शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

किन हुन्छ बारम्बार गर्भपात ?

बारम्बार ‘गर्भपात’ हुने महिलामा फेरि गर्भ रहने सम्भावना हुँदैन ? (भिडियो)
शनिबार, ०२ असोज २०७८, ११ : ३०
शनिबार, ०२ असोज २०७८

गर्भपात (मिसक्यारेज) आम समस्याको रुपमा देखिएको छ । सामान्यतया अस्वस्थकर जीवनशैली, ढिला विवाह, तनावपूर्ण दैनिकीजस्ता अनेकन् कारणले गर्भपातको समस्या देखिने चिकित्सकहरु बताउँछन् ।

कतिपय महिला गर्भपात एकदुई पटकमात्रै होइन, बारम्बार अर्थात् धेरै पटक हुने समस्याबाट ग्रसित छन् । समयमै समस्याको जड पत्ता लगाउने हो भने यसको समाधान हुने चिकित्सकहरुको भनाइ छ । कतिपय दम्पतीले यस्तो समस्या लुकाउने, उपचार तथा चिकित्सकको परामर्शमा नजाने गर्दा पनि बारम्बार समस्या दोहोरिरहेको पाइन्छ ।

हामीले वास्तवमै गर्भपात किन हुन्छ ? गर्भपात हुन लाग्यो भनेर कसरी थाहा पाउने ? र यसको निराकरण गरी सुरक्षित गर्भाधानका उपायबारे वात्सल्य इनफर्टिलिटी तथा आईभीएफ सेन्टरकी स्त्री रोग विशेषज्ञ डा. निजा राजभण्डारीसँग बुझ्ने कोशिस गरेका छौं । प्रस्तुत छ, डा. राजभण्डारीकै भनाइको सम्पादित अंश–

गर्भ (बच्चा) बसेको २४ हप्तासम्ममा यदि बच्चा खेर जान्छ भने त्यसलाई ‘मिसक्यारेज’ भनेर किटान गरिन्छ । सामान्यतया गर्भको ९ महिनालाई तीन वटा अवस्थामा विभाजन गरिएको हुन्छ– पहिलो तीन महिना, दोस्रो तीन महिना र तेस्रो तीन महिना ।

पहिलो तीन महिनाको अवस्था अर्थात् १२ हप्ता र दोस्रोलाई २८ हप्तासम्मको समय तय गरिएको छ ।

पहिलो अवस्थामा गर्भपात हुने सम्भावना बढी हुन्छ । यो समयमा भ्रूणमा समस्या हुने, भ्रूणमा क्रोमोजोम सम्बन्धी समस्या हुने, बच्चाको धड्कन नै नआउने, गर्भ विकास नै नहुने विभिन्न समस्याले गर्भपातको सम्भावना ज्यादा हुन्छ । सामान्यतया गर्भ जाँचमा बच्चाको धड्कन आएपछि भने बच्चा स्वस्थ छ भनेर तय गर्न सकिन्छ ।

दोस्रो अवस्थामा सामान्यतया २४ हप्तासम्मको समयमा पनि बच्चा खेर गयो भने त्यसलाई पनि गर्भपात नै भनिन्छ । विकसित मुलुकमा २० हप्ता मै यदि बच्चा जन्मियो भने पनि बच्चा बचाउन सक्ने प्रविधिको विकास भइसकेको छ तर, दक्षिण एशियाली मुलुकमा यस्तो प्रविधि आइनसकेकोले २४ हप्तासम्मको बच्चा बचाउन सक्ने सम्भावना न्यून हुन्छ ।

गर्भपात हुनुको कारण

पहिलो अवस्थामा भ्रूणमा समस्या हुँदा गर्भपात हुने सम्भावना बढी भए पनि दोस्रो अवस्थामा भने पाठेघरमा हुने समस्याले गर्भपातको सम्भावना बढी हुन्छ । जस्तोः पाठेघरको आकारमा फरक पर्न जाँदा, पाठेघर सानो छ भने बच्चालाई विकास हुने ठाउँ नपाउँदा बाहिर निस्किने प्रक्रिया सुरु हुन्छ । अर्को, पाठेघरको भित्री भागमा झिल्लीको विकास भएको खण्डमा पनि गर्भपातको सम्भावना हुन्छ । त्यसैगरी, पाठेघरको मुख समयभन्दा पहिले नै खुल्यो भने पनि गर्भपात हुन सक्ने सम्भावना हुन्छ ।

कतिपयमा क्रोमोजोम सम्बन्धी गडबडी हुन सक्छ, जुन जेनेटिक रुपमै आएको हुन्छ । कतिपय महिलाको गर्भाशयको बनोट असामान्य हुँदा पनि गर्भ सफल नहुन सक्छ । कति महिलामा फाइब्रोइड, पोलिप्स जस्ता समस्या देखिएको छ भने कतिमा गर्भ टासिने ठाउँमा घाउ वा फोका भएमा पनि गर्भ नरहने र रहेमा पनि खेर जान सक्ने सम्भावना बढी देखिएको छ ।  यस्ता समस्याको समाधान गर्भधारण पूर्व नै गर्नुपर्ने हुन्छ ।

कतिपय महिलामा हर्मोनको समस्याले पनि गर्भपात भइरहेको पाइन्छ । कतिमा इन्डोक्राइन सम्बन्धी समस्या, पोलिसिस्टिक ओभरी सिन्ड्रोम (पीसीओएस)को समस्याले पनि गर्भपात गराएको हुनसक्छ । यस्तो अवस्थामा उपचार गरी हर्मोनको मात्रा सन्तुलनमा ल्याएर पुनः गर्भधारण गर्न सकिन्छ ।

यसैगरी, महिलाको बढ्दो उमेरसँगै डिम्बको संख्या र गुणस्तर कम हुँदै जान्छ । राम्रो भ्रूण बन्न नसक्दा महिलाको शरीरले नै त्यसलाई तुहाउने सम्भावना बढी हुनसक्छ । ४० वर्ष पश्चात पुरुषको वीर्यको गुणस्तर पनि कम हुने भएकोले चुनौती थपिंँदै जान्छ ।

अहिले कोरोनाभाइरसको महामारीपछि गर्भपातको समस्या बढी देखिएको छ । कतिपय महिलामा गर्भावस्थामा कोभिड–१९ भएको छ भने पनि गर्भपातको सम्भावना उच्च देखिएको छ । गर्भपात भएका महिलामा कोभिड–१९ को संक्रमण भएको र कतिको शुरुवाती चरणमै, त कतिको ढिलो गरी पनि गर्भपात भएको पाइएको छ । गर्भपातमा कोभिड–१९ को असरबारे अनुसन्धान भइरहेकाले यही नै भन्न नसके पनि प्राय गर्भपात भएका महिलामा गर्भावस्थामा संक्रमण भएको पाइएको छ ।

गर्भपातको संकेत

सामान्यतया गर्भावस्थाको पहिलो अवस्था (पहिलो १२ हप्ता)को समयमा पेट दुख्ने, यौनाङ्गबाट तरल पदार्थ बग्नेजस्ता लक्षण देखिन्छन् । कतिमा सुरुकै अवस्थामा अर्थात् १२ हप्तासम्मको अवधिमा कहिलेकाहीँ इनप्लान्टेसन ब्लिडिङ (हल्का रगत देखिने) पनि हुनसक्छ तर त्यो सामान्य हो र एक दुई दिनमा सामान्य हुन्छ । तर, धेरै पेट दुख्ने, चोक्टा चोक्टा भएर रगत जानेजस्ता लक्षण देखियो भने त्यो मिसक्यारेजको लक्षण भनेर बुझ्नु पर्छ र डाक्टरको परामर्शमा जानुपर्छ ।

कहिलेकाहीँ सुरुवाती समयमा कालो धमिलो खालको रगत भयो भने त्यसलाई भने सामान्य रुपमा लिइन्छ । पाठेघरमा जमेका पुराना रगतहरू निस्किँदा यस्तो देखिने भएकाले यसमा भने आत्तिनु पर्दैन, यो गर्भपातको लक्षण होइन । तर रातो सफा रगत गयो भने, पानी बग्यो भने, महिनावारीको जस्तै पेट दुखाइ छ भनेचाहिँ बच्चा खेर जान लागेको संकेत हो भनेर बुझ्नु पर्छ ।

बारम्बार मिसक्यारेज हुने महिलामा फेरि गर्भ रहने सम्भावना कति हुन्छ ?

एकपटक गर्भ खेर गइसकेको छ भने दोस्रो पटक पनि खेर जान सक्ने सम्भावना २० प्रतिशत हुन्छ । दुई पटक खेर गएको छ र फेरि गर्भ रहेमा त्यो खेर जानसक्ने सम्भावना ३० प्रतिशत हुन्छ । र, तेस्रो पटक पनि गर्भ खेर गयो र फेरि गर्भ रहेको छ भने त्यसमा पनि ४० देखि ५० प्रतिशत गर्भ खेर जान सक्ने सम्भावना हुन्छ । तर यो भन्दैमा गर्भ सफल हुँदैन भन्ने होइन ।

सामान्य अर्थमा हामीले हरेक गर्भ एकल अवस्था हो भनी बुझ्न जरुरी छ । जसमा हरेक पटक गर्भ रहँदा आफ्नो छुट्टै अण्डा छुट्टै शुक्रकिटसँग मेल भएको हुन्छ । ताकि त्यो उही पुरानो होइन । जति पटक गर्भ रहन्छ, त्यो पूरै नयाँ हुन्छ । त्यसैले चारपाँच पटक नै गर्भ खेर गयो भन्दैमा फेरि गर्भ रहँदैन भन्ने हुँदैन । धेरैपटक गर्भ खेर गएको छ भने पनि स्वस्थ बच्चा जन्मने सम्भावना उत्तिकै हुन्छ । समयमै चिकित्सकको परामर्श र उपचार गरियो भने पुनः बच्चा जन्माउन सकिन्छ ।​

सावधानी

यदि तपाईको गर्भ बारम्बार खेर गइरहेको छ भने फेरि गर्भाधान गर्नुपूर्व चिकित्सकको परामर्श लिनु अत्यन्त आवश्यक छ । आमाबाबुमा केही समस्या छ या छैन भनेर चेकजाँच गराएर गर्भाधान गर्दा गर्भ खेर जाने सम्भावना न्यून हुुनुका साथै आमा र बच्चा दुवैको स्वास्थ्य पनि राम्रो हुन्छ ।

गर्भपातबाट बच्न जीवनशैली र खानपानमा ध्यान दिने, धुम्रपान र मध्यपानबाट टाढा बस्ने, स्वस्थ खानेकुरा खाने, धेरै तनाव नलिने । गर्भ बसेपछि पनि चिकित्सकको प्रत्यक्ष निगरानीमा रहँदा समस्या आएमा समयमै उपचार हुन्छ । गर्भाधान पहिले र पछि पनि उपचारमार्फत् स्वस्थ गर्भलाई निरन्तरता दिन सकिन्छ ।

यदि क्रोमोजोम सम्बन्धी समस्याका कारण गर्भ खेर गइरहेको छ भने आईभीएफको सहयोग लिन सकिन्छ । बारम्बार गर्भ खेर जाने समस्यामा अहिले आईभीएफको प्रयोग निकै उपयोगी देखिन्छ ।

एउटा वा दुईवटा गर्भ खेर गयो भनेर निरास हुने वा उपचारका लागि पहल नगर्दा पनि समस्या दोहोरिएको पाइन्छ । यहाँ १० पटकसम्म खेर जानेहरुको पनि स्वस्थ बच्चा जन्मिएका उदाहरण छन् । त्यसैले समयमै उपचार गराउन जरुरी छ ।

कतिपयमा महिला पुरुष दुवैको शरीरमा हुने कुनै न कुनै समस्याको कारण पनि गर्भपात हुनसक्छ, त्यस्ता समस्याको बेलैमा पहिचान गरी उपचार गराउनुपर्छ । अहिले नेपालमा पनि विभिन्न प्रविधि भित्रिइसकेका छन् । त्यसैले, डराउने, तनाव लिनेभन्दा पनि उपायको खोजी गर्नु बुद्धिमानी हुन्छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

टुना भट्ट
टुना भट्ट

टुना भट्ट रातोपाटी अनलाइन टिभीकी  संयोजक तथा समाचार प्रस्तोता हुन् ।

लेखकबाट थप