अन्तरवार्ता

‘माओवादीलाई पहिलो बन्न कसैले रोक्न सक्दैन’

विचार र सिद्धान्तप्रति प्रतिबद्ध भएकाले रूपान्तरण सम्भव छ : देवेन्द्र पौडेल

person explore access_timeअसोज २, २०७८ chat_bubble_outline0

 नेकपा माओवादी केन्द्रले पार्टी पुनर्निर्माण र रूपान्तरण गर्दै अघि बढ्ने सङ्कल्प गरेको छ । त्यसका लागि आफ्ना पार्टी संरचनालाई चलायमान बनाउनुका साथै जनतासँग प्रत्यक्ष जोडिने तथा कार्यशैली र व्यवहारमा फरक ल्याउने माओवादीका नेताहरू बताउने गर्छन् । तर, यसैबेला माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भने पार्टीको भविष्यलाई लिएर गम्भीर र चिन्ताजनक अभिव्यक्तिहरू पनि दिने गरेका छन् ।

कहिले क्रान्ति त कहिले माओवादी विघटनको कुरा गर्ने प्रचण्डले किन यस्ता भावुक अभिव्यक्ति दिँदैछन् ? यस्तै प्रश्नको जवाफ खोज्न रातोपाटीले माओवादी स्थायी समिति सदस्यसमेत रहेका नेता देवेन्द्र पौडेललाई सोधेको छ– के माओवादी साँच्चै पुनर्निर्माण र रूपान्तरण हुन लागेको हो ?

प्रस्तुत छ नेता पौडेलसँगको छोटो कुराकानी :

नेकपा माओवादी केन्द्रका गतिविधि शून्यजस्तै देखिन्छन्, खासमा अहिले माओवादी पार्टी के गर्दैछ ?

अहिले फेरि एकपटक नेपालको इतिहासमा हाम्रो पार्टीले जनताको पक्षमा हिजो गरेका जनयुद्ध, जनआन्दोलन, श्रमजीवी क्षेत्र, वर्ग, लिङ्ग र समुदायको पक्षमा गरेका प्रयास, प्रतिबद्धता र आन्दोलनलाई जगाउँदै, कार्यकर्तालाई जनतासँग सहकार्य गर्दै उनीहरूको समृद्धिका लागि जनताकै सहकार्यमार्फत मात्र सम्भव हुन्छ भनेर हामी त्यही उद्देश्यका साथ अघि बढ्ने निर्णय गर्दै त्यसअनुसारका कार्यक्रम अघि सारेका छौँ । माओवादीका गतिविधि शून्य छन् भन्ने कुरामा कुनै सत्यता छैन ।

माओवादी केन्द्रको पुनर्निर्माण र रूपान्तरण गर्ने भनिएको छ । कसरी हुन्छ पार्टी पुनर्निर्माण र रूपान्तरण ? त्यसका आधार केके देख्नुहुन्छ ?

माओवादीले नेपाली जनताको परिवर्तनका लागि जे जति मुद्दाहरू अघि सारेको थियो, अहिले पनि तिनै मुद्दाको वरिपरि मुलुक चलिरहेको छ । सङ्घीयता, समावेशिता, धर्मनिरपेक्षता हुँदै प्राप्त भएको गणतन्त्र माओवादीले उठाएका मुद्दा हुन् । ती केही हदसम्म कार्यान्वयन भएका छन् भने केही कार्यान्वयनको चरणमा छन् ।

त्यही कारण मुलुकमा प्रादेशिक संरचनासहित तीन तहका सरकार बनेका छन् । पछि अरू पार्टीहरू पनि आए तर मूलतः यो परिकल्पना गर्ने पार्टी माओवादी नै हो । त्यसकारण हामी यो विचार र सिद्धान्तप्रति प्रतिवद्धसमेत भएकाले फेरि एकपटक नयाँ शिराबाट स्थापित गरेर अघि बढ्न सक्छौँ, पहिलो आधार त्यही हो ।

हामीले प्रष्ट रूपमा संविधानमा समाजवाद भनेका छौँ । समाजवाद प्रणाली भनेको अमूर्त र खाली शब्दमा भन्ने मात्रै होइन । हामीले भनेको समाजवाद जनताका माग पूरा गर्ने, श्रमिक, उत्पीडित, मजदुर वर्गको हित गर्ने प्रवृत्तिको समाजवाद नेपालमा चाहिएको छ । त्यो समाजवाद ल्याउनका लागि अर्को क्रान्ति, अर्को अभियान र अर्को सङ्कल्पको पनि आवश्यकता छ । यस्तो सङ्कल्प गर्न अरू पार्टीको तुलनामा माओवादी केन्द्रले अगुवाइ मात्रै गर्नसक्छ । दोस्रो आधार यो हो ।

तेस्रो आधार भनेको कार्यक्रम र नेतृत्व हो । कार्यक्रम हामीले अघि बढाउँदैछौँ । नेतृत्वको हिसाबले पनि कमरेड प्रचण्ड आलोचना, विरोध, सहमति र असहमतिका बाबजुद पनि निरन्तर हिजो आफूले ल्याएका एजेन्डालाई नेपाली राजनीतिमा कार्यान्वयन गर्न सक्रिय भएकाले फेरि एकपटक यो पार्टी प्रचण्डकै नेतृत्वमा गोलबद्ध भएर छुटपुट भएका तर मुद्दा र एजेन्डा मिल्ने पार्टीहरूसँग समेत एकीकरण गर्दै अघि बढ्ने निर्विकल्प नेतृत्व भएकाले तपाईंले भनेजस्तै तीन आधार प्रस्तुत गरेका छौँ । यी आधारका कारण माओवादी केन्द्र पुनः रूपान्तरण र पुनर्निर्माण हुँदै अघि बढ्ने कुरामा प्रस्ट छ ।

अब माओवादी केन्द्र पुनर्निर्माण र रूपान्तरण हुन सकेन भने विघटन गर्नुको विकल्प छैन भनेर अध्यक्ष प्रचण्डले समेत पटक पटक भन्दै आउनुभएको छ । माओवादी केन्द्र विघटन नै हुने यति कमजोर धरातलमा पुगिसकेको हो ?

यो कुरा अध्यक्ष कमरेडले एउटा प्रसङ्गमा भन्नुभएको हो । मूलतः एमाले काँग्रेसको जस्तै प्रकृति, संस्कार, शैली, तरिका, बान्की हुने हो भने अर्को पार्टीको आवश्यकता छैन भनेको हो । माओवादी केन्द्र भनेको फरक विचार, सोच, दृष्टिकोण, शैली र समर्पण भएको पार्टी हो र यसलाई त्यसैगरी चलाउनुपर्छ भनेर उहाँले भनेको हो । माओवादी पनि काँग्रेस एमाले जस्तै हुने हो भने किन फरक पार्टी चहियो र भनेर उहाँले बोल्नुभएको हो । त्यसकारण माओवादी भनेको अरू पार्टीभन्दा फरक प्रवृत्ति, समर्पण र त्यागसहितको हुनुपर्छ भन्ने अर्थमा भनिएको हो । त्यो साँचो पनि हो । किनभने माओवादी पनि उस्तैखालको पार्टी भयो भने त उतै गए भइहाल्यो ।

त्याग, तपस्या, समर्पण र बलिदान गर्ने र जनताको दुःख–सुखमा लाग्ने पार्टीको आवश्यकता छ भनेर भनिएको हो । जसले समाजवादी अभियानमा अघि बढ्न सहज होस् । किनभने, त्यसका लागि हामी सच्चिनु र रूपान्तरण हुन आवश्यक छ । पदका निम्ति, स्वार्थका निम्ति दौडने र तँछाड–मछाड गर्ने कुरालाई सङ्केत गरेर अध्यक्षले यो भनेको हो । यसको मुख्य आशय र अर्थ भनेको जनताको मुक्तिका लागि फेरि एकपटक क्रान्ति आवश्यक छ भन्ने नै हो ।

परिवर्तन हुन जरुरी छ, यो कुरा सबैले भन्दै आएको हो । तर परिवर्तन र रूपान्तरण कसरी हुने, नेतृत्व कि कार्यकर्ता ?

मूलतः परिवर्तन र रूपान्तरण पार्टीको सबै तहमा हुनुपर्छ । कार्यकर्तादेखि नेतृत्व तहसम्मै हुन जरुरी छ । पार्टीको ‘ग्राभिटेसन अफ सेन्टर’ भनेको नेतृत्व हो । त्यो भनेको अध्यक्ष प्रचण्डलगायत अन्य नेतृत्व तहमा रहेका सबै कमरेडहरू जसलाई हामीले मान्दै आएका छौँ । हामी पार्टीमा सामूहिक एकीकृत नेतृत्वका रूपमा बुझ्छौँ । यसमा जनता र कार्यकर्तालाई दोष दिनेभन्दा पनि नेतृत्व तहबाटै रूपान्तरण हुने सङ्कल्प गरियो भने माओवादी पार्टी रूपान्तरण नहुने कुरा हुँदैन ।

समाजवादमा पुग्ने बाटो एकातिर छ, माओवादीको यात्रा अर्कोतिर भन्ने गुनासो पनि सुनिन्छ । यस्ता गुनासालाई समेत समेटेर अघि बढ्न र पार्टीलाई गतिशील बनाउन गर्नुपर्ने काम के–के हुन् ?

तत्काल हामीले पार्टी सदस्यहरूको संरचनालाई व्यवस्थित बनाउने प्रयास गरेका छौँ । हाम्रो पार्टी सदस्यका संरचना दुई प्रकारका छन् । दुवै प्रकृतिका पार्टी सदस्य संरचनालाई अभियानको रूपमा वितरण गर्ने र वडादेखि सबै पार्टी कमिटीका अधिवेशन सम्पन्न गरेर राष्ट्रिय सम्मेलनसम्म पार्टीलाई संरचनागत जोड्ने, जिल्लालाई समन्वयका रूपमा नयाँ निर्णय पनि गरिसकेका छौँ ।

यसो हुँदा सङ्घीय, प्रादेशिक र स्थानीय तहलाई हामीले कार्यकारी बनाउने कुरामा होमवर्क गरिसकेका छौँ । साथै विभागलाई पनि सोहीअनुसार अघि बढाउने र जनवर्गीय  र पेसागत सङ्गठनलाई पनि सोही प्रक्रियाअनुसार अघि बढाउने हाम्रो तयारी छ । सोअनुसार हालै योङ कम्युनिस्ट लिग (वाईसीएल) को सम्मेलन भएर नेतृत्व चयन भएको छ । अब चाँडै विद्यार्थीको हुँदैछ ।

खासगरी पार्टीका सबै अवयवहरू सक्रिय र क्रियाशील बनाएर नै लैजाने हाम्रो मुख्य कार्यक्रम रहेको छ । यही क्रममा अघि बढ्दै आगामी पुसमा हुने राष्ट्रिय सम्मेलनबाट नयाँ विचारसहित महाधिवेशन गरेर समग्र पार्टीको कार्यदिशामार्फत् समाजवादमा यसरी पुग्छौँ भनेर मूर्त र ठोस रूप दिन्छौँ भनेर प्रतिबद्धता गरेका छौँ ।

समाजवादसहितको पार्टी रूपान्तरणको प्रयास भइरहेको छ । तर नेकपा माओवादी केन्द्रभित्र नेतृत्वको लोकतान्त्रिक चरित्रका बारेमा किन पटक पटक प्रश्न उठ्ने गर्छ ?

नेतृत्व भनेको सापेक्ष हुन्छ । जे जस्तो छ, त्यसैलाई बनाएर, सुधारेर र परिवर्तन गरेर हामी जाने हो । नेतृत्वको आयात गरेर मात्रै सुधार हुने होइन । आन्दोलनबाट र पार्टीभित्रको अन्तर्सङ्घर्षबाट नेतृत्व पैदा हुने हो । अहिलेको नेतृत्व धेरै अनुभव र अभ्याससहित पैदा भएको हो । यो नेतृत्वले नयाँ सङ्कल्पको प्रतिबद्धता प्रकट गर्न आवश्यक छ ।

अर्को कुरा, अर्को नेतृत्व हामीले तुरुन्तै उत्पादन गर्न सक्दैनौँ । हुन त हामीले युवाहरूमा जिम्मेवारी थप्दै जाने निर्णय गरेर सोअनुसार अघि बढ्ने निर्णय गरिसकेका छौँ । त्यसअनुसारका प्रक्रिया पनि अघि बढ्छन् । तर, हाल जे नेतृत्व त्यसलाई नै पार्टीको लिडरसिपको रूपमा लिएर जानेछौँ । मुख्य कुरा सङ्कल्पको हो, सङ्गठन छ । देशभरि संरचना पनि छ ।

देशभरिको हाम्रो टिम, संरचना र जनतालाई जोडेर नयाँ तरिकाले विश्वासमा लिएर अगाडि जान जरुरी छ । यसरी अघि बढ्दा आउँदो सङ्घीय निर्वाचनसम्म पुग्दा नेकपा माओवादी केन्द्र पहिलो शक्तिका रूपमा अघि बढाउन सकिन्छ भन्ने हामीमा सङ्कल्प छ । त्यसमा हामी प्रतिबद्ध पनि छौँ, हाम्रो केन्द्रीय कमिटी बैठकले गरेको निर्णय पनि त्यही हो । हामी जनतामा जाँदा गुनासका पोका बोकेर होइन कि स्पष्ट विचार र दृष्टिकोण बोकेर जान्छौँ ।

तपाईंहरू आगामी निर्वाचनमा एक नम्बरको पार्टी बनाउँछौ भन्नुहुन्छ । तर एमाले अध्यक्ष केपी शर्मा प्रचण्ड नेतृत्वको पार्टी पार्टी नै होइन, त्यो पार्टी त गुटमा सीमित भइसक्यो भनेर दिएको अभिव्यक्ति गलत सावित गर्नसक्नुहुन्छ ?

सकिन्छ र त्यो गर्नैपर्छ । ओलीले दिएको अभिव्यक्ति गलत सावित गर्न कुनै गाह्रो छैन । माओवादीले जनयुद्ध सुरु गर्दा पनि धेरैले नपत्याएकै हो । केही नेताहरूले सुरुवात गरेको जनयुद्धले कस्तो रूप लियो र कसरी निर्णायक शक्तिका रूपमा आयो ?

यो कुरालाई नजरअन्दाज गर्न मिल्दैन । माओवादी शक्तिकै आडमा अहिले के कति परिवर्तन भए ? राजतन्त्रको ठाउँमा गणतन्त्र, सङ्घीयता, समावेशिता र धर्मनिरपेक्षता जस्ता परिवर्तनहरू सम्भव भए कि भएनन् ? यी कुराको विश्लेषण गर्न जरुरी छ । होला कसैले उडाउलान्, खिसीटेउरी पनि गर्लान् तर हामी हाम्रो विचार, सिद्धानत र दृष्टिकोणका साथ अघि बढ्छौँ ।

अहिले पनि देशका ७७ वटै जिल्लाका सबै वडामा पार्टी संरचना र सक्रिय कार्यकर्ता भएको नेकपा माओवादी केन्द्र नै हो । जसका हिजो लाखाँै होल टाइमरहरू थिए । तिनको समयमा उचित व्यवस्थापन हुन सकेन । त्यसले असन्तुष्टि जन्मिएर केही तितर–बितर भएको अवश्य हो ।

त्यसबेला नेतृत्वले व्यवस्थापन गर्न नसके पनि अब त्यो अवस्था हुँदैन । एकीकृत र एक ढिक्का पार्टी बन्छ भन्ने हामीले समीक्षा गरेका छौँ । अब ती सबै कार्यकर्तामा एक प्रकारको जागरण पैदा गरियो भने केपी ओलीले मात्रै होइन कसैले पनि माओवादीलाई पहिलो पार्टी बन्न रोक्न सक्दैन ।

अहिले मुलुकमा तपाईंहरूसहितको गठबन्धन सरकार छ । केपी ओली नेतृत्वको सरकार र गठबन्धनको यो सरकारमा के भिन्नता पाउनुहुन्छ ? जनताले गठबन्धन सरकारलाई किन विश्वास गर्ने ?

यो अनपेक्षित र आकस्मिक ढङ्गले बनेको सरकार हो । केपी ओली आफै र उहाँको नेतृत्वको सरकारलाई हिजो ठूलो अवसर थियो । माओवादीसँग पार्टी एकता भइसकेपछि संसद्मा सरकार चलाउने हैसियत मजबुत बनेको थियो । पार्टी र सरकार दुवैलाई सम्हालेर समाजवादतर्फ जान ठूलो अवसर र ऐतिहासिक जिम्मेवारी ओलीको काँधमा पुगेको हो ।

तर, ओलीजीले त्यसको सही व्यवस्थापन गर्न सक्नुभएन । बरु कुण्ठा, आक्रोश, आवेश र शक्ति केन्द्रित गर्ने हिसाबले उहाँ अघि बढ्न खोज्नुभयो । संविधान, विधि, प्रणालीभन्दा पनि आफै सर्वैसर्वा बनेर प्रतिगमनतिर उहाँ अघि बढ्न खोज्नुभयो । त्यसलाई रोक्न गठबन्धन बन्यो र गठबन्धनकै सरकार बन्न पुग्यो ।

त्यसकारण ओली सरकारले प्रतिगमनको यात्रा तय गर्यो, सँगै संविधानविपरीतका कतिपय निर्णय गर्दै संसद् विघटनलगायतका काम गरेको थियो । त्यसलाई तात्विक रूपमा प्रतिगमन रोक्न यो सरकारले काम गरेकै छ । तर, फेरि सरकार गठबन्धनको भएकाले उसले दिनुपर्ने सेवा जनअपेक्षअनुसार हुन सकेका छैनन् । एकातिर बहुमत पुर्याउनुपर्ने, बहुमत पुगेन भने सरकारले अघि सारेका मुद्दामा स्वाभाविक प्रश्न उठ्ने भएकाले पनि केही कमजोरीहरू देखिन सक्लान् । तर, यो सरकार प्रतिगमनतिर फर्किंदैन, संविधान र लोकतन्त्रको रक्षा गरेर अघि बढ्छ ।

तर, तपाईंले यसो भन्दै गर्दा गठबन्धनको सरकार बन्नेवित्तिकै अध्यादेश आयो । हिजो ओली सरकार हुँदा भ्रष्टाचार भयो भनेर कुर्लने नेताहरू आज ती भ्रष्टाचारका फाइल खोल्नेतिर लागेको देखिँदैन, अनि कसरी अग्रगमन भयो भनेर बुझ्ने ?

धेरै कायापलट हुन्छ भन्ने सोच पनि राख्नुहुँदैन । तर, फर्केर अर्थ मन्त्रालयबाट भएका काम हेर्नुभयो भने जनताको पक्षमा काम गर्नुपर्छ भन्ने निष्ठा र प्रतिवद्धता देख्न सकिन्छ । केही प्राविधिक कारणले सरकारको पूर्णता हुन सकेको छैन, त्यो वास्तविकता हो । तर धेरै राम्रो भन्दा पनि नराम्रो हुन नदिने यो सरकारको जिम्मेवारी हो ।

त्यसैले यो सरकारले विगार्ने काम गर्दैन र अर्को निर्वाचनसम्म यो गठबन्धनको सरकार रहन्छ । यसका सकारात्मक पाटाहरू पनि छन् । त्यो भनेको एउटा पक्षले गल्ती गर्यो भने अर्को पक्षले तुरुन्त प्रश्न गर्नसक्ने अवस्था छ ।

लोकतन्त्रमा यस्तो चेक एन्ड ब्यालेन्स भन्ने कुरा पनि अर्को महत्त्वपूर्ण विषय हो भन्ने कुरामा सरकार प्रतिबद्ध रहेकाले आगामी दिनमा केही न केही जनपक्षीय काम गर्दै यो सरकार अघि बढ्छ ।

अझै पनि यो गठबन्धन र सरकारले संसद्को कार्यकाल पूरा गर्दैन कि भन्ने आशङ्का मानिसहरूले गरिरहेका छन् । के आफ्नो कार्याकाल संसद्ले पूरा गर्ला र अर्को निर्वाचनसम्म नै यो सरकार टिक्ला ?

जनताले ५ वर्षका लागि अहिलेको सदन चुनेका हुन् । यसका आफ्नै मूल्य, मान्यता र विशेषता छन् । त्यसकारण यो संसद्ले पूरै अवधि गजार्नुपर्छ र यो सरकारले नै अबको चुनाव सम्पन्न गर्छ । अर्को चुनावबाट नयाँ सरकार निर्वाचित भएर नआउँदासम्म यो सरकार कायमै रहन्छ ।

अध्यादेशकै कारण मन्त्रिमण्डलले पूर्णता पाउन ढिलाइ भएको छ । यसैका कारण गठबन्धनमा गडबड भयो कि भन्ने आशङ्का छ । यसमा तपाईं कति जानकार हुनुहुन्छ ?

धेरै गडबड भएको छैन । अलिअलि आशङ्का उठ्न पुगेका छन् । तर उच्च स्तरीय नेतृत्व बसेर छलफल गरेर आशङ्काहरू निरूपण हुँदै गएका पनि छन् ।  

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।