बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

आजदेखि दशैं तिहार लक्षित सहुलियत पसल सञ्चालनमा

शुक्रबार, ०१ असोज २०७८, ०७ : ४३
शुक्रबार, ०१ असोज २०७८

सरकारले आज (शुक्रबार) देखि देशका विभिन्न स्थानमा दशैं/तिहार लक्षित सहुलियत पसल सञ्चालनमा ल्याएको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी र साल्ट ट्रेडिङ कर्पोरेशनमार्फत सरकारले देशका ८५ स्थानमा पसल सञ्चालनमा ल्याएको हो ।

सहुलियत पसलमा दैनिक उपभोग्य वस्तुहरु बिक्रीमा राखिन्छ । ती पसलमा दाल, चामल, चिनी, नून र खानेतेल लगायतका वस्तु बिक्रीमा राखिने उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले जानकारी दिएको छ ।
मन्त्रालयकी उपसचिव उर्मिला केसीले विगत वर्षमा जस्तै यो वर्ष पनि सहुलियत पसल सञ्चालन गर्न लागेको बताइन् । उनले दशैँदेखि छठसम्मको अवधिमा उपत्यकासहित देशभर सहुलियत पसल सञ्चालन हुने बताइन् ।

दशैं÷तिहारलाई लक्षित गर्दै व्यापार कम्पनीले देशभरका ४३ स्थानमा, कर्पोरेशनले ३२ र राष्ट्रिय दुग्ध विकास संस्थानले १० स्थानमा सहुलियत पसल सञ्चालनमा ल्याउने भएका हुन् । व्यापार कम्पनी, कर्पोरेशन र दुग्ध विकास संस्थानले उपत्यकामा पनि सहुलियत पसल सञ्चालन गर्नेछन् ।

आजदेखि सञ्चालनमा ल्याइएको सहुलियत पसल कात्तिक २४ गतेसम्म चल्ने उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले बताएको छ । यस बीचमा व्यापार कम्पनी र कर्पोरेशनले घुम्ती पसल समेत सञ्चालनमा ल्याउनेछन् ।

व्यापार कम्पनीकी सूचना अधिकारी शर्मिला न्यौपाने सुवेदीले काठमाडौं उपत्यकासहित देशभरका ३७ जिल्लाबाट दशैं÷तिहार लक्षित व्यापार गर्ने बताइन् । यस्तै, उनले चाडपर्व आउँदै गर्दा खाद्यान्नको मूल्यमा अचाक्ली वृद्धि रोक्न सरकारी कम्पनीमार्फत व्यापार गर्न लागिएको प्रष्ट पारिन् । उनले भनिन्, ‘सहुलियतमा सामान बिक्री गर्दा बजारमा व्यापारीको मनोमानीमा हस्तक्षेप गर्न सहयोग पुग्छ । जसले मूल्यवृद्धि रोक्न सघाउसमेत पुग्छ ।’

यस्तै, कर्पोरेशनका निर्देशक कुमार राजभण्डारीले दशैं÷तिहारमा उपभोक्तालाई सस्तोमा सामान बिक्री गर्ने लक्ष्यसहित सहुलियत पसल सञ्चालनमा ल्याउन लागेको बताए । उनले ती पसलले धेरै उपभोक्तालाई नसमेटेपनि बजार मूल्यमा हस्तक्षेप गर्न सक्ने जानकारी दिए ।

व्यापार कम्पनीले उपत्यकाका रामशाहपथ, टेकु, नख्खु, सूर्यविनायक, कलंकी, थापाथली, बनेपा र कोटेश्वर लगायतका स्थानमा सहुलियत पसल सञ्चालन गर्दै छ । यस्तै, कर्पोरेशनले कालीमाटी (२), कोटेश्वर, सतुङ्गल, जावलाखेल र भक्तपुर लगायतका स्थानमा सहुलियत र घुम्ती पसल सञ्चालन गर्ने बताएको छ । 

यसबाहेक राष्ट्रिय दुग्ध विकास संस्थानले आफ्ना उत्पादन व्यापार कम्पनी र कर्पोरेशनमार्फत बिक्री गर्ने र आफ्नै कार्यलयमार्फत समेत बिक्री गर्ने महानिर्देशक रुद्रप्रसाद पौडेलले जानकारी दिए । संस्थानले काठमाडौं उपत्यकामा तीन स्थान र उपत्यका बाहिरका ७ स्थानबाट आफ्ना उत्पादन बिक्री गर्ने महानिर्देशक पौडेलले बताए ।
कुन सामानमा कति छुट ?
सरकारले सञ्चालनमा ल्याउने सहुलियत पसलमा दैनिक अत्यावश्यक वस्तुको मूल्यमा छुट दिइन्छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय मातहतका संघ संस्था र पदाधिकारीबीच बसेको बैठकले दशैंमा छुटसहित अत्यावश्यक वस्तुको बिक्री वितरण गर्ने निर्णय गरिसकेको छ । सोहीअनुसार, व्यापार कम्पनी र कर्पोरशेनमार्फत मन्त्रालयले तोकेको छुट मूल्यसहित सामान बिक्री गर्ने बताइएको छ । यसका लागि व्यापार कम्पनी र कर्पोरेशनले आवश्यक तयारी समेत थालिसकेका छन् ।

कर्पोरेशनले नून प्रतिकिलो १८ र चिनी प्रतिकिलो ७९ रुपैयाँमा बिक्री गर्ने राजभण्डारीले रातोपाटीलाई जानकारी दिए ।

केमा कति छुट ?
वस्तु     छुट मूल्य (प्रतिकेजी-लिटर)

नून -   २ रुपैयाँ

दाल  -  ५ रुपैयाँ

चिउरा -  ५ रुपैयाँ

आटा -  ५ रुपैयाँ

तेल (तोरी)  - ५ रुपैयाँ 

तेल (सूर्यमुखी) -  ५ रुपैयाँ

चिनी -  ५ रुपैयाँ

चामल - ५ रुपैयाँ

खासी/बोका (जिउँदो) - १० रुपैयाँ

सिमी - १० रुपैयाँ

फापर  -  १० रुपैयाँ

तेल (भटमास)   -  १० रुपैयाँ

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

निकेश खत्री
निकेश खत्री

खत्री रातोपाटीका लागि आर्थिक विषयमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप