शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

एक करोड बजेट सकियो, ६ वर्षमा पनि निर्माण भएन कभर्ड हल

बिहीबार, ३१ भदौ २०७८, १३ : ४२
बिहीबार, ३१ भदौ २०७८

 रुकुम पूर्वमा कभर्ड हल निर्माण प्रक्रिया सुरु गरेको ६ वर्ष  पुगे पनि निर्माण कार्य सम्पन्न भएको छैन । जिल्लाको सिस्ने गाउँपालिका–६ ढकाल बारामा खेलकुदका गतिविधि सञ्चालन गर्न सहजताका लागि भन्दै २०७२ सालबाट कभर्ड हल निर्माणको प्रक्रिया सुरु गरिएको थियो । त्यतिबेला सो क्षेत्रका प्रतिनिधिसभा सदस्य तथा तत्कालीन मन्त्री गणेशमान पुनले निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रमबाट १० लाख रुपैयाँ खर्च गरी कभर्ड निर्माण थालिएको थियो ।

पछि तत्कालीन खेलकुद मन्त्री दलजित सिर्पालीले पनि कभर्ड हलका लागि बजेट बिनियोजन गरे । कभर्ड हल निर्माणका लागि अहिलेसम्म झन्डै एक करोड रुपैयाँ बजेट खर्च भइसकेको छ ।

सुरुमा गाउँपालिका उपभोक्ता समितिमार्फत निर्माण गरेकोमा पछि जिल्ला खेलकुद विकास समितिले निमार्णको काम जारी राखेको जनाएको छ ।

सिस्ने गाउँपालिका अध्यक्ष कुमारी बरालले हालसम्म कवर्डहल निर्माणका लागि गाउँपालिकाले ५६ लाख रुपैयाँ खर्च गरिसकेको जानकारी दिइन् । उक्त बजेटबाट जग्गा खरिद गरिएको र खेलाडीहरुका लागि २ कोठाको चेन्जिङ रुम, शौचालय, कम्पाउन्ड, फिल्ड निर्माण गरिएको उनको भनाइ छ ।

उनका अनुसार कभर्ड हलमा गाउँपालिकाले सुरुको आर्थिक वर्ष २०७४/७५ मा ३६ लाख बजेटबाट जग्गा खरिद गरेको थियो । त्यसपछि आर्थिक वर्ष २०७५/७६ मा प्रदेश सरकारबाट सशर्त अनुदानबापत आएको १० लाख र आर्थिक वर्ष २०७६/७७ को १० लाख गरी गाउँपालिकाले अहिलेसम्म ५६ लाख बजेट खर्च गरेको छ ।

यस्तै गत आर्थिक वर्ष २०७७/७८ मा राष्ट्रिय खेलकुद परिषदबाट प्राप्त भएको २८ लाख बजेट पनि सोही कभर्ड हल निर्माणमा खर्च भएको छ । जिल्ला खेलकुद विकास समितिका अध्यक्ष हरिबहादुर थापाका अनुसार २८ लाख बजेटबाट फाउन्डेसन निर्माण गरिनुका साथै ३० वटा पिलर र २ वटा टाइबिम तयार गर्नुका साथै एङ्कर रड पनि बनाइएको छ ।

हाल भने कभर्ड हल निर्माणको कार्य अघि बढ्न सकेको छैन । निर्माण सम्पन्न गर्न प्रक्रिया अघि बढाइएको अध्यक्ष थापाको भनाइ छ । समयमै कभर्ड हल निर्माणको कामले पूर्णता नपाउँदा जिल्लामा हुने खेलकुदका गतिविधिहरु गर्न कठिन हुने गरेको छ ।

कभर्ड हलको अभावमा इन्डोर गेमहरु पनि खुला ठाउँमा खेल्नु परिरहेको जिल्ला ब्याडमिन्टन संघका सचिव जयकुमार श्रेष्ठले बताए । सरोकारवालाहरुले खेलाडीको समस्या नबुझेको उनी बताउँछन् । विषेशगरी ब्याडमिन्टन, तेक्वान्दो, मार्सलआर्ट लगायतका खेलहरु कभर्ड हलभित्र खेल्ने गरिन्छ तर कभर्ड हल नहुँदा खेलाडीहरुले खुला चौरमा त्यस्ता खेलकुदको प्रशिक्षण गर्नु परिरहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप