मङ्गलबार, ०४ वैशाख २०८१
ताजा लोकप्रिय

संविधानको विरोध : सिके राउतदेखि महन्थ ठाकुरसम्म

मधेसवादी दलले संविधान दिवसमा यसरी गर्दैछन् विरोध
आइतबार, ०३ असोज २०७८, ११ : ३५
आइतबार, ०३ असोज २०७८


तराई मधेसकेन्द्रित दलले आज संविधान दिवसका दिन विरोधका कार्यक्रम राखेका छन् । संविधानप्रति असन्तुष्टि जनाउँदै विरोध गर्नेमा सिके राउत नेतृत्वको जनमत पार्टीदेखि महन्त ठाकुरको लोकतान्त्रिक समाजवादी (लोसपा) र उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टीसम्म छन् ।

सरकारले विभिन्न कार्यक्रम गरी संविधान दिवस मनाउँदै गर्दा देउवा सरकारलाई समर्थन जनाएका दुई दल जसपा र लोसपा भने खुलेर संविधानको समर्थन  नगरी विरोधमा उत्रिएका हुन् । यतिसम्मकी सत्ता गठबन्धनमा सहभागी जसपाका नेताहरू नै सरकारले आयोजना गरेको संविधान दिवसको कार्यक्रममा सहभागी भएनन् ।

लोसपाले त देशभरि नै विरोध कार्यक्रम गरी असोज ३ लाई कालो दिनको रूपमा मनाउन उर्दी नै जारी गरेको छ । सो पार्टीले संविधानको विरोधमा अन्तरक्रिया लगायतका कार्यक्रम आयोजना गर्न मातहतका नेता कार्यकर्ताहरूलाई भनेको छ ।

लोसपाका अध्यक्ष महन्थ ठाकुरले पार्टीका जिल्ला तहमा सर्कुलरमार्फत संविधान दिवसका दिन विरोधका कार्यक्रम गर्न निर्देशन नै दिएका छन् । त्यसका लागि शीर्ष नेताहरूको जिम्मेवारी बाँडफाँट समेत गरिएको छ ।

संविधानको विरोधमा आयोजित कार्यक्रममा भाग लिन अध्यक्ष ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतो पर्सा पुगेका छन् । २०७२ असोज ३ गते संविधान निर्माण भएकै दिन आन्दोलनका क्रममा सहादत भएका शत्रुघन पटेलको घरमा लोसपाले कार्यक्रमको आयोजना गरेको पार्टीका कार्यकारिणी सदस्य जितेन्द्र सोनलले बताए ।

सहिद शत्रुघन पटेलकी आमा स्थानीय तहको उपाध्यक्ष हुन् । उनले उपेन्द्र यादव नेतृत्वको तत्कालीन संघीय समाजवादी फोरम नेपालबाट चुनाव जितेकी थिइन् तर जसपा विभाजन हुँदा उनी लोसपा रोज्न पुगिन् । त्यही भएर प्राथमिकतामा राख्दै अध्यक्ष ठाकुर, वरिष्ठ नेता महतो, कार्यकारिणी सदस्य जितेन्द्र सोनललगायत शीर्ष नेताहरू पटेलको घरमै पुगेर कार्यक्रमको आयोजना गरेका हुन् ।

यता, पार्टीका वरिष्ठ नेता शरतसिंह भण्डारी र कार्यकारिणी सदस्य अनिलकुमार झालगायतका नेताहरू काठमाडौँमा हुने कार्यक्रममा सहभागी हुँदैछन् । लोसपाले ‘सहिदको बलिदानी र संविधानको पूर्णता’ विषयमा पार्टी कार्यालयमा कार्यक्रम गर्दैछ ।

उपेन्द्र यादव नेतृत्वको जसपाले पनि देशभर संविधानको विरोधमा ‘संविधान संशोधनको आवश्यकता’ विषयक अन्तरक्रिया कार्यक्रमको आयोजना गर्ने भएको छ । पार्टीका कार्यकारिणी सदस्य महेन्द्र राय यादवका अनुसार पार्टीका केही शीर्ष नेताहरू उपत्यका बाहिर गए पनि अध्यक्ष उपेन्द्र यादवलगायतका केही शीर्ष नेता काठमाडौँमा हुने अन्तरक्रिया कार्यक्रममा सहभागी हुनेछन् । तर, जसपाले प्रदर्शन तथा कोणसभाजस्ता कार्यक्रमहरू भने नगर्ने जनाएको छ ।

सिके राउत नेतृत्वको जनमत पार्टीले पनि असोज ३ लाई कालो दिवसको रूपमा मनाउँदैछ । सो पार्टीले संविधानको विरोधमा विभिन्न जिल्लामा विरोधका कार्यक्रम गर्न नेताहरूलाई सर्कुलर गरेको महासचिव चन्दन सिंहले जानकारी दिए । पार्टीका अध्यक्ष सिके राउतलगायत शीर्ष नेताहरू सम्भव भएसम्मका जिल्लाका कार्यक्रममा सहभागी हुने महासचिव सिंहले बताए । ‘अहिले पार्टीको बैठक चलिरहेको छ, त्यसैबाट अध्यक्ष राउतलगायत शीर्ष नेता कहाँ जाने भनि टुङ्गो लाग्छ’, महासचिव सिंहले बताए ।

त्यस्तै, कौशलकुमार सिंह नेतृत्वको लोक दलले पनि देशभरी संविधान संशोधनको माग गर्दै विरोधका कार्यक्रमहरू गर्ने भएको छ । लोक दल पार्टीले आज कालो दिनका रूपमा मनाउने र संविधान संशोधन नहुँदासम्म विरोधका कार्यक्रम जारी राख्ने अध्यक्ष सिंहको भनाइ छ ।

तराई मधेस राष्ट्रिय परिषद्ले आइतबार नै माइतीघरमा विरोध प्रदर्शन गर्ने भएको छ । परिषद्ले माइतीघरदेखि नयाँ बानेश्वरसम्म प्रदर्शन गर्ने परिषद्का संस्थापक सदस्य सरोज रायको भनाइ छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप