शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

एनआरएनएमा फेरियो समीकरण, नयाँ गठबन्धन तयार हुँदै

को–को भिड्दैछन् आचार्य र केसीको प्यानलबाट ?
शुक्रबार, ०१ असोज २०७८, १३ : ००
शुक्रबार, ०१ असोज २०७८

गैरआवासीय नेपाली संघ (एनआरएनए) को नयाँ नेतृत्व चयनका लागि हुने निर्वाचनमा पुरानो समीकरण फेरिने भएको छ । संघको दशौँ विश्व सम्मेलन तथा निर्वाचनमा नेपालको परिवर्तित राजनीतिक समीकरणको प्रभाव पर्ने संकेतहरु देखिएका छन् ।

एनआरएनएको विधानमा राजनीतिक आस्थाका आधारमा प्यानल बनाएर चुनाव लड्न नपाउने व्यवस्था भए पनि राजनीतिक विचारधाराबाट प्रेरित  संघका अभियन्ताहरु नेपालमै रहेको राजनीतिक समीकरणअनुसार चुनावी अभियानमा होमिन लागेका हुन् । जसअनुसार विगतको बाम भर्सेस लोकतान्त्रिक प्रतिस्पर्धा भत्किएर बाम–लोकतान्त्रिक गठबन्धन हुन लागेको छ ।

संसदको संस्थापन समूहबाट एनआरएनएको अध्यक्षमा रसिया निवासी डा बद्री केसी भिड्दैछन् । अर्कोतर्फ गत चुनावमा थोरै मतले पराजित बनेका बेलायत निवासी कुल आचार्य अध्यक्षका प्रत्यासी रहेका छन् । अमेरिका निवासी रविना थापाले पनि अध्यक्षमा उम्मेदवारी घोषणा गरेपनि मुख्य प्रतिस्पर्धा आचार्य र केसीबीच नै हुने एनआरएनएका जानकारहरु बताउँछन् ।

विगतमा आचार्यले वामपन्थीहरूको विश्वास पाएका कुमार पन्तसँग काँग्रेसको एक्लो समर्थन लिएर प्रतिस्पर्धा गरेका थिए । यसपटक भने एनआरएनएहरुको मोर्चामा वामपन्थीहरु फुटेका छन् । 

विगतमा अध्यक्ष जितेका कुमार पन्तलाई तत्कालीन नेकपाले सघाएको थियो । उनलाई काँग्रेसको पनि एउटा समूहले सघाएको थियो । पन्त एनआरएनएको अध्यक्ष हुँदा माओवादी र एमाले मिलेर बनेको नेकपा थियो । अहिले नेकपा फुटेको अवस्था छ । पन्तको प्यानलबाट नयाँ नेतृत्वका लागि अध्यक्षका प्रत्यासी बनेका बद्री केसीसहितको टीम ओली नेतृत्वको एमालेसँग निकट रहेको बताइँदै आएको छ ।

अघिल्लो चुनावमा काँग्रेस निकटस्थहरुको पनि पूरै साथ नपाएका कुल आचार्य थोरै मतान्तरले पराजित भएका थिए । अहिले नेकपा फुटेको हुनाले माओवादी नजिकका एनआरएनएहरुसँग आचार्यको नयाँ गठबन्धन बन्न लागेको हो । त्यस्तै एकीकृत समाजवादीसँग निकट रहेका प्रवासी नेपालीहरुले पनि केसीको साटो आचार्यलाई रोज्ने दाबी संस्थापन इतर पक्षको छ । एनआरएनएमा आचार्यको नेतृत्वमा वाम–लोकतान्त्रिक गठबन्धन बनाउने प्रयास भइरहेको संघका नेताहरु बताउँछन् ।

एनआरएनएको नयाँ नेतृत्वको प्रत्यासी आचार्यले एनआरएनए राजनीतिक चेत भएको संगठन भएकाले खुलमखुला दलको भ्रातृ संगठनजसरी चुनाव हुने अवस्था नरहे पनि विचार मिल्नेहरु एक ठाउँमा हुने प्रतिक्रिया दिएका छन् ।

संघका नेताहरु कुल आचार्यको नेतृत्वमा वाम–लोकतान्त्रिक गठबन्धन बनाउने गृहकार्य भइरहेको बताउँछन्  । अघिल्लो चुनावमा बनेको समीकरणमा फेरबदल आएसँगै एनआरएनए वृत्तमा तरंग उत्पन्न भएको छ । यसबाट चुनावी भिडन्त रोचक बन्ने देखिएको छ ।

आचार्य नेतृत्वको गठबन्धनले कुमार पन्त निकट बद्री केसी नेतृत्वको टीमसँग चुनाव लड्ने छ । केसीको टिमलाई ओली नेतृत्वको नेकपा एमालेले साथ दिने संघका नेताहरु बताउँछन् ।

‘एनआरएन राजनीतिक संस्था होइन । तर, एनआरएनएमा भएका साथीहरु कुनै न कुनै विचारमा आवद्ध छन्’ माओवादीसँग निकट प्रवासी संगठनका एक नेताले भने, ‘नेपालमा पश्चगमनकारीहरुलाई जसरी काँग्रेस र वामपन्थीहरु मिलेर असफल बनायौँ, त्यसैगरी एनआरएनएमा पनि नेपाललाई माया गर्ने र परिवर्तनको पक्षमा उभिनेहरुको गठबन्धन बनाउनुपर्छ । लोकतन्त्रलाई बलियो बनाउन भूमिका निर्वाह गर्ने देश र प्रवासमा रहेको ठूलो जनमत एकै ठाउँमा उभिनुपर्छ ।’

वाम–लोकतान्त्रिक गठबन्धन बने पनि काँग्रेसकै केही व्रिदोही नेताहरु भने केसीतिरै रहने बुझिएको छ  । स्रोतका अनुसार काँग्रेस निकट भए पनि पूर्वअध्यक्ष जीवा लामिछाने, वर्तमान महासचिव हेमराज शर्मालगायतका केही एनआरएनहरु केसी समूहतिरै रहने भएका हुन् । उनीहरुबीच विगतदेखि नै व्यवसायिक साझेदारी एवं सहकार्य हुँदै आएको छ । विगतमा गठबन्धन बनाउँदा पनि उनीहरु सँगै थिए ।

उता काँग्रेस निकटस्थहरु जस्तै माओवादी नजिकका केही एनआरएनहरु पनि केसीतिर लाग्न सक्ने एक नेताले दाबी गरे । तथापि माओवादीनिकटका अधिकांश प्रवासी नेताहरु भने आचार्य नेतृत्वको गठबन्धनतिरै खुलिसकेका छन् ।

यस्तो हुन सक्छ सम्भावित ‘प्यानल’

एनआरएनएमा प्यानल बनाएर चुनाव लड्ने प्रचलन नभए पनि आन्तरिक रुपमा प्यानल बनाएर सर्कुलर गर्ने गरिएको छ । जसअनुसार आचार्यको टीमबाट उपाध्यक्षमा आरके शर्मा, त्रिलोक गुरुङ, महेश श्रेष्ठ, मन केसी सम्भावित उम्मेदवार हुन् ।

कुल आचार्यको प्यानलबाट महिला उपाध्यक्षमा जानकी गुरुङ, युवा उपाध्यक्षमा राजु रेग्मी, महासचिवमा डा केशव पौडेल, सचिवमा खगेन्द्र न्यौपाने, प्रवीण गुरुङ र नारायण आचार्यको नाम आएको छ । कोषाध्यक्षमा लोक प्रसाद दाहाल, सहकोषाध्यक्षमा रोबिन्द श्रेष्ठ (गोविन्द), महिला सहकोषाध्यक्षमा जानकी पौडेल, युवा संयोजकमा मनोज गोर्खाली, महिला संयोजकमा संगीता मरहठ्ठालगायत लड्ने गरी छलफल भए पनि अन्तिम रुप दिन केही समय लाग्ने आचार्यको प्यानलका एक नेताले बताए । यस्तै, आचार्यको प्यानलबाट क्षेत्रीय संयोजक, उपसंयोजकलगायतको धेरै नाम आएकाले अन्तिम रुप दिने क्रम जारी रहेको उनले बताए ।

त्यस्तै, बद्री केसी प्यानलबाट उपाध्यक्षमा धर्मराज अधिकारी, हेमराज शर्मा, डिबी क्षत्री, शिवकुमार बरुवालको नाम चर्चामा आएको छ ।

मध्यपूर्वबाट प्रतिनिधित्व गर्ने क्षेत्री माओवादी निकट मानिए पनि केसीकै पक्षमा रहने बताउँदै आएपछि उनलाई गठबन्धनतर्फ तान्ने प्रयास भइरहेको स्रोतले बतायो ।

केसीको प्यानलबाट महिला उपाध्यक्षमा यासिमा बेगम, महासचिवमा गौरीराज जोशी, सचिवमा चिरञ्जीवी घिमिरे, अजीव गुरुङ, रामशरण सिम्खडा, कोषाध्यक्षमा राजन त्रिपाठीलगायत चुनाव लड्ने तयारी भइरहेको स्रोतले रातोपाटीलाई बतायो ।

​आगामी अक्टोबर २० (कात्तिक ३ गते) मा एनआरएनएको नयाँ नेतृत्वको लागि चुनाव हुन लागेको  छ । चुनावी प्रक्रिया सकिएपछि अक्टोबर २३ अर्थात कात्तिक ६ देखि ८ गतेसम्म विश्व सम्मेलन हुनेछ । एनआरएनएमा अध्यक्षसहित ४२ पदका लागि निर्वाचन हुनेछ । सबै निर्वाचन प्रक्रिया भर्चुअल माध्यमबाट हुनेछ ।

तर, एनआरएनमा निर्वाचन प्रतिनिधिसम्बन्धी विवादका कारण परराष्ट्रले सम्पूर्ण निर्वाचन प्रक्रिया हाललाई रोक्न भनेकाले तोकिएको मितिमा चुनाव हुने वा नहुने भन्नेमा अन्योल कायमै छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप