगदान छ ।

एक नयाँ शोधका अनुसार यी क्षुद्रग्रह धर्तीसँग ठोक्किएका कारण धर्तीबाट डायनासोर लोप भएका थिए ।

यसका कारण धर्तीमा असाध्यै क्षती भयो, धेरैजसो जनावर र बोट–बिरुवा नष्ट भएका थिए ।

तर वैज्ञानिकका अनुसार यी व्यापक विनाशपछि संसारमा सर्पका केही प्रजाति भने बाँचेका थिए ।

उनीहरु धर्तीभित्र गएर लुके र लामो समयसम्म खाना नखाई पनि जीवित रहन सफल भए ।

डायनासोर सखाप भएः

यी सर्प त्यसपछि संसारभरी फैलिए र आज संसारभरी यसका तीन हजारभन्दा बढी प्रजाति छन् ।

यो कुरा ६ करोड ६० लाख वर्ष पुरानो हो, जब धर्तीसँग यो क्षुद्रग्रह ठोक्किएको थियो । उक्त हमलामा डायनासोरको पूरा प्रजाति नष्ट भए ।

वैज्ञानिकका अनुसार धर्तीसँग क्षुद्रग्रह ठोक्किएका कारण भूकम्प, सूनामी, डढेलो र आगलागीजस्ता प्राकृतिक विनाश निम्तिए ।

धर्तीबाट उठेको धुँवाको मुस्लो यति माथि पुगेको थियो कि सूर्यको किरण धर्तीसम्म पुग्नै सकिरहेको थिएन र अँध्यारोको साम्राज्य दशकसम्म रहिरह्यो ।

वैज्ञानिकले उक्त घटनामा धर्तीका ७६ प्रतिशत बोट–बिरुवा र जनावर लोप भएको अनुमान गरेका छन् ।

वैज्ञानिकको अनुसन्धानः

तर सर्प, केही स्तनधारी जीव, पंक्षी र केही माछाले आफूले आफैंलाई बचाए ।

युनिभर्सिटी अफ बाथका अनुसन्धानकर्ताको समूहले यो अनुसन्धानमाथि काम गरेका थिए ।

रिसर्च टिमकी लीडर डाक्टर क्याथरिन क्लिन भन्छिन्, ‘जब धर्तीमा आहार–श्रृङ्खलाको चक्र टुट्यो तब ती सर्पका प्रजाति नै थिए जो अत्यधिक बढ्न सफल भए । र उनीहरुले परिवर्तित वातावरणसँग नयाँ ढङ्गले तालमेल मिलाउन ढिलाई गरेनन् ।’

‘यदि धर्तीसँग क्षुद्रग्रह नठोक्किएका भए आज यो जुन स्थितिमा छ, त्यस्तो हुने थिएन ।’

यो क्षुद्रग्रह धर्तीमा मेक्सिको नजिकै ठोक्किएको थियो । त्यतिबेलाका सर्प लगभग त्यस्तै थिए जुन आज देखिन्छन् – खुट्टा बिनाका, लचिलो बङ्गारासहित तिनीहरु आफ्नो शिकारलाई सहजै निल्न सक्थे ।

सर्पका प्रजातिः

सर्प केही नखाईकनै वर्ष दिनसम्म पनि बस्न सक्छन् ।

क्षुद्रग्रह धर्तीमा ठोक्किएपछि जुन विनाश निम्तियो, त्यसमा जिउँदो रहनका लागि सर्पको यो विशेषताले विशेष काम गर्यो ।

सर्पका जो प्रजाति जीवित रहन सफल रह्यो, ती प्रमुखतः ती प्रजाति थिए जो धर्ती भित्र वा जङ्गलका बोट बिरुवा मुनी वा सफा पानीको स्रोतमा बस्दथे ।

उनीहरुले अन्य जीवभन्दा कम प्रतिस्पर्धाको सामना गर्नुपर्यो ।

जन्मिन, हुर्कनका लागि तिनीहरुको अगाडि खुल्ला मैदान थियो र यसैगरी तिनीहरु संसारभरी फैलिए । त्यति नै बेला सर्पले पहिलो पटक एशियाको जमिनमा कदम राख्यो ।

नेचर कम्युनिकेशन्समा प्रकाशित अनुसन्धानः

समय जति बित्दै गयो, सर्प आकारमा बढ्न थाले र तिमीहरुको दायरा फैलन थाल्यो ।

यिनीहरु नयाँ आवसीय इलाकालाई अपनाउन थाले र नयाँ शिकारलाई आक्रमण गर्न थाले । सर्पका नयाँ प्रजाति अस्तित्वमा आए ।

यसमा ठूला आकारका ती समुद्री सर्प पनि समावेश थिए जसको लम्बाई १० मिटरसम्म थियो ।

डाक्टर क्याथरिन क्लिनको समूहको यो अनुसन्धान नेचर कम्युनिकेशन्समा प्रकाशित भएको छ ।

उनीहरुको शोधमा आज धर्तीमा सर्पका जति पनि प्रजाति छन्, तिनीहरुमाथि कतै न कतै क्षुद्रग्रह धर्तीमा ठोक्किएको घटनाको प्रभाव परेको बताइएको छ ।

सबै स्थानमा पाइन्छन् सर्पः

आज संसारभरी सर्पका जुन प्रजाति पाइन्छन् ती रुखमा बस्ने, समुद्रमा बस्ने, विषालु सर्प र अजिंगरजस्ता सर्प (जसमा विष हुँदैनन्) पाइन्छन् र यो करोडौं वर्ष अघि भएको उक्त घटनापछि अस्तित्वमा आएका हुन् ।

धर्तीको इतिहासमा यस्त घटना कमै भए जब कुनै जीवको लगभग आधा प्रजाति निकै कम समयमा लोप भए ।

युनिभर्सिटी अफ बाथको मिलनर सेन्टर फर रिभोल्यूशनका डाक्टर निक लन्गरिकका अनुसार महाविनाशको उत्पत्तिको प्रक्रिया सुरु भयो जुन निकै प्रयोगात्मक थियो ।

अन्टार्कटिक महादेशलाई छोडेर धर्तीका लगभग सबै स्थानमा सर्प पाइन्छन् ।

यिनीहरु मरुभूमिदेखि लिएर समुद्रसम्म पाइन्छन् । रुखको माथिल्लो भाग र धर्तीको मुनीसम्म उनीहरुले आफ्नो बासस्थान चुनेका छन् ।

यिनीहरुको लम्बाई केही सेन्टिमिटरदेखि लिएर ६ मिटरभन्दा बढीसम्म हुन्छ ।

पर्यावरणको स्वास्थ्यका लागि सर्पको अस्तित्व अत्यावश्यक छ । यसले किरा फट्याङ्ग्रालाई नियन्त्रित गरेर मानिसहरुलाई मद्दत गर्छ ।

तर मानिसहरुसँग टक्करका कारण सर्पका विभिन्न प्रजाति खतरामा छन् ।

बीबीसी

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप