शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

रातोपाटी ब्रिफिङ : सुदूरपश्चिममा माधवको पार्टी सरकारमा, केन्द्रमा पनि एक साताभित्र विस्तार !

शुक्रबार, ०१ असोज २०७८, २१ : ०२
शुक्रबार, ०१ असोज २०७८

आज मिति २०७८ साल असोज महिनाको १ गते । आज दिनभर देशभर भएका मुख्यमुख्य घटनाक्रम रातोपाटीको नियमित बुलेटिन ‘सन्ध्याकालीन ब्रिफिङ’ मा प्रस्तुत गरेका छौँ–

आजको मुख्य समाचारमा सुदूरपश्चिममा माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी पार्टी सरकारमा, केन्द्रमा पनि एकसाताभित्र मन्त्रिपरिषद् विस्तारको हुनेसम्बन्धी समाचार, महाधिवेशनबारे देउवाको चासो, उपत्यकामा अधिकांशलाई खोप लगाइएको, ८५ स्थानमा सहुलियत पसल सञ्चालन भएको, कोरोनाको नियमित अपडेटलगायत रहेका छन् ।

१. प्रदेशमा माधव नेपालको सरकारमा इन्ट्री

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले थप दुई मन्त्री नियुक्त गरेका छन् । शुक्रबार मुख्यमन्त्री भट्टले माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीका दुईजना सांसदलाई मन्त्री नियुक्त गरेका हुन् । मुख्यमन्त्री भट्टले एकीकृत समाजवादीका तारा लामा तामाङलाई आर्थिक मामिला मन्त्री र माया तामाङ बोहोरालाई अर्थ राज्यमन्त्री नियुक्त गरेका हुन् ।

​२. काँग्रेस नेताहरु महाधिवेशन केन्द्रीत छलफलमा

नेपाली काँग्रेसका शीर्ष नेताहरुले १४ औं महाधिवेशन सम्बन्धी छलफललाई तीव्रता दिएका छन् । बालुवाटारमा प्रधानमन्त्री तथा काँग्रेस सभापति शेरबहादुर देउवासँग नेताहरुले छलफल गरेका छन् ।

​३. एक साताभित्र मन्त्रिपरिषद् विस्तारको दावी

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले अबको एक हप्ताभित्र मन्त्रीपरिषद् बिस्तार हुने बताएका छन् ।

बानेश्वरको आलोकनगरमा पार्टीको केन्द्रिय कार्यालय उद्घाटनपछि अध्यक्ष नेपालले अबको एक हप्ता भित्रमा मन्त्रिपरिषद्ले पूर्णता पाउने बताएका हुन् ।

आज कालीगढले विश्वकर्माको पूजाआजा गरी विश्वकर्मा दिवस मनाएका छन् ।  । विभिन्न कलकारखानामा विश्वकर्मा भगवान्को बालुवाको मूर्ति वा तस्वीरमा विधिपूर्वक पूजा आराधना गरी यो पर्व मनाउने गरिन्छ । कलकारखानालाई विशेष रुपमा सजाएर मजदूरलाई समेत सहभागी गराएर यो दिवस मनाइन्छ । आज फलामबाट बनेका सामग्री तथा गाडीहरूको पूजा पनि गरिन्छ ।

५. सीके राउतको पार्टीमा कडा नियम

सीके राउत नेतृत्वको जनमत पार्टीले कर्मचारी वर्गलाई केन्द्रीय कार्यकारिणी समितिमा नराख्ने भएको छ । जागिरे नेतालाई राजीनामा दिन वा आगामी निर्वाचनसम्म बिदामा बस्न निर्देशन दिइएको छ । जनकपुरमा तीन दिनसम्म बसेको केन्द्रीय समितिको विस्तारित बैठकले जागिरदार रहेका केन्द्रीय कार्यकारिणी समितिका सदस्यलाई असोज २६ गतेभित्र राजीनामा दिन निर्देशन दिएको हो ।

६. १५ सय बढीमा कोरोना पुष्टि

कोरोनाभाइरसबाट पछिल्लो २४ घण्टामा देशभर १ हजार ५५८ जनामा संक्रमण पुष्टि भएको छ । सोही अवधिमा १० जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार बितेको २४ घण्टामा १ हजार ३५१ जना संक्रमणमुक्त भएका छन । हालसम्म मृतकको कुल संख्या ११ हजार १२ पुगेको पनि मन्त्रालयले जनाएको छ ।

यस्तै हालसम्म कोरोना संक्रमितको संख्या पीसीआर विधिबाट भएको परीक्षणमा ७ लाख ८३ हजार ७५ जना र एन्टिजेन विधिबाट भएको परीक्षणमा ८८ हजार ६५९ जना पुगेको छ । संक्रमितमध्ये हालसम्म ७ लाख ४६ हजार ५६६ जना निको भएका छन । हाल देशभर २५ हजार ४९७ जना सक्रिय संक्रमित रहेका छन ।

​७. काठमाडौँ खोप लगाउनेहरु बढ्दै

कोरोना भाइरसविरुद्धको खोप उपत्यकामा अधिकांशले लगाइसकेका छन । यो खोप उपत्यकामा पहिलो मात्रा ४४.३३ प्रतिशत र पूर्ण मात्राको खोप ४० प्रतिशतले लगाएको तथ्याङ्कले देखाएको छ ।  काठमाडौं उपत्यकामा १५ लाख ५५ हजार ८ सय ९५ जनाले पहिलो मात्रा र ११ लाख ७१ हजार ४ सय २० जनाले पूर्ण मात्राको खोप लगाइसकेका छन ।

​८. सहुलियत पसल सञ्चालनमा आयो

सरकारले शुक्रवारदेखि देशका विभिन्न स्थानमा सहुलियत पसल सञ्चालनमा ल्याएको छ ।  नेपालीहरुको महान चाड बडा दशैँ र तिहारलाई लक्षित गरेर सरकारले खाद्य व्यवस्था तथा व्यापार कम्पनी र साल्ट ट्रेडिङ कर्पोरेशन मार्फत् देशका ८५ स्थानमा सहुलियत पसल सञ्चालनमा ल्याएको हो ।

९. अग्रिम टिकट खुलाइने

सरकारले दशैँ, तिहार, छठ लगायत चाडपर्वमा घर जान चाहने नागरिकलाई लक्षित गरी यही १० र ११ गतेदेखि अग्रिम टिकट खुलाउने भएको छ । यही असोज २१ गते घटस्थापना भन्दा १० र ११ दिन पहिल्यै टिकट खुलाउने गरी छलफल भइरहेको छ । यातायात व्यवस्था विभागले प्रत्येक वर्ष यातायात व्यवसायीसँग  समन्वय गरी अग्रिम टिकट खुलाउने गर्दै आएको छ ।

​१०. र, यो पनि

नेकपा (एमाले)का स्थायी कमिटी सदस्य प्रदीपकुमार ज्ञवालीले आफूहरुको सहयोगबिना संसदबाट एमसीसी पास गर्न चुनौती दिएका छन् ।

नेकपा माओवादी केन्द्रका स्थायी समिति सदस्य तथा अर्थमन्त्री जनार्दन शर्माले पार्टीका हरेक तहका कमिटीहरूमा कार्यकर्ताले नेता छान्न पाउने विधि लागू गर्नुपर्ने बताएका छन् ।

बेलायत सरकारले लगाउँदै आएको अन्तरराष्ट्रिय यात्रा प्रतिबन्ध ‘रेडलिस्ट’ मा व्यापक परिवर्तन गरिने  भएको छ । कोरोना संक्रमणका आधारमा बेलायतले विभिन्न मुलुकलाई रेड, एम्बर र ग्रीन गरि तीनवटा श्रेणीमा विभाजन गरेको छ ।


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप