बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

बेलायतले  ‘रेडलिस्ट’ मा व्यापक परिवर्तन गर्दै, सूचीबाट हट्ला त नेपाल ?

शुक्रबार, ०१ असोज २०७८, १६ : ५१
शुक्रबार, ०१ असोज २०७८

 बेलायत सरकारले लगाउँदै आएको अन्तरराष्ट्रिय यात्रा प्रतिबन्ध ‘रेडलिस्ट’ मा व्यापक परिवर्तन गरिने  भएको छ । कोरोना संक्रमणका आधारमा बेलायतले विभिन्न मुलुकलाई रेड, एम्बर र ग्रीन गरि तीनवटा श्रेणीमा विभाजन गरेको छ ।

पछिल्लो समयमा बेलायतमा कोरोना संक्रमण दर बढ्दै गएपनि हाल जारी गरिएको रेड लिस्टलाई सहज गरिने अधिकारीहरुले बताएका छन् । सरकारले एक दर्जन भन्दा बढी मुलुकलाई रेड लिस्टबाट हटाउने तयारी गरिरहेको छ । 

हाल उक्त रेड लिस्टको सूचीमा नेपालसहित  पाँच दर्जन भन्दा बढी मुलुकहरु रहेका छन् । यस्ता मुलुकबाट बेलायत आउँदा आफ्नै खर्चमा  ११ रात  तोकिएको होटल क्वारेन्टिन बस्नुपर्नेछ । होटल क्वारेन्टाइनबापत प्रतिव्यक्ति प्रति कोठा दुई हजार २८५ पाउण्ड अर्थात नेपाली रुपैयाँ तीन लाख ७२ हजार जति हुन आउँछ ।

 ११ वर्ष माथिकाले अतिरिक्त प्रतिव्यक्ति १ हजार ४३० पाउन्ड र ५ देखि ११ वर्षका बालबालिकाले अतिरिक्त ३२५ पाउन्ड तिर्नुपर्नेछ । पाँच वर्ष मुनिकालाई नि:शुल्क छ । होटल क्वारेन्टिन नियम उल्लंघन गरे १० हजार पाउन्डसम्म जरिवाना र जेल सजायको भागीदार हुनुपर्नेछ । यात्रा गर्नु तीन दिनअघि, बेलायत आइसकेपछि दोस्रो र आठौं दिनमा पीसीआर परीक्षण गरि नेगेटिभ रिजल्ट पेस गर्नुपर्नेछ । सरकारद्वारा जारी गर्न लागिएको नयाँ घोषणा अनुसार दुवै डोज खोप लगाइसकेका व्यक्तिहरुले बेलायत आइसकेपछि गरिनुपर्ने पीसीआर परीक्षणलाई खारेज गर्ने तयारी भइरहेको छ ।   

नेपाल हट्छ त रेड लिस्टबाट

बेलायतको यात्रा प्रतिबन्धको रेड लिस्टमा परेपछि नेपाल -बेलायतको यात्रा थप जटिल बनेको छ । भूपू गोर्खाहरुसहित बेलायतमा करिब डेढ लाख नेपालीहरु बसोवास गर्दै आएको  अनुमान छ ।  नेपालीका महान चाडपर्वहरू नजिकिँदै गर्दा नेपाल रेड लिस्टमा नै रहँदा सामाजिक, आर्थिक र व्यावसायिक रुपमा समेत ठूलो असर पुगेको छ । छिमेकी मुलुक भारतमा फैलिएको नयाँ भेरिएन्टका कारण भारतसँगै रेड लिस्टमा परेको नेपाल अझै यथावत नै छ।

तर, भारतलाई भने रेड लिस्टबाट हटाएर एम्बर लिस्टमा राखिएको छ, जसका कारण भारतबाट बेलायत आउने यात्रुहरु होटल क्वारेन्टिन र महँगो खर्च तिर्नुपर्ने झंजटबाट मुक्त भएका छन् । होटल क्वारेन्टाइनबापत प्रतिव्यक्ति दुई हजार २८५ पाउण्ड अर्थात नेपाली रुपैयाँ तीन लाख ७२ हजार तिरेर बेलायत आउन अपवादबाहेक थुप्रै नेपालीहरुको लागि फलामको च्यूरा चपाउनुसरह नै हुन्छ ।

तर, अध्ययनका लागि बेलायत आउने विद्यार्थीहरुका लागि भने अधिकांश विश्वविध्यालयद्वारा होटल क्वारेन्टिनबापतको रकम पचास प्रतिशतसम्म छुट दिने गरेको बेलायतस्थित हडर्सफिल्थ युनिभर्सिटीका प्राध्यापक एवं जनस्वास्थ्य विज्ञ डा. पदम सिम्खडाले बताए ।  यसबाट विद्यार्थीका लागि ठूलो राहत मिलेको उनले बताए । छिमेकी मुलुक भारतलाई रेड लिस्टबाट हटाएपछि नेपाललाई पनि हटाउनुपर्नेमा उनले जोड दिए ।

 ‘बेलायत सरकारले रेड लिस्टलाई पुनरावलोकन गर्दैछ, आगामी अक्टुबर १ तारिखबाट हाल जारी तीनवटा सूचीलाई दुईवटा सूचीमा निर्धारण गर्दै थप सहज गर्ने भएको छ, तेसबेलासम्म नेपालको बारेमा पनि बेलायत सरकारले ध्यान दिन्छ होला’ सिम्खडाले भने ।

नेपाललाई रेड लिस्टबाट हटाउन नेपाली दूतावास लन्डन लगायत स्थानीय नेपाली संघसंस्थाले पनि पहल गर्दै आएका छन् । छिमेकी मुलुक भारतलाई रातो सूचीबाट हटाइए पनि नेपाललाई अझै पनि नहटाउँदा  अव्यवहारिक भएको धेरैको ठहर छ ।

 बेलायत सरकारद्वारा आज पनि यात्रा प्रतिवन्ध सूचीमाथि पुनरावलोकन गरिँदैछ, भने आगामी अक्टोबर १ तारिखबाट अन्तरराष्ट्रिय पर्यटकको लागि थप सहज बनाउने सरकारको तयारी रहेको छ । आगामी अक्टुबर १ बाट नेपालमा लगाइएको यात्रा प्रतिवन्ध फुकुवा हुनेमा धेरै नेपालीहरु आशावादी रहेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

नरेन्द्र बस्नेत
नरेन्द्र बस्नेत
लेखकबाट थप