शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

उपेन्द्र भर्सेस महन्थ : मधेसमा को बलियो ? पत्तासाफ गर्ने दुबैको दाबी

शुक्रबार, ०१ असोज २०७८, १९ : ३७
शुक्रबार, ०१ असोज २०७८


अध्यादेश आएपछि फुटेका नेकपा एमाले र नेकपा एकीकृत समाजवादीबीच सार्वजनिक फोरमहरुमा चर्को भनाभन भइरहेको छ । तर, त्यही अध्यादेशबाट फुटेका जनता समाजवादी पार्टी (जसपा) र लोकतान्त्रिक समाजवादी (लोसपा) का नेताहरु भने कम्युनिस्टहरुजस्तो चर्चामा छैनन् । सम्भवतः सानो पार्टी भएकाले पनि जसपा र लोसपाको झगडा उत्तिसाह्रो मिडियामा नआएको हो ।

मिडियामा चर्चा नभए पनि खासगरी प्रदेश २ मा जसपा र लोसपाको झगडा ओली र माधव नेपालको भन्दा कम छैन । एकले अर्को समूहलाई पत्तासाफ हुने र क्लिन स्वीप हुनेसम्मका दाबी जसपा र लोसपाका नेताहरुले गरिरहेका छन् ।

पार्टी विभाजनपछिको स्थिति के छ भनेर रातोपाटीले सोध्दा उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टीका कार्यकारिणी सदस्य इस्तियाक राईले आगामी चुनावमा लोसपा पत्तासाफ हुने दाबी गरे ।

विभाजनको असरबारे जसपा नेता राईले रातोपाटीसँग भने, ‘स्थानीय तहमा ८० प्रतिशत प्रतिनिधि हाम्रो पक्षमा छन् । प्रदेशमा पनि हामीसँग ७५ प्रतिशत छन् भने उहाँहरुले ३० प्रतिशतमा चित्त बुझाउनु परेको छ । संघमा हामीसँग ६० प्रतिशत र उहाँहरूसँग ४० प्रतिशत छन् । लोसपाभन्दा हामी सबै ठाउँमा बलियो छौं ।

महन्थ ठाकुर नेतृत्वको लोसपाका नेता उमासंकर अरगरिया भने मधेसमा सबैभन्दा ठूलो पार्टी लोसपा नै हुने दाबी गर्छन् । ‘जसपा विभाजनको कारणले मधेसीलाई फाइदा भएको छ । किनभने जसपा कुनै मधेसवादी दल थिएन’ अरगरिया भन्छन्, पार्टी विभाजन गरेर लोसपा गठन भयो, त्यसले मधेसलाई फाइदा भएको छ । मधेसले एउटा असली पार्टी प्राप्त गरेको छ ।’

दुबै पक्षले आ–आफ्नो दाबी गरिरहँदा जसपा र लोसपाको विभाजनले मधेसलाई कस्तो असर पारेको छ भन्ने तथ्यपरक विश्लेषणहरु खासै बाहिर आउन सकेको स्थिति छैन ।

यसै सन्दर्भमा हामीले जसपा नेता इस्तियाक राई र लोसपा नेता उमाशंकर अरगरियासँग दुबै पक्षका कुराहरु सुन्नका लागि वार्ता गरेका छौं ।

पहिले जसपा नेता इस्तियाक राईको कुरा सुनौं–    

आगामी चुनावमा लोसपा ‘क्लिन स्वीप’ हुन्छ

 

 

तपाईंहरुको जनता समाजवादी पार्टी विभाजन भएको छ, त्यसले जसपालाई फाइदा भएको छ कि बेफाइदा ?

पार्टी विभाजनले फाइदा हुँदैन । पार्टी फुट्नु हुँदैनथ्यो तर केही नेताको हठका कारण विभाजन भयो । जसपा विभाजन हुँदा कसलाई फाइदा र कसलाई बेफाइदाभन्दा पनि मधेसलाई घाटा लागेको छ । मधेश जनता यसबाट निकै दुःखी छन् ।

पार्टीमा दुईचार सीट यता वा उता हुनसक्छ । तर, विभाजनले नराम्रो सन्देश गएको छ । यसले महन्थ ठाकुर र राजेन्द्र महतोलाई कुनै असर परेको छैन । किनभने उहाँहरु पार्टी विभाजनमा ख्याति प्राप्त गर्नुभएको छ ।

यसअघि पनि पार्टी विभाजनमा महन्थ र राजेन्द्रहरुको हात थियो । उहाँहरुले प्लानिङ गरेर पार्टी विभाजन गर्नुभएको थियो, जुन काम उहाँहरुले अहिले पनि गरिरहनु भएको छ । त्यसैले जसपा विभाजनले मधेसलाई असर गरेको छ ।

महन्थ र राजेन्द्र महतोहरूले मधेसको मुद्दा, अधिकार र पहिचानमाथि कुठाराघात गर्नुभएको छ । लोकतन्त्रलाई धज्जी उडाउनुभएको छ । केपी शर्मा ओलीले संसद विघटन गरेर प्रतिगामी कदम चाल्नु भएको थियो, त्यसमा उहाँहरुले पनि साथ दिनुभयो । अहिले आएर शेरबहादुर देउवालाई समर्थन गर्नुभयो । सुरुमै देउवालाई समर्थन गरेको भए आज देशमा यो अवस्था आउने थिएन तर महन्थ र राजेन्द्रका कारण देशमा यो अवस्था आएको हो । त्यसैले उहाँहरुको क्रियाकलापले गर्दा जनतालाई बेफाइदा भएको छ । 

जसपाबाट उहाँहरु निस्किँदा कति प्रतिशत नेता–कार्यकर्ता लैजानुभयो ?

प्रतिशतकै कुरा गर्ने हो भने स्थानीय तहमा ८० प्रतिशत प्रतिनिधि हाम्रो पक्षमा छन् । प्रदेशमा पनि हामीसँग ७५ प्रतिशत छन् भने उहाँहरुले ३० प्रतिशतमा चित्त बुझाउनु परेको छ । संघमा हामीसँग ६० प्रतिशत र उहाँहरूसँग ४० प्रतिशत छन् । र, फेरि पनि भन्छु, प्रतिशत वा संख्या कुनै ठुलो कुरा होइन, संघीयता, लोकतन्त्र, समावेशिता मुख्य कुरा हो । त्यसमा को प्रतिवद्ध छ, कसले बेइमानी गरिरहेको छ, त्यसलाई पनि हेर्नुपर्छ । फेरि पनि, संसदीय राजनीतिमा संख्याको पनि ठुलो महत्व हुन्छ । 

जसपाबाट अलग भएर उहाँहरुले लोसपा गठन गरिसक्नु भएको छ । संगठनात्मक रुपमा तपाईहरु कुन प्रदेश, जिल्ला, स्थानीय तहमा सबैभन्दा बलियो हुनुहुन्छ ?

लोसपाभन्दा हामी सबै ठाउँमा बलियो नै छौं । प्रदेशको कुरा गर्ने हो भने उनीहरु सातै प्रदेशमा शून्य छन् । लुम्बिनीमा लोसपा शून्य छ, १ नम्बर प्रदेशमा शून्य छ । प्रदेश २ मा अलिअलि उहाँहरुको उपस्थिति छ । तर, प्रदेश २ मा पनि जसपालाई टप्न सकेको अवस्था छैन । जसपाभन्दा लोसपा धेरै पछाडि छ । 

निकट भविष्यमा चुनाव आइरहेको छ, त्यो चुनावमा खासगरी तराई मधेसमा तपाईंहरुको प्रतिस्पर्धा लोसपासँग नै हुन्छ, होइन ?

अबको चुनावमा लोसपा ‘क्लिन स्वीप’ नै हुन्छ । चुनावमा पनि यो पाँच दलीय गठबन्धन कायम रहन्छ । गठबन्धन दलहरु सँगै मिलेर चुनावमा जाने कुराकानी भइरहेको छ । त्यस अवस्थामा लोसपा धेरै पछाडि पर्छ । लोसपासँग न कुनै प्रतिस्पर्धा हुन्छ न त प्रतिस्पर्धा हुने अवस्था नै छ । चुनावमा प्रतिगमनकारी शक्तिहरूको बीचमा पनि गठबन्धन होस् । चुनावमा एउटा अग्रगमनकारी गठबन्धन हुन्छ भने अर्को प्रतिगमनकारी गठबन्धन हुन्छ । 

यसको मतलव, जसपा विभाजनले तपाईहरुलाई फाइदा नै भएको छ, तत्कालीन समाजवादी पार्टीभन्दा बढी संख्या तीनवटै तहमा भएको छ, यो त फाइदा नै भयो नि, होइन ?

यसलाई फाइदा भनिँदैन । संख्या ठूलो कुरा होइन, मुद्दा ठूलो कुरा हो । लोसपावालाले मुद्दा समाप्त गरेको छ । प्रतिगमनलाई साथ दिएको छ । संसदजस्तो गरिमामय संस्थालाई विघटनमा सहयोग पु¥याएको छ । यसले गर्दा मैले अघि पनि भनेको थिएँ कि संख्या ठुलो कुरा होइन, मुद्दा ठुलो कुरा हो ।   

अब लोसपा नेता उमाशंकर अरगरियासँगको कुराकानीः 

पार्टी फुट्दा मधेस खुशी छ, लोसपा मधेसको ठूलो पार्टी बन्छ

 

जसपाबाट विभाजन हुँदा तपाईहरुलाई फाइदा भयो कि बेफाइदा ?

जसपा विभाजनको कारणले मधेसीलाई फाइदा भएको छ । किनभने जसपा कुनै मधेसवादी दल थिएन । जसपा आफूलाई राष्ट्रिय पार्टी भन्थ्यो । त्यो पार्टीमा डा.बाबुराम भट्टराई, राजेन्द्र श्रेष्ठ, अशोक राई, गंगा श्रेष्ठ, डम्बर चेम्जोङलगायतका नेताहरुको हालीमुहाली छ । त्यो मधेसको हितमा गठन नै भएको थिएन । त्यसैले त्यो पार्टी विभाजन गरेर लोसपा गठन भयो, त्यसले मधेसलाई फाइदा भएको छ ।

मधेसले एउटा असली पार्टी प्राप्त गरेको छ । मधेसको हकहितमा बोल्ने पार्टी प्राप्त गरेकोे छ । हाम्रो लडाई यो देशका खस आर्यसँग छ । काँग्रेस, माओवादी केन्द्र, एमालेमा खस आर्यको बाहुल्यता त छ नै, जो दल आफूलाई तथाकथित मधेसवादी दल भन्थ्यो, त्यो दलमा पनि खस आर्यको बाहुल्यता छ । त्यो दलले मधेसको कल्याण हुन सक्दैन । जसपाबाट अलग भएर लोसपा गठन भएपछि मधेस धेरै नै खुशी छ ।

तपाईहरु जसपाबाट अलग भएर लोसपा नेपाल गठन गर्दा कति प्रतिशत कार्यकर्ता, नेता तान्न सफल हुनुभयो ?

हेर्नुस्, संख्या वा प्रतिशतले कुनै ठुलो अर्थ राख्दैन । राम्रो उद्देश्यले हिँड्दा बाटोमा कोही राम्रो मान्छे पनि भेटिन्छन्, कोही नराम्रो पनि भेटिन्छन् । ट्रेनमा हिँड्दा कोही मान्छे चढिरहेका हुन्छन्, कोही ओर्लिरहेका हुन्छन् ।

 कुनै प्लेटफर्ममा ट्रेन पूरै खाली हुन्छ भने कुनैमा कोही पनि ओर्लिदैन । यो आवश्यकता र परिस्थितिले भइरहने चिज हो । आज कसैसँग अलि बढी प्रतिशत होला, भोलि अरु कसैसँग हुनुसक्छ । त्यो ठुलो कुरा होइन । मुख्य कुरा, एजेण्डा र लगाव हो ।

जसपाका उपेन्द्र यादवसँग दुई÷चार जना बढी नेता होलान् तर मधेसी जनता उहाँसँग छैनन् । विभिन्न लोभ, लालच दिएर नेताहरुलाई आफ्नोतिर तान्न सफल हुनुभयो तर आम जनतालाई तान्न सक्नुभएको छैन । ती जनता हामीसँग छन् । आउने दिनमा मधेसमा अब दुईटा पार्टीमात्र रहन्छ । एउटा हाम्रो लोसपा र अर्को सिके राउत नेतृत्वको जनमत पार्टीमात्र मधेसमा रहन्छ । जसपा खस आर्यको पार्टी भइसक्यो । उसले मधेसको पार्टी हो भनेर दाबी गर्न मिल्दैन ।

अहिले तपाईंहरुको पार्टी लोसपा कुन जिल्ला वा प्रदेश सबभन्दा बलियो छ ?

म जहाँ जान्छु, त्यहाँ लोसपा नै बलियो देख्छु । एक÷दुईटा ठाउँमा कतै जसपा बढी होला । प्रतिनिधिमुलक संख्या उहाँहरुसँग बढी होला तर मास हामीसँग छ । म अस्ति पश्चिम मधेस गएको थिएँ । त्यहाँ पनि लोसपा बलियो नै देखेँ । प्रदेश २ मा उपेन्द्र यादवको सरकारले स्थानीय प्रतिनिधि र प्रदेश सांसदलाई विभिन्न लोभ दिएर पार्टीमा ल्याएको छ । तैपनि लोसपा कमजोर छैन । प्रत्येक जिल्ला लोसपामय भएको छ ।

 निकट भविष्यमै चुनाव आइरहेको छ । त्यो चुनावमा जसपा बलियो हुन्छ कि लोसपा ?

अरु ठाउँ त भन्न सक्दिनँ, तर मधेसमा लोसपा बलियो हुने निश्चित छ । जसपा राष्ट्रिय पार्टी हो, त्यसमा अधिकांश नेता पहाडी समुदायका छन् । हिमाल, पहाडमा पनि संगठन बनाएको भनिन्छ । उतातिर के हुन्छ थाहा छैन । तर, मधेसमा यसपालि जसपाको पत्ता साफ हुने निश्चित छ । अहिले विभिन्न प्रलोभन दिएर नेता तथा कार्यकर्तालाई पार्टीमा भेला पारेका छन् । जब ती प्रलोभन अनुसारका कुराहरु पाउँदैनन्, अनि ती नेताहरु लोसपामा नै फर्किन्छन् । मधेसमा सबभन्दा ठूलो पार्टी लोसपा नै हुनेछ ।

कसरी ?

–लोसपासँग एजेण्डा छ, लोसपासँग मुद्दा छ, लोसपासँग विचार छ, लोसपासँग कार्यकर्ता छन् । लोसपाले मधेसको माग पूरा गराएको छ र बाँकी माग पनि पूरा गराउन प्रतिवद्ध छ । लोसपाले मधेसी जनतालाई धोका दिएको छैन ।

त्यही भएर अगामी चुनावमा मधेसमा लोसपा सबभन्दा ठूलो पार्टी बनेर देखाइदिन्छ । मधेसका जनताले मधेसमा एकता चाहेका थिए । तर उपेन्द्र यादवले त्यो एकता चाहनु भएन, आफ्नो दम्भ र हठका कारण जसपा विभाजन गर्नुभयो । जनतालाई सबै थाहा छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप