मङ्गलबार, ०४ वैशाख २०८१
ताजा लोकप्रिय

रातोपाटी ब्रिफिङ : सत्ता गठबन्धनमा खटपट, प्रचण्डमाथि ओलीको हमला

काठमाडौंमा भौतिक रुपमा पठनपाठन नगर्न प्रशासनको आदेश
बिहीबार, ३१ भदौ २०७८, २० : ४२
बिहीबार, ३१ भदौ २०७८

आज मिति २०७८ साल भदौ महिनाको अन्तिम दिन अर्थात ३१ गते बिहीबार । आज दिनभरका मुख्यमुख्य घटनाक्रमलाई रातोपाटीको नियमित स्तम्भ ‘सन्ध्याकालीन ब्रिफिङ’ मा समेट्ने प्रयास गरेका छौँ–

आजका मुख्य समाचारहरुमा काठमाडौंमा विद्यालय सञ्चालन गर्न नपाइने, सत्ता गठबन्धनमा खटपट, एमाले अध्यक्ष केपी ओलीद्वारा सत्ता गठबन्धन र माओवादी अध्यक्ष प्रचण्डको आलोचना, कोरोनाको नियमित अपडेट, सेयर बजार, बैंकहरुको ब्याजदर वृद्धिलगायत रहेका छन् ।

१. सत्ता गठबन्धनमा खटपट

सरकारले ल्याएको दल विभाजन सम्बन्धी अध्यादेश प्रतिनिधिसभाबाट पारित गर्ने कि मन्त्रिपरिषदबाट खारेज गर्ने भन्ने विषयमा सत्ता गठबन्धनभित्र विवाद देखिएको छ । अध्यादेशसम्बन्धी यही विवादका कारण मन्त्रिपरिषद विस्तार पछि सरेको छ ।

‘जसपा अध्यक्ष उपेन्द्र यादव यो अध्यादेश मन्त्रिपरिषदले फिर्ता लिनैपर्छ भन्ने लाइनमा हुनुहुन्छ, उता माधव नेपालचाहिँ अध्यादेश संसदबाट पारित हुनुपर्छ भन्ने अडानमा हुनुहुन्छ,’ गठबन्धनका एक नेताले रातोपाटीसँग भने, ‘यही विवादका कारण मन्त्रिपरिषद विस्तार फेरि पर सरेको छ ।

२. काठमाडौंमा विद्यालय खोल्न नपाइने

जिल्ला प्रशासन कार्यालय काठमाडौंले विद्यालयहरूले भौतिक उपस्थितिमा पठन पाठन गर्न नपाउने आदेश जारी गरेको छ । यदि पठन पाठन गर्नै पर्ने भएमा महानगरपालिका तथा नगरपालिकाहरुले विद्यालय सञ्चालनपूर्व आ–आफ्नो पालिकास्तरमा कोभिड–१९ संक्रमणको अवस्था विश्लेषण गर्नुपर्नेछ ।

 साथै विद्यालयमा कार्यरत शिक्षक, कर्मचारी, सवारी चालक तथा सहचालक, क्यान्टिन सञ्चालक र सञ्चालन समितिका पदाधिकारी सबैले कोरोनाविरुद्धको खोप लगाएको हुनुपर्ने प्रशासनले कात्तिक १ गतेदेखि अर्को व्यवस्था नभएसम्मका लागि जारी गरेको आदेशमा भनिएको छ ।

​३. गठबन्धन र प्रचण्डमाथि खनिए ओली

नेकपा एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ क्रमशः बिलाउँदै गएको टिप्पणी गरेका छन् ।

 एमाले जिल्ला कमिटी भेलालाई बिहीबार सम्बोधन गर्दै ओलीले नेकपा हुँदाको प्रचण्ड र अहिलेको प्रचण्डबीचको भिन्नता दाज्दै उडेको जहाज विलाए जस्तै प्रचण्ड विलाएको टिप्पणी गरे ।

माओवादीका कार्यकर्ता प्रचण्डको सेवक भन्दै ओलीले उनीहरुलाई एमालेमा फर्कन आह्वान गरेका छन् ।

यसैगरी नेकपा एमालेका नेता रामबहादुर थापा ‘बादलले तत्कालीन नेकपा एमालेका महासचिव मदन भण्डारी र जीवराज आश्रितको हत्या किन भयो भनेर प्रश्न गरे ।

प्रधानमन्त्री शेरबहादुर देउवादेखि कर्मचारीसम्मले भदौ महिनाको तलब समयमै नपाउने भएका छन् । अघिल्लो सरकारले ल्याएको अध्यादेश निष्क्रिय भएको र प्रतिस्थापन विधेयक (संशोधित बजेट) पारित तथा प्रमाणीकरण नभएकाले यस्तो स्थिति निम्तिएको हो ।

५ कोरोना अपडेट

पछिल्लो २४ घण्टामा १ हजार ५११ जना कोरोना संक्रमित थपिएका छन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १५ हजार १ सय ७९ जनामा गरिएको परीक्षण १ हजार ५११ जना संक्रमित थपिएका हुन ।  मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १ हजार ६८९ जना संक्रमित निको भएका छन् । सोही अवधिमा ११ जनाको मृत्यु भएको छ । मन्त्रालयका अनुसार हाल देशभर २५ हजार ७७२ जना सक्रिय संक्रमित रहेका छन ।

६ सेयर बजार राताम्मै

साताको अन्तिम कारोबार दिन समेत रहेको बिहीबार सेयर बजार परिसूचक नेप्से ७६ अंक बढीले घटेको छ । नेपाल स्टक एक्सचेञ्स–नेप्सेका अनुसार यस दिन परिसूचक ७६.६५ अंकले घटेर २८ सय १२.३८ विन्दुमा झरेको हो । यस्तै, यस दिन ‘क’ वर्गका ठूला कम्पनीहरुको सेन्सेटिभ इन्डेक्स समेत १२.७३ अंकले घटेर ५२५.७८ विन्दुमा झर्न पुगेको नेप्सेले जनाएको छ ।

आज सबैजसो उप समूहहरु नकारात्मक हुँदा बजार नै राताम्मे हुन पुगेको छ भने तीब्र गिरावटमा रहेको बजारमा ९ अर्ब माथिको कारोबार भएको छ । नेप्सेका अनुसार यस दिन ९ अर्ब ३ करोड ३९ लाखको कारोबार भएको छ । यस दिन सबैभन्दा बढी मनकामना स्मार्ट लघुवित्तका सेयर धनीहरुले १० प्रतिशतले कमाएका छन । यसैगरी कर्पोरेट डेभलपमेन्ट बैंकका सेयर धनीहरुले सबैभन्दा बढी ८.१७ प्रतिशतले गुमाएका छन ।

७ बैंकहरुले बढाए ब्याज

तरलता (लगानी योग्य रकम) अभावबीच वाणिज्य बैङ्कहरूले निक्षेपकर्ता आकर्षित गने गरी धमाधम निक्षेपको नयाँ ब्याजदर सार्वजनिक गर्न थालेका छन् ।

बिहीबार मात्र २५ वटा वाणिज्य बैङ्कहरूले नयाँ ब्याजदर प्रस्ताव गरेका हुन् । सरकारी दुईवटा बैङ्कहरू राष्ट्रिय वाणिज्य बैङ्क र कृषि विकास बैङ्कसँगै अन्य २३ वटा वाणिज्य बैङ्कहरूले निक्षेपमा नयाँ ब्याजदर तोकेका हुन् ।

​८ अन्योलमा एनआरएनए

१० औं विश्व सम्मेलनको तयारीमा रहेको गैरआवासीय नेपाल संघ (एनआरएनए) को निर्वाचन प्रक्रिया अन्योलमा परेको छ । संस्थापनले निर्वाचन प्रतिनिधि चयनमा धाँधली गरेको भन्दै तीनजनाले परराष्ट्र मन्त्रालयमा उजुरी दिएका आधारमा मन्त्रालयले हस्तक्षेप गरेपछि निर्वाचन प्रक्रिया नै अन्योलमा परेको छ ।

​९ डडेलधुराको चुनावबारे विवाद

पार्टी सभापति शेरबहादुर देउवाको गृह जिल्ला डडेलधुरामा वडा तहमा पुनः चुनाव हुनुपर्ने माग गर्दै रामचन्द्र पौडेल समूह सानेपा पुगेको छ।  काँग्रेसको निर्वाचन समितिलाई यसबारे ध्यानाकर्षण गराउन पौडेल महामन्त्री शशांक कोइरालालगायतका नेतासहित सानेपा पुगेका हुन् ।

सो क्रममा महादेवप्रसाद यादव नेतृत्वको निर्वाचन समितिले डडेलधुरामा पुनः चुनाव सम्भव नभएको जवाफ दिएको बताइएको छ । तर अन्य स्थानमा निष्पक्षताका सन्दर्भमा कडाइ गर्न आफूहरु प्रतिबद्ध रहेको समितिले पौडेल समूहलाई प्रतिबद्धता जनाएको छ ।

थप समाचार


 



खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप