साहित्य

‘म गीत लेख्ने होइन, मलाई गीतले लेखाउँछ’

राम्रो गीत जीवनभर सम्झिइन्छ : प्राडा कृष्णहरि बराल

person explore access_timeअसोज २, २०७८ chat_bubble_outline0

नेपाली साङ्गीतिक क्षेत्रका विशिष्ट साधक एवं चर्चित गीतकार प्राडा कृष्णहरि बरालको जन्म ४ जनवरी १९५४ मा सिन्धुली जिल्लाको हत्पतेमा भएको हो । उनले कक्षा ७ सम्म सिन्धुलीमा, बीएसम्म जनकपुरमा र विद्यावारिधि ‘गजल परम्परा र माेतीराम भट्काेट गजलकािरता’ शीर्षकमा त्रिभुवन विश्वविद्यालय काठमाडौँबाट गरेका हुन् ।

२०३३ सालमा ‘म भक्त हुँ यो देशको, म रक्त हुँ यो देशको’ गीत रेडियो नेपालमा रेकर्ड गराएर साङ्गीतिक जीवनमा होमिएका बरालका गीति एल्बम र चलचित्रका गरेर अहिलेसम्म करिब ८ सयभन्दा बढी गीत रेकर्ड भएका छन् ।

माया–प्रेमदेखि राष्ट्रिय भावनासम्मका गीतमा शब्द कोरेर हरेक नेपालीको मनमा बस्न सफल बरालसँग रातोपाटीले गरेको कुराकानी :

गीत लेखनको यात्रा कसरी सुरु भयो ?

पहिलो कुरा त म सिन्धुली जिल्लाको हत्पते भन्ने गाउँमा जन्मेको मान्छे हुँ । त्यहाँ सहरी सुविधा केही पनि थिएन । विलकुलै गाउँ थियो । त्यहाँ पाँच क्लाससम्म पढाइ हुने कमला अप्पर प्राराइमरी एउटा विद्यालय थियो । मैले त्यहीँ कक्षा सातसम्म पढेँ । गाउँमा बेलुका बेलुका मादल बजाएर गीत गाउने वातावरण हामी सानै हुँदादेखि थियो । बेलुका बेलुका मान्छेहरू भेला भएर गीतगाउने, सुन्ने गरिन्थ्यो ।

बुबा, हजुरबुबाहरू रामायण, महाभारत, कृष्ण चरित्र, देवी भागवत लगायत ठूलठूला वेदका किताबहरु ​ पढ्नुहुन्थ्यो । ती किताबका चित्र हेर्थ्याै‌ पढ्थ्यौँ । एकादशी जस्ता व्रतहरूमा भजन मण्डली बोलाएर रातभरि भजन गाउने गरिन्थ्यो ।

विस्तारै हामीले पनि रामायण, महाभारतका किताब लय हालेर पढ्न थाल्यौँ । ४, ५ कक्षामा पुगेपछि जिल्लाका, अञ्चलका नाम घोक्नुपथ्र्यो । बुबाले त्यसलाई कविता बनाएर पढ, लयात्मक बनाएर पढ्दा आउँछ, बिर्सिंदैन भन्नुभयो । यस्तो अभ्यास त्यही बेलैदेखि गरियो । यही क्रममा कक्षा पाँच हुँदा एउटा कविता लेखेर वाचन गर्दा पुरस्कार स्वरूप एउटा कापी पाएको थिएँ । त्यसो गर्दागर्दै यो क्षेत्रतिर मन आकृष्ट भयो ।

कक्षा ७ सम्म पढ्दा म रातभरि भजन भट्याउन सक्थेँ । ७ बाट त्यहाँ पढ्नेवातावरण भएन । त्यहाँबाट म जनकपुर गएँ । त्यो क्षेत्र मलाई झन् फ्लोर भयो । आईए, बीए पढ्न थालेपछि म अझ लेखनितर लेगेँ । त्यहाँ पत्रिकाहरू पनि एउटा दुईवटा निस्किथ,​ विभिन्न साहित्यिक कार्यक्रमहरू हुन्थे, म तिनमा भाग लिन थालेँ । यसरी नै मेरो लेखन अगाडि बढ्दैगयो ।

सरको पहिलो गीत चाहिँ कहिले आयो ?

कक्षा पाँचमा पढ्दा विद्यालयको कार्यक्रममा अरू साथीहरूले हिन्दी गीत गाए । मैले चाहिँ ‘बारीको छेउमा कुर्ले ढुकुर कुर्लिन्छ, नेपाल जाँदा सुनकोसी उर्लिन्छ’ भन्ने गीत गाएँ । यही गीत नै मेरो पहिलो गीत हो । मेरो पहिलो रेकर्ड भएको गीतचाहिँ आईए पढ्दा लेखेको अनि बीए पास भएर काठमाडौँ आएपछि २०३३ सालमा रेकर्ड भएको ‘म भक्त हुँ यो देशको, म रक्त हुँ यो देशको’ भन्ने हो ।

व्यावसायिक गीत लेखन त्यहीबेलाबाट भयो ?

त्यसलाई व्यावसायिक के भन्नु ? रेडियो नेपालले २० रुपियाँ दिन्थ्यो त्यतिखेर । जनकपुरमा आईए पढ्दा ‘कर्मयुग’ पत्रिकामा ‘विपरीत व्यथाहरू’ शीर्षकमा कविता छापिएका थिए । लाग्छ, २०३१ सालतिर जनकपुरमै ‘उषा’ भन्ने पत्रिकामा लीलासिंह कर्माले मेरा २ वटा गीतहरू छापिदिनुभएको थियो । जनकपुर बस्दा त्यति धेरै पत्रिकाहरू पनि थिएनन् । हास्यव्यङ्ग्यहरू लेखेको थिएँ । तर त्यहाँ छाप्न पाइएन ।

जनकपुरमै ‘म भक्त हुँ यो देशको’ गीत लेखेको थिएँ । त्यहाँ एउटा राष्ट्रवादी विद्यार्थी मण्डल भन्ने थियो । त्यसमा संलग्नहरू अञ्चलाधीशका नजिक थिए । त्यसले पत्रिका निकाल्दैछ, तपाईं पनि कविता दिनुहोस् न भने एकजना मैथिलीका प्रोफेसरले । लेखेर तिनै सरलाई दिएको थिएँ तर छापिदिएनन् । ०३३ सालमा बीए पास गरेर आएपछि म त गीततिरको एकदम प्रिय मान्छे भएकाले रेडियो नेपाल हेर्न भनेर गएँ ।

त्यसभन्दा अगाडि पनि रेडियो नेपालले प्रश्नोत्तर कार्यक्रम सञ्चालन गथ्र्यो, म र मदन ढकालले प्रश्न सोध्ने गर्थ्याें । त्यसमा पाण्डव सुनुवार र देवी शर्माले कार्यक्रम प्रस्तुत गर्नुहुन्थ्यो । मैले रेिडियाे नेपालमा उहाँहरूलाई नै भेटेँ । प्रश्नोत्तर कार्यक्रममा मा धेरै भाग लिने भएकाले उहाँहरूले चिन्नुभयो । राम्रो व्यवहार पनि गर्नुभयो । २ वर्ष भइसक्यो किन प्रश्न नपठाउनुभएकाे भन्नुभयो । म त गीतहरू लेख्छु भनेँ । गीत लेखेको भए स्वीकृतिका लागि यहाँ छाेडिदनस न भन्नुभयो ।

अर्को पटक जाँदा जनकपुरमै लेखेका १० वटा गीत लगेर दिएँ । ती १० मध्ये ६ वटा स्वीकृत भएछन् । खुसी लाग्याे तर कल्लाई दिनू ? अनि पाण्डव सुनुवार चिनेको हुनुभयो र उहाँकै हातमा दिएँ । उहाँमार्फत नै ‘म भक्त हुँ यो देशको’ गीत गोकुल राईको सङ्गीत, पाण्डव सुनुवार र सुरेस श्रेष्ठको स्वरमा रेकर्ड भयो ।

गीत लेखनबाट आम्दानी चाहिँ कहिलेबाट हुनथाल्यो ?

२०४६ साल पछाडि जब चलचित्रहरूमा धेरै गीत लेख्न थालियो, रेकर्डिङको माहोल एकदम धेरै बढ्यो । एल्बमहरू निस्किन थाले । त्यसपछि चाहिँ सुरु भयो भनौँ न ।

गीतमा त तपाईं स्थापित भइसक्नु भा’छ, रोयल्टी चाहिँ कतिको आउँछ ?

हाम्रोमा रोयल्टी भर्खर भर्खर उम्रेको दुईटा पात जस्तो छ । डाँठ पनि राम्ररी हालिसकेको छैन । म चाहिँ त्यसरी बुझ्छु । अलि अलि रोयल्टी जुन उठेको छ त्यसको पनि वैज्ञानिकता छैन । जस्तो यातायातबाट उठाउने भनेर कति करोड उठेको सुनेको छु । उठाउन त उहाँहरूले उठाउनुभयो तर कसरी र कसकसलाई कुरा नमिलेकाले िदन सक्नुभएन । हामीलाई त मर्का पर्याे नि ।

खासमा बसमा जसको गीत बजेको छ उसले पाउनुपर्ने हो । तर, त्यसको रेकर्ड उहाँहरूसँगै छैन । अनि कसरी वितरण गर्ने, उहाँहरू त्यतिकै अन्योलमा परेर त्यो पनि वितरण भएको छैन । २, ४ हजार रुपियाँ कतैकतैबाट पठाएको हुन्छ । सीआरबीटी, पीआरबीटीबाट उठेको त कहिलेकाहीँ पाएकाे तर जहाँबाट धेरै आउनुपर्ने हो त्यहाँबाट आएको छैन । युट्युबको भ्यु हेर्ने हो भने करोड नाघेका थुप्रै गीत छन् । त्यसकाे राेयल्टी कहाँबाट आउने, कताबाट लिने केही पनि छैन ।

यति धेरै गीत लेख्नुभएको छ, महिना महिनामा केही रकम त पाउँदै हुनुहुन्छ नि ?

कहाँको पाइन्छ हौ ? कहिलेकाहीँ १०, १२ हजार म्युजिक नेपालले दिन्छ सीआरबीटीमा बज्यो भनेर । कहिलेकाहीँ हजार, दुई हजार पनि दिन्छ, यति पुगेको छ भनेर । तर, रोयल्टी भनेको त बसले बजाएको, रेडियोले बजाएको, होटलहरूमा बजेको पनि पाउनुपर्ने हाे ।  गायकहरूले कहीँ गएर गाएका छन् भने त्यसकाे पनि दिनुपर्ने हो तर छैन । यी सबै कुराको वैज्ञानिकता आयो र सही तरिकाले पाउन थालियो भने पैसा धेरै नै हुन्छ ।

गीत किन लेख्नुहुन्छ ? कस्तो भावना आउँदा गीत लेख्नुहुन्छ ?

पहिलेदेखि मेरो सङ्गत नै त्यस्तो भयो । गाउँमा अर्काको घरमा गएर रेिडियाे सुनिन्थ्याे भने आफ्नो घरमा गीतहरू सुनिन्थ्यो, घरमा लोकगीतहरू गाउने वातावरण थियो, वरिपरि घरका मान्छेहरू आएर लोकगीतहरू गाउँथे, घरमा श्लोकहरू  गाउँथे, रामायण महाभारतका श्लोकहरू सुन्थेँ । सुरुका लेखनमा त्यहीँबाट भावना आउँथ्यो ।

कहिलेकाहीँ बाटोमा हिँडिरहेको बेला पनि फ्याट्ट भाव आउँछ । अनि त्यसलाई टिप्ने हो । धेरै गीतहरू मैले एकै पटकमा तयार गरेको छु । एक घण्टा दुई घण्टा पनि नलगाई तयार गरेको छु । युनिभर्सिटीमा पढाउन जान्थेँ । त्यहाँबाट फर्किंदा प्रायः एक्लो हुनुपर्छ, दिमागमा फ्याट्ट आउँछ अनि कागज या मोबाइलमा टिप्यो । अनि सङ्गीगीत भर्नका लागि दियो ।

चलचित्र क्षेत्रका गीतहरूमा चाहिँ निर्माताहरूले फर्माइस गर्नुनुहुन्छ– यस्तो खालको गीत चाहियो भनेर, विषय पनि दिनुहुन्छ । मेरो सिनेमामा यस्तो यस्तो सिन छ, यहाँनेरि गीत चाहियो भनेपछि त्यसलाई मनमा राख्यो अनि गीत बनाएर निकाल्ने हो । विषयलाई मनमा राखेर गम्दा भावमा मिसिएर त्याे गीत बन्छ । जसरी घाँस खाएर गाईले दूध बनाउँछ अथवा उखुकाे रसबाट चिनी बन्छ ।

तर मैले एउटा कुरा धेरै ठाउँमा भन्ने गरेको छु, ‘म गीत लेख्ने होइन मलाई गीतले लेखाउँछ’ ।

अनि गीतसङ्गीतप्रति तपाईंको चित्त नबुझेका केही कुरा छन् ?

त्यो धेरै हुन्छ । प्रारम्भिक चरणमा कस्तो हुन्थ्याे भने गीत कसैले भन्यो, दियो । उहाँहरूले सङ्गीत गर्नुहुन्थ्यो । रेकर्ड हुन्थ्यो । कहिलेकाहीँ त रेकर्डमा पनि गइँदैन थियो । अहिले चाहिँ म सामान्य कम्पोज गरिसकेपछि सुन्छु । म आफैँ पनि एउटा सङ्गीतमा गीत लेख्छु । अनि कम्पोजरले त्योभन्दा राम्रो हाल्नुपर्छ भन्ने मेरो धारणा नौलो कुरो भएन ।

मैले जुन सङ्गीतमा लेखेको छु त्यो भन्दा राम्रो त हुनु पर्यो नि । नत्र मेरै छ नि त्यो धुन, लय । उहाँहरूले हालिसकेपछि यसो सुन्छु र एकदमै राम्रो फाइन आयो भने सकिहाल्यो । अलि ठिकै आयो भने यसलाई यसो गर्दा कसो होला भनेर सल्लाह हुन्छ ।

खासमा यो गिभ एन्ड टेकको कुरो रहेछ । सङ्गीतकारले पनि मैले लेखेको कुरा यसलाई यसो गर्दा हुन्छ कि हुँदैन भनिदिनुहुन्छ । काट्ने, छाँट्ने, बढाउने काम हुन्छ ।

कहिलेकाहीँ कस्तो हुन्छ भने, एक दिन महेश खड्का सङ्गीत गर्दै हुनुहुन्थ्यो । उहाँले ए मेरो मनपर्ने जादुगर, के छ तिम्रो त्यो जादूमा, आज मन छैन काबुमा भन्ने गीतकाे स्थायीमा धुन हाल्नुभयाे । स्थायीपछि उहाँले मीठाे धुन बजाउनु भयाे । मलाई त्यो धुन मन पर्यो । अनि मैले भनेँ म अन्तरा यही धुनमा लेख्छु । मेरो गीतको अन्तरामा अब धुन भर्नुपर्दैन सकियो भने । यो तरिका पनि हुन्छ क्या । पहिले धुन हालिसक्यो अनि पछि लेख्यो, धुन मनपर्यो भने ।

अहिले बजारमा भित्रिएका गीतसङ्गीतलाई कसरी हेर्नुभएको छ ?

गीत भनेकै शब्द, सङ्गीत, स्वर र नृत्यकाे संयाेजन हाे । यसको समष्टिगत रूप हो । यसमा सबै मिलेपछि त्यो गीतले सबैतिरबाट प्रभाव पार्छ । तर कहिलेकाहीँ के हुन्छ भने, शब्द एकदमै राम्रो छ तर सङ्गीत कमजोर भयो भने पनि गीत चलिदिँदैन । शब्द, सङ्गीत राम्रो छ । तर स्वरले धान्न सकेन भने पनि गीत चल्दैन । अब त्यसलाई नृत्यमा ढाल्दा पनि ताल बिग्रियो यताउति, भिजुअल राम्रो भएन, सही पात्र छनोट गर्न सकिएन भने पनि राम्रो भएन । धेरैतिरबाट राम्रो राम्रो भयो भने मात्र राम्रो हुने हो ।

अहिले अर्को अफ्ठ्यारो कुरा के छ भने, जसले बढ्ता बजाउन सक्यो, जसले बढी पैसा तिरेर विज्ञापन गर्न सक्यो ऊ बढ्ता चल्न सक्ने अवस्था पनि छ । युट्युबतिर पनि बुस्ट गर्ने भन्ने छ नि त्यस्तै । त्यहाँ पनि पैसाकै खेल छ । यसले के देखाइदियो भने पैसा धेरै हुनेले चाहिँ धेरै चलाउने रहेछन् । तर जहाँसम्म चल्ने भन्ने कुरा छ, मेरो दृष्टिकोण चाहिँ अर्कै छ । ‘त्यो गीत मात्रै चलेको र राम्रो हो जो एक चोटि सुनेर जीवनभर सम्झिइन्छ ।’ नबजोस् धेरै के फरक पर्छ । कोही मान्छेले एक पटक सुन्यो भने बाफ रे बाफ यो गीत कहाँ होला भनेर खोज्दै हिँडोस्, त्यो सबभन्दा ठूलो सफलता हो । 

त्यसैले के जरुरी छैन भने भिडियोमा आएका या रेकर्ड भएका सबै गीत उत्कृष्ट हुन् । सबै निकृष्ट हुन् भन्ने पनि छैन । गीत मात्र होइन हरेक विधाको लेखनमा भर्खरका सिकारु लेखक पनि हुन्छन् र सिद्धहस्त लेखक पनि हुन्छन् । एकदमै राम्रो प्रभावकारी लेख्ने लेखक पनि हुन्छन् । भर्खर लेख्न सुरु गरेका पनि पछि खारिँदै खारिँदै जान्छन् र अभ्यास हुँदै जान्छ । त्यसकारण बजारमा एकदमै उत्कृष्ट गीतहरू पनि छन् ।

कसैकसैले भनेको सुन्छु, रेडियो नेपालमा पहिले  घन्किने जस्ता गीत अहिले छैनन् । अहिले पनि पहिले रेकर्ड भएका भन्दा राम्रा गीत पनि छन् । तर, त्यसलाई खोजेर हेर्न सक्नुपर्यो । गीत यति धेरै रेकर्ड भएका छन् कि छान्नै गाह्रो भयो मान्छेलाई । अनि जुन चाहिँ बढ्ता प्रचारमा आउन थाल्यो, मान्छेले त्यही मात्र सुने । यसले गर्दा राम्रा, गम्भीर गीतहरू ओझेलमा परेका छन् । तपाईंले नसुनेका मेरा धेरै उत्कृष्ट गीतहरू पनि छन् भन्छु म ।

अहिले बजारमा आएका कतिपय गीत अश्लील र भद्दा खालका पनि छन् भनिन्छ, तपाईंको मूल्याङ्कन कस्तो छ ?

अश्लील भएका, नियमविरुद्ध भएका,  राम्रा कुरालाई विरोध गरेका गीतहरूको सेन्सर हुने नै भयाे । यस्तो जहाँसुकै हुन्छ क्या ! उपन्यासमा पनि त छ नि । नग्न चित्रण गरेका उपन्यास छैनन् र ? तर त्यसलाई हामी उपन्यासको इतिहासमा गाभ्दैनौँ नि ।

गीतमा चाहिँ के भयो भने बजाइदिएपछि हामीले सुन्नै पर्यो । त्यसले गर्दा अफ्ठ्यारो परेको हो । इतिहास त नबुझ्ने मान्छेले लेख्न सक्दैन । इतिहास भनेको खल्तीमा कलम भिर्नेले, ल्यापटपमा टाइप गर्नेले मात्र लेख्ने हो । त्यो मान्छेले त जजमेन्ट गर्न सक्छ नि कुन स्तरीय छ, कुन छैन भन्ने । अहिले वर्तमानमा घच्याकघुचुक देखाए पनि पछि त त्यो हराएर जान्छ ।

वर्तमान समयमा सही मान्छेको सही मूल्याङ्कन हुन्छ भन्ने मलाई लाग्दैन । किनभने हामी पहाडका लहरलाई फेदीबाट हेर्यौँ भने कुन पहाड अग्लो छ भन्ने बुझ्दैनाैँ ।

उँभो फर्केर हेर्दा सबै अग्ला देखिन्छन् । तर, धेरै पर गएर हेर्यौँ भने अग्लो– होचो छुट्टिन्छ । अहिले यस वर्तमानमा उभिएर हेरेका हुन्छौँ, कोहीलाई के व्यक्तिगत प्रभाव होला, कसैलाई पनि राम्रो भन्दिन सक्ला । कसैलाई केही दृष्टिकोण होला, अर्कै दृष्टिकोणले राम्रो भनिदिन सक्ला । तर २०, ३० या ५० वर्ष पछाडि कुनै अनुसन्धानकर्ता निस्किएर जब यी गीतहरू सुन्छ, त्यसपछि उसले सही कुरा भन्छ । अनि कसको हाइट कति थियो भन्ने थाहा हुन्छ । 

गीतसङ्गीतमा सेन्सरका कुरा पनि उठिराखेका छन्, अहिले सेन्सरको आवश्यकता छ त ?

यो विषय पहिले पनि उठेको थियो । गीतकार सङ्घबाट एउटा पत्रिका निस्केको थियो । त्यसमा मैले अभिव्यक्ति स्वतन्त्रता, सेन्सरसिप र साहित्य शीर्षकमा १२, १४ पेजको एउटा लेख लेखेको छु । संसारमा नराम्रा कुनै पनि कुरा भन्न पाइन्छ भन्ने हुँदैन । जस्तोसुकै प्रजातान्त्रिक मुलुकमा पनि जे मन लाग्यो भन्न र जे पायो गर्न पाइँदैन । प्रजातन्त्र छ भनेर चोर्न पाइन्छ ? पाइँदैन । अभिव्यक्ति स्वतन्त्रता भनेको सबै ठाउँमा, हरेक चिजमा अभिव्यक्ति स्वतन्त्रता होइन । त्यसमा हाम्रा आफ्नै सीमाहरू हुन्छन् । हाम्रो समाज, संस्कृति, सभ्यता, कानुन हुन्छ, त्यसभित्र रहेर अफ्ठ्यारो नपर्नेगरीको अभिव्यक्ति दिनुपर्छ । कानुनमा २० वर्षमा बिहे गर्न छुट छ अनि मैले १६ वर्षकी भइछ्यौ, आऊ अब बिहे गरौँ भन्न मिल्दैन । कानुनले पक्रिन्छ । कानुनमा दुईवटा बिहे गर्न पाइँदैन भन्ने हुँदा हुँदै तिमीहरू दुई जना नै मनपर्यो, बिहे गर्छु भन्न पाइँदैन नि ।

तर कतिपय अश्लील कुराहरू पनि सिम्बोलिक रूपमा गीतमा भन्न सक्छौँ । कतिपय गीतमा मैले पनि लेखेको हुँला । जसको अर्थ छाम्नलाई अलि गाह्रै हुन्छ । भनेका कुराहरू अभिधामा मात्र बुझेर लक्षणा र व्यञ्जनामा बुझ्न घोरिनुपर्छ । त्यसले केही असर गर्दैन ।

आम मान्छेले सोझो तरिकाले बुझ्छ, भित्री कुरो (लक्षणा र व्यञ्जनामा) बुझ्नेले बुझेर मुसुक्क हाँस्छ, यो पो भनेको रहेछ भनेर । त्यसरी भन्न त छुट छ नि साहित्यमा । यसलाई हामी यौन विम्ब भन्छौँ । भूपि सेरचनका कविता पढ्यौँ भने कस्ता कस्ता यौन विम्बहरू छन्, बुझ्दै गएपछि । मनोविश्लेषण (साइकोलोजी)मा त अझ यौन विम्बहरूको बढी महत्त्व छ ।

कतिपय कुरा सरकाले बनाएका नीतिनियमको पनि विरोध गरेर लेख्नुपर्ने हुन्छ, यदि समाजको विकासको गतिलाई रोक्ने खालको छ भने । सरकारले थुनेर राख्यो भने पनि लेख्न आँट गर्नुपर्छ । तर समाजका लागि राम्रो छ भने त्यसको विरोध गर्नु बुद्धिमानी हुँदैन । धर्मकर्ममा पनि हाम्रा कतिपय विकृति पनि होलान्, त्यसलाई सुधार गर्नका लागि भन्न आँट गर्नसक्नुपर्छ, त्यो धर्मावलम्बीहरूले झम्टिए पनि । तर त्यसका राम्रा पक्षको विरोध गर्नु हुँदैन ।

सामान्यतः कुन कुरा भन्नुहुन्छ, कुन भन्नुहुँदैन भन्ने लेखक आफैले बुझ्नुपर्छ र आफैले नै सेन्सर गर्नुपर्छ । किन पुलिस चाहियो, किन अरूले भनिदिनुपर्यो । यो नै प्रजातन्त्रमा सबैभन्दा उत्कृष्ट उपाय हो भन्ने मलाई लाग्छ । नराम्रा लेख्नेहरू विस्तारै आफै किनारा लाग्छन् ।

गीत लेखनका नव प्रवेशीहरूलाई गीत लेखनका केही टिप्स दिनुस् न ?

नयाँ नयाँ लेखक आउने निरन्तर प्रक्रिया हो । सुरु सुरुमा लेख्नेहरूले  अर्काको सुनेपछि पहिले त्यसको प्रभावमा लेख्छन् ।  अहिले हेर्यौँ भने १६ अक्षरको झ्याउरे लयमा नेपालीमा धेरै गीत लेखिएका छन् ।

प्रारम्भिक चरणमा अर्काको गीत सुनेर लेख्ने गरिन्छ, त्यसको प्रभावमा लेख्ने गरिन्छ, कति कन्टेन्ट दोहोरिन्छ, शिल्प दोहोरिन्छ । तर जब अगाडि बढ्दै जान्छौँ त्यसबाट हिट हुन सक्दैनौँ । हामी अर्कोे किसिमको गीतकार बन्न सक्दैनौँ ।

अगाडि बढ्नका लागि अध्ययन गर्नुपर्छ, सिद्धान्तहरू पढ्नुपर्छ, अरू भाषामा लेखिएका राम्रा राम्रा गीतहरू सुन्नुपर्छ र अरुले लेखेका गीतभन्दा भिन्न किसिमका गीत लेखेर आफूलाई विशेष बनाउनुपर्छ । त्यसका लागि अध्ययन चाहिन्छ । मेरा दुईवटा किताब छन्– ‘गीत सिद्धान्त र इतिहास’ र ‘गीत कसरी लेख्ने ?’ । ती किताबमा धेरै कुरा भनेको छु । गीत कसरी लेख्ने भनेर युट्युबमा पनि मेरा १० वटा इपिसोड छन् । यी सामग्री हेर्नुभयो भने केही कुरा बुझ्नुहुनेछ ।

त्यसैले आफ्नो निजत्व प्राप्त गर्न मौलिकता खोज्नुपर्छ । अरूको नक्कललाई छोडेर आफ्नो बाटो पहिल्याउपर्छ ।

अहिलेको अवस्था कस्तो छ भने मेरो प्रतिस्पर्धा मभन्दा सिनियरसँग पनि छ, मेरा समकालीनसँग पनि छ, मेरा जुनियरसँग पनि छ, जो यो क्षेत्रमा आउँदै हुनुहुन्छ । त्यसभन्दा पनि अर्को प्रतिस्पर्धा मेरो मैसँग पनि छ । यो भनेको आफूलाई आफैले कसरी बदल्ने, कसरी अझ उत्कृष्ट बनाउने भन्ने प्रतिस्पर्धा हो । यी सबै कुराबाट सिक्दै बाबु पुस्तामा लेखिएका जुन किसिमका शिल्प र कन्टेन्ट छन्, त्यसभन्दा भिन्न बनाउनुपर्छ । त्यसरी गरियो भने आफ्नो गीत लेखन सफल हुन्छ ।

गीतसङ्गीतका श्रोताहरूलाई केही सुझाव दिनुहुन्छ कि ?

श्रोताहरू त हाम्रो परिप्रेक्ष्यमा भाग्य निर्माता हुनुहुन्छ। कसले बढ्ता हेरिदिन्छ, सुनिदिन्छ, कसले फर्माइस गरिदिन्छ त्यसले धेरै फरक पार्छ । हाम्रो मनमा नेपाली सङ्गीत ठीक बाटोमा गएन, अलिक गलत बाटोतिर लाग्यो, यसलाई हावाले अर्कैतिर उडाएर लग्यो भन्ने लागेको छ भने यसलाई बचाउने हामीले नै हो । त्यस्तो अवस्थामा उहाँहरूले सम्बन्धित स्रष्टालाई तपाईंले लिएको बाटो अलिक ठीक भएन, यस्तो गरे कसो होला ? भनेर सुझाव दिनु राम्रो हुन्छ । हामी स्वयं स्रष्टाले पनि त्यस्तो अनुभव गर्यौँ भने, गलत ठाउँमा गएका छाैँ भने त्यसलाई फर्काएर सही ठाउँमा ल्याउने काम हाम्रो नै हो । हामी सङ्गीतकर्मीले सही ठाउँमा ल्याउनु पर्यो, अझ उत्कृष्ट बनाउनु पर्यो ।

हामी नेपाली गीतकार, सङ्गीतकार, गायकदेखि बाहेक अर्कोले आएर नेपाली गीतसङ्गीतलाई बनाइदिँदैन । पत्रकारहरुले विरोधै मात्र गरेर पनि सुध्रिनेवाला छैन । यसलाई सही बाटो देखाउनुपर्छ । नेपालीहरूमा यो भएन, त्यो भएन मात्र भन्ने गरेको पाइन्छ । के गर्दा हुन्छ, त्यसको उत्तर चाहिँ आउँदैन । खराबी यहाँनेर छ ।

त्यसकारण श्रोताहरूले, दर्शकहरूले यसमा अलिकति जिम्मेवारी लिइदिनुपर्छ । सही किसिमका गीतहरू, स्तरीय गीतहरू, समाजलाई स्पष्ट राम्रो ढङ्गले सल्लाह दिने गीतहरु बनाउने सल्लाह दिनुपर्छ । हामीले पनि परम्परादेखि लेखिँदै आएका गीतहरूकाे सम्मान गर्दै अझै उत्कृष्ट गीत लेख्दैजानुपर्छ । सस्तो लोकप्रियताले धेरै ठाउँमा हानि गर्छ । हामीले स्तरीयता र लोकप्रियतालाई एक ठाउँमा मिलाएर अगाडि बढ्यौँ भने हाम्रो सङ्गीत फेरि पनि सही ठाउँमा आउँछ, त्यसाे त अहिले पनि छ र अझै राम्रो ठाउँमा आउँछ ।   

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।