बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

काँग्रेसको अधिवेशन : लुम्बिनी प्रदेशका ४ उपमहानगरमा यी हुन् सभापतिका आकांक्षी

शनिबार, ०२ असोज २०७८, ०९ : २४
शनिबार, ०२ असोज २०७८

 

नेपाली काँग्रेसको आसन्न १४ औं महाधिवेशन अन्तर्गत वडा अधिवेशन सकिएसँगै नगर अधिवेशनका  लागि चुनावी सरगर्मी बढेको छ । भदौ २७ गतेका लागि निर्धारित गाउँ–नगरपालिका अधिवेशन असोज ९ गतेका लागि प्रस्ताव गरिएसँगै नगरसभापतिको लागि प्रतिस्पर्धा सुरु भएको छ । वडा अधिवेशन सकिएसँगै नगरसभापतिका दाबेदारहरु माहोल आफ्नो पक्षमा पार्न भेटघाट तथा छलफलमा जुटेका छन् । केहीले सम्पर्क कार्यालय खोल्ने र सामाजिक सञ्जालबाट समेत आफ्नो उम्मेदवारी घोषणा गरेका छन् ।

वडाबाट क्षेत्रीय प्रतिनिधिमा निर्वाचित भएपछि मात्र काँग्रेसको नगरसभापतिको उम्मेदवार बन्न पाइने व्यवस्था विधानमा छ । त्यसैले पनि लुम्बिनी प्रदेशका ४ उपमहानगपालिका बुटवल, नेपालगञ्ज, तुलसीपुर र घोराहीमा सभापतिका आकांक्षीहरु आ–आफ्नो ढङ्गबाट अहिले लबिङ गर्ने तथा भेटघाटलाई तीव्रता दिइरहेको पाइन्छ ।

काँग्रेसका सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल गरी मुख्यतया दुई समूहले यी उपमहानगरपालिकामा आफ्ना पक्षका उम्मेदवारलाई जिताउन सक्दो प्रयास गरिरहेको काँग्रेसका स्थानीय नेताहरु बताउँछन् ।

बुटवल सभापतिमा पौडेल पक्षका आकांक्षी धेरै

बुटवल उपमहानगरपालिका गृहमन्त्री बालकृष्ण खाणको गृह जिल्लामा पर्दछ । उनी सभापति देउवाका निकट मानिन्छन् । तर यो उपमहानगरपालिकामा यसपटक देउवा समूहका भन्दा पौडेल समूहका सभापतिका आकांक्षी धेरै छन् । उपमहानगर सभापतिमा देउवा समूहका एक जनाको नाम चर्चामा रहँदा पौडेल समूहका आधा दर्जन आकांक्षी देखिएका छन् ।

वर्तमान सभापति खेलराज पाण्डेयले क्षेत्र या जिल्लातिर आफ्नो सुनिश्चितता नभए फेरि नगरसभापति दोहो¥याउने मनसाय राखेका छन् । पौडेल समूहका पाण्डेयले अहिले आफ्नो समूह अन्य आकांक्षीलाई स्वतन्त्र ढङ्गले तयारी गर्न छुट दिएका छन् । सोही अनुसार पौडेल समूहबाट नगरसभापतिमा हालका उपसभापति विमलराज भट्टराई, नेपाल  विद्यार्थी संघका पूर्व केन्द्रीय उपसभापति प्रकाश राना, नगर  सचिव  ज्योति भण्डारी, हालका क्षेत्रीय सचिव जोगबहादुर केसी लगायतले सभापति पदका लागि दाबी गरेका छन् ।

उता देउवा पक्षबाट महिला नेतृ रिता केसी आंकाक्षी देखिएकी छन् । १३ औं महाधिवेशनमा सभापतिमा पराजय भोगेका युवा नेता प्रजापाल गिरी चुनावी मैदानमा आफ्नै  ढङ्गले तयारी गर्दैछन् । उनी विगतमा सिटौला समूहबाट मैदानमा उत्रिएका थिए । अहिले भने देउवा पक्षले अन्तिम अवस्थामा उनलाई समर्थन गर्न सक्ने चर्चा पनि चलिरहेको छ ।

यस्तो हुँदा अन्तिममा सभापतिका लागि वर्तमान उपसभापति विमलराज भट्टराई र गिरीबीच नै प्रतिस्पर्धा हुने काँग्रेसका जिल्ला नेताहरू बताउँछन् ।

बुटवलमा पौडेल समूह बलियो छ । त्यसकारण सिटौला र देउवा समूहले पनि सम्पूर्ण शक्ति प्रयोग गरेर गिरीलाई जिताउन भूमिका निर्वाह गर्ने अड्कलबाजी भइरहेको छ । पौडेल पक्षले भट्टराईलाई सभापति बनाएर आफ्नो बर्चस्व जोगाउने रणनीति बनाएको धेरैको बुझाइ छ । भट्टराईलाई महामन्त्री शशांक कोइरालाले पनि साथ दिँदै आएका छन् ।

बुटवलमा नेपाली काँग्रेसका ५ हजार ५७० क्रियाशील सदस्य छन् भने क्षेत्रीय प्रतिनिधि ७५० जना छन् ।

नेपालगञ्जमा यस्तो छ सरगर्मी

बाँकेको नेपालगञ्ज काँग्रेसका तत्कालीन सभापति स्व.सुशील कोइरालाको गृहनगर पनि हो । तर उनको जिल्लामा अहिलेसम्म पार्टीको क्रियाशील सदस्यता विवाद नटुङ्गिएका कारण नगरअधिवेशन पनि तोकिएको मिति अर्थात् असोज ९ गते हुनेमा अन्योल नै छ ।

क्रियाशील सदस्यता सूची नआएका कारण वडाबाट चुनिएर आउने क्षेत्रीय प्रतिनिधिहरु अझैसम्म चयन भएको छैन ।

नेपालगञ्जका नगरसभापति प्रशान्त विष्टले असोज ५ गते वडा अधिवेशन गर्न पार्टीले तोके पनि अझैसम्म क्रियाशील सदस्यता सूची नआउँदा अन्यौल बढेको रातोपाटीलाई बताए । तर उनले नगरसभापतिका लागि पनि आकांक्षीहरुले आफ्नै ढङ्गले तयारी गरिरहेको जानकारी दिए ।

नेपालगञ्जमा हालका नगर सभापति प्रशान्त विष्ट, नेपालगञ्ज उपमहानगरपालिकाका उपप्रमुख उमा थापा मगर र तरुण दल जिल्ला सचिव विनोद रिजाल सभापतिका दाबेदार छन् ।

उपप्रमुख थापा कोइराला परिवारसँग निकट मानिन्छिन् भने रिजाल र विष्ट देउवा समूहका हुन् । चर्चामा तीन जनाको नाम आए पनि अन्ततः विष्ट र थापाको प्रतिस्पर्धा हुुने आँकलन कार्यकर्ताहरुले गरेका छन् ।

विष्ट दुुई कार्यकाल नेतृत्वमा रहेकाले अब आफूले सभापति पाउनुपर्ने थापा बताउँछिन् । तर, विष्टले नगरसभापति भन्दा माथि चाहेजस्तो पद पाउने नदेखिए फेरि दोहोरिने इच्छा व्यक्त गर्दै पार्टीभित्र सोही अनुसार तयारी गरेका छन् ।

नेपालगञ्जमा १३ औं महाधिवेशनमा १३ सय  क्रियाशील सदस्य रहे पनि अहिले ३ हजार हाराहारीमा सदस्य हुनसक्ने सभापति  विष्टले बताए । यद्यपि अन्तिम सू्ची आइसकेको छैन ।

घोराहीमा दुई जनाको चर्चा

दाङ जिल्लामा दुईवटा उपमहानगर समिति छन् । प्रदेशका अन्य जिल्लाको तुलनामा दाङमा नेपाली काँग्रेसको पकड राम्रो मानिन्छ । घोराही र लमहीमा नगर अधिवेशनका लागि कार्यकर्ताहरु तयारीमा जुटेका छन् ।

घोराही उपमहानगरपालिकामा काँग्रेस सभापतिका लागि तीन जनाको नाम चर्चामा छ । पौडेल पक्षबाट घोराही–१५ का वडाध्यक्ष रमेश पाण्डे सभापतिका आकांक्षी देखिएका छन् । नेविसंघको राजनीतिबाट आएका दीपक पाण्डे  र  तिलक रावत पनि सभापतिका दाबेदार हुन् । दीपक पाण्डे क्षेत्रतिर गएर अन्त्यमा रावत र रमेश पाण्डेबीच नगर सभापतिका लागि भिडन्त हुने स्थानीय कार्यकर्ता बताउँछन् । दीपक र रावत भने देउवा पक्षका हुन् ।

तुलसीपुरमा तीन जना आकांक्षी

दाङको तुलसीपुर नगर सभापतिमा तीन जनाको नाम चर्चामा छ । भावी नेतृत्वका लागि सुरेश हमाल, अनिल कार्की र शोभाकर सापकोटा आकांक्षी देखिएका छन् ।

सभापतिका आकांक्षी हमाल र सापकोटालाई पौडेल पक्षका भनेर चिनिन्छ भने अनिल कार्की भने देउवा समूहका हुन् ।

मेयरको टिकट पाउन सभापतिमा जोडबल

नगर सभापतिले स्थानीय तहको निर्वाचनमा मेयरको उम्मेदवारी पाउने सम्भावना बढ्ने भएकाले नै कतिपयले नगरसभापतिका लागि जोडबल गरेका छन् ।

नेपालगञ्ज उपमहानगर सभापतिमा दाबी गरेकी उमा थापा मगरले सके आफूले मेयरको टिकट पाउने, नसके पार्टीले टिकट दिएका व्यक्तिलाई जिताउने जिम्मेवारी बोक्न सभापतिमा दाबी गरेको रातोपाटीलाई बताइन् ।

अहिले संगठन कमजोर भएका कारण नगरपालिकाका कामको पनि जस पाउन कठिन हुने अवस्था रहेको भन्दै उनले पार्टीलाई बलियो बनाउँदै कार्यकारी पोष्टमा महिला पुग्दा काम गर्न सक्ने सन्देश दिन पनि आफूले सभापतिका दाबी गरेको बताइन् ।

सभापतिका अर्का दाबेदार प्रशान्त विष्टले पनि  स्वाभाविक रुपमा नगरसभापति नै मेयरको आकांक्षी बन्ने बताए । तर आफूले टिकट नपाए पनि पार्टीले टिकट दिएका उम्मेदवारलाई जिताउने जिम्मेवारी नगरसभापतिको हुने उनी बताउँछन् ।

बुटवल उपमहानगर समितिका सभापति खेलराज पाण्डेय यसअघिको चुनावमा  एमालेसँग मेयरमा पराजित भएका थिए ।

अब आउने स्थानीय निर्वाचनमा उनी काँग्रेसबाट मेयरको प्रवल दाबेदार पनि हुन् । नगरसभापतिभन्दा माथिको जिम्मेवारी पाए जाने अन्यथा आफू फेरि नगरसभापति मै जिम्मेवारी लिन इच्छुक रहेको उनको भनाइ छ । उपसभापति विमलराज भट्टराई पनि मेयरको टिकट पाउने व्यक्तिलाई जिताउने जिम्मेवारी नगर सभापतिको हुने बताउँछन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

तेजेन्द्र के.सी.
तेजेन्द्र के.सी.

केसी रातोपाटीका प्रदेश नम्बर ५ का संयोजक हुन् । 

लेखकबाट थप