शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

२५ किलो सालकको खपटासहित दुई जना सीआईबीको नियन्त्रणमा

बिहीबार, ३१ भदौ २०७८, १८ : ०७
बिहीबार, ३१ भदौ २०७८

केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को टोलीले सालकको खपटासहित दुई व्यक्तिलाई पक्राउ गरेको छ । २५ केजी सालकको खपटासहित ब्यूरोको टोलीले रामेछापबाट स्थानीय सोनाम तामाङ र ध्यान बहादुर तामाङलाई पक्राउ गरेको हो ।

संरक्षित वन्यजन्तुमा पर्ने सालकको खपटा (आखेटोपहार)को अवैध ओसारपसार तथा बिक्री बेचविखन हुन लागेको सूचनाका आधारमा सीआईबी टोली रामेछापमै पुगेर उक्त परिमाणको सालकको खपटासहित दुई व्यक्तिलाई पक्राउ गरेको सीआईबीका प्रवक्ता श्याम कुमार महतोले बताए । 

प्रहरी आफै ग्राहक बनेर पुगेको सीआईबीको टोलीले रामेछापको मन्थली नगरपालिका वडा नम्बर १, देवकोटा चोकबाट २५ केजी उनीहरुलाई पक्राउ गरेको हो । नेपालकै इतिहासमै नेपालभित्रकै सालकको खपटा बरामदमा यो सबैभन्दा धेरै रहेको सीआईबीको दावी छ । यसअघि २०७४ सालमा त्रिभुवन विमानस्थलबाट चिनियाँ नागरिकले ल्याएको १६२ केजी सालकको खपटा बरामद भएको थियो । तर उक्त खपटा अन्य देशबाट ल्याइएको प्रहरीको दावी छ । 

सीआईबीको टोलीले लिखु तामाकोशी गाउँपालिकाका तामाङद्वयलाई पक्राउ गरी डिभिजन वन कार्यालय रामेछापमा बुझाएको छ । प्रहरी स्रोतका अनुसार २५ केजी सालकको खपटा संकलन गर्नका लागि कम्तीमा पनि ७० देखि ७५ वटा सालक मार्नुपर्ने हुन्छ । आरोपीले रामेछापकै विभिन्न स्थानबाट सालक मारी उक्त परिमाणको खपटा संकलन गरेको सीआईबीलाई बयान दिएका छन् ।

नेपालको मध्यपहाडी क्षेत्रमा पाइने सालक विश्व बन्यजन्तु कोषले संरक्षित जनावारको सूचीमा राखेको जीव हो । उक्त जीव मार्ने, अवैधओसार र विक्री वितरण गर्ने व्यक्तिलाई राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन अनुसार ५ लाख देखि १० लाखसम्म जरिवाना र ५ देखि १५ वर्षसम्मको कैद सजाय वा दुवै सजायको व्यवस्था गरेको छ । 

नेपालबाट सालकको अवैध खपटा संकलन गरी चीन, भियतनाम लगायतका देशमा पुग्ने गरेको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप