बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

भरतपुर महानगरमा काँग्रेस सभापतिका उम्मेदवार अख्तियारको निगरानीमा

शुक्रबार, ०१ असोज २०७८, १२ : ३५
शुक्रबार, ०१ असोज २०७८

 नेपाली काँग्रेस चितवनको जिल्ला समिति सदस्य तथा आसन्न अधिवेशनमा नगर सभापतिको दाबेदार मानिएका चित्रसेन अधिकारी अख्तियार दुरुपयोग अनुसन्धान आयोगको निगरानीमा परेका छन् ।
भरतपुर महानगरपालिका वडा नं २१ का अध्यक्ष अधिकारीले वडाको विकास निर्माणमा अनियमिता गरी उपभोक्ता समिति र ठेकेदारसँग रकम लिई गुणस्तरहीन काम गरेको भन्दै मंगलबार अख्तियारको टोलीले अनुगमन गरी आवश्यक कागजात जफत गरेको छ । 

आयोगको हेटौंडाबाट आएको टोलीले वडा अध्यक्ष चित्रसेन अधिकारी र उनका छोरा विवेकसेन अधिकारीको नाममा सिभिल बैंक भरतपुरको खातामा बाटो निर्माण गर्ने उपभोक्ता समितिले पहिलो पटक एक लाख ७६ हजार रुपैयाँ र दोस्रो पटक २६ हजार रुपैयाँ गरी २ लाख ३ हजार रुपैयाँ जम्मा गरेको बैंक स्टेटमेन्ट सहितको कागजात जफत गरेको छ । 

सो वडा अन्तर्गत सडक स्तरोन्नतिका क्रममा अनियमितता गरी गुणस्तरहीन काम भएको भन्दै उजुरी परेपछि सडक जनकप्रसाद नेपाल नेतृत्वमा आयोगको टोलीले आवश्यक अनुसन्धान थालेको हो ।

नेपाली काँग्रेसको आसन्न अधिवेशनमा महानगर सभापति पदमा उम्मेदवारीको तयारीमा रहेका वडाध्यक्ष अधिकारीले जनप्रतिनिधिका रुपमा गरेका काममा कैफियत देखिएपछि विभिन्न टिकाटिप्पणी भइरहेको छ ।

यस सम्बन्धमा वडा अध्यक्ष अधिकारीसँग सम्पर्क गर्न खोज्दा उनी सम्पर्कमा आउन चाहेनन् । 
अख्तियार दुरुपयोग अनुसन्धान आयोग, हेटौंडाले वडा नं २५, वडा नं ८ मा पनि यस प्रकारका अनियमितता भएको भन्दै परेका उजुरीमाथि पनि छानबिन गरिरहेको स्रोत बताउँछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप