बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

सुदूरपश्चिममा सुपथ मूल्य पसल सञ्चालनबारे अन्योलता

शुक्रबार, ०१ असोज २०७८, १२ : ३३
शुक्रबार, ०१ असोज २०७८

बैतडीसहित सुदूरपश्चिम प्रदेशमा सुपथ मूल्य पसल सञ्चालनमा अन्योलता देखिएको छ । सरकारले आजदेखि दशैँ, तिहार र छठ पर्वलाई लक्षित गर्दै सुपथ मूल्य पसल सञ्चालनमा ल्याउने भने पनि यहाँ भने सञ्चालनमा आएका छैनन् । 
सुपथ मूल्य पसल सञ्चालनका लागि पत्र नआउँदा कहिलेदेखि सञ्चालनमा आउने भन्ने टुङ्गो नलागेको हो । विगत वर्षमा दशैँ, तिहार, छठलगायत चाडपर्वलाई लक्षित गरी सुदूरपश्चिमका सात स्थानमा सुपथ मूल्य पसल सञ्चालन गरिएको थियो । चाडपर्वमा सुपथ मूल्य पसलबाट उपभोक्तालाई सहुलियत दरमा खाद्य सामग्री उपलब्ध गराइँदै आएको थियो ।  

सुपथ मूल्य पसल सञ्चालनका लागि अहिलेसम्म पत्र नआएको साल्ट ट्रेडिङ कर्पोरेसन प्रदेश कार्यालय धनगढीका प्रमुख केशवप्रसाद पाण्डेले बताए । उनले भने, “कार्यादेश आएको छैन, त्यसैले कार्यान्वयन गर्न सकिएको छैन ।” सुदूरपश्चिममा सुपथ मूल्य सञ्चालनका लागि खाद्य सामग्रीसमेत नआएको उनको भनाइ छ । कर्पोरेसनले विगत वर्षमा कैलालीको धनगढीस्थित अञ्चल कार्यालय, अत्तरिया र टीकापुर, कञ्चनपुरको महेन्द्रनगर र बेलौरी, डोटीको दिपायल, डडेल्धुरा र बैतडीको पाटनमा सुपथ मूल्य पसल सञ्चालन गर्ने गरेको थियो । सुदूरको सबै ठाउँमा सुपथ मूल्य पसल सञ्चालन गर्न समस्या हुने कर्पोरेसनले जनाएको छ । 

“अनलाइन बिलिङका कारण धनगढी र अत्तरियाबाहेक अन्य स्थानमा पसल सञ्चालन गर्न समस्या छ”, पाण्डेले भने । आन्तरिक राजस्व कार्यालयले अनलाइन बिलिङ गरेर मात्र सामग्री बिक्री गर्न अनुमति दिएकाले सबै ठाउँमा जनशक्ति र उपकरण अभावले पसल सञ्चालन गर्न नसकिने उनको भनाइ छ । “अनलाइन बिलिङको समस्या भएको ठाउँमा स्थानीय तहले सहकारीमार्फत सञ्चालन गर्न सक्छ, सामग्री हामीले पठाउँछौँ,  जिल्ला प्रशासनले सिफारिस गरेको हुनुपर्छ”, पाण्डेले भने । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले आजदेखि देशभर आगामी कात्तिक २४ गतेसम्म सुपथ मूल्य पसल सञ्चालन गर्न लागेको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप