बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

मधेसका लागि संविधान : अवसरको भर्‍याङ, राजनीतिका लागि मुद्दा

आइतबार, ०३ असोज २०७८, १४ : ३५
आइतबार, ०३ असोज २०७८

संविधान दिवसका दिन आइतबार कतै सरकारले औपचारिक कार्यक्रम आयोजना गरेर उत्सव मनाइरहेको पाइन्छ भने कतै विरोधका कार्यक्रम पनि भइरहेका छन् । वर्तमान संविधान जारी भएदेखि नै एउटा पक्षले यसको विरोध गर्दै आएको छ । खासगरी मधेसवादी भनेर चिनिएका दल र तिनका नेताहरूले संविधानलाई विरोधको एउटा एजेण्डा पनि बनाउने र त्यही संविधान अन्तर्गतका उपलब्धिहरूलाई पनि उपभोग गर्ने दोहोरो रणनीति अपनाएको पाइन्छ ।

संविधान दिवसको विरोधमा लोकतान्त्रिक समाजवादी पार्टी अग्रपङ्क्तिमा देखिएको छ । जबकि, सोही दलमा रहेका कतिपय नेता केही महिना अघि यही संविधानअन्तर्गत संघीय सरकारमा सहभागी पनि भएका थिए । उनीहरू यही संविधान अन्तर्गत संघीय संसद्मा पनि प्रतिनिधित्व गर्दै आएका छन् ।

यही संविधानको प्रावधान अनुसार भएका निर्वाचनमा सहभागी हुने, संविधानअनुसार राज्य सत्ताको विभिन्न जिम्मेवारीमा पुग्ने र संविधानको आलोचना पनि गर्ने संस्कृति मधेसवादी दलमा विद्यमान छ ।

यस्तो दोहोरो चरित्र किन ? भन्ने प्रश्नमा लोसपाका कार्यकारिणी सदस्य एवं प्रतिनिधिसभा सदस्य लक्ष्मणलाल कर्ण भन्छन्, ‘यो दोहोरो चरित्र होइन, हामीले एउटै चरित्र प्रदर्शन गरिरहेका छौँ त्यो हो– संविधानको पूर्णता ।’

संविधान अपूर्ण रहेको र त्यसलाई पूर्ण गर्नुपर्छ भन्ने आफूहरूको माग रहेको उनले बताए । संविधानमा राम्रा कुरा पनि धेरै रहेको उल्लेख गर्दै कर्णले संविधानभित्र रहेको त्रुटिपूर्ण विषयवस्तुप्रति मात्र आफूहरूको असहमति रहेको प्रस्ट पारे ।

‘यो देशमा एक खालका व्यक्ति छन् जसले संविधान नै खारेज होस्, गणतन्त्र नै समाप्त होस् भन्ने चाहेको छ, त्यो कुराबाट हामी सचेत छौँ,’ उनले भने, ‘हामीलाई जुन जुन विषयमा असहमति छ, त्यो संशोधन गरेर पूरा गरिदियोस्, अनि हामी पनि दीपावली मनाउँछौँ नत्र यो विरोध जारी नै रहन्छ ।’

​जसपाका कार्यकारिणी सदस्य रामसहाय यादवको धारणा पनि त्यस्तै छ । उनले भने, ‘हामीलाई संविधान स्वीकार्य छैन भने कहाँ भनेका छौँ र ? संविधानमा रहेका केही विषयवस्तु प्रति हाम्रो असन्तुष्टि छ, त्यसलाई सम्बोधन गर्न भनिरहेका छौँ ।’

संघीयता, धर्मनिरपेक्षता, गणतन्त्र, समावेशी लोकतन्त्रलगायतका धेरै कुरा संविधानका राम्रा पक्ष रहेको उनले सुनाए । त्यसलाई आफूहरूले स्वीकार गरेको तर केही कुरामा चित्त नबुझेको कारण संशोधनको माग गरेको उनको भनाइ छ । आफूहरू संविधान तथा कानुन अनुसार सांसद तथा मन्त्री बन्ने गरेको र त्यो आवश्यकता पनि रहेको उनले बताए ।

संविधान निर्माण भएपछि जसपा र लोसपाका नेता तथा कार्यकर्ताहरू संविधानअनुसार दिइने सेवा सेवाहरू सधैँ उपयोग गर्दै रहे । कोही संवैधानिक नियुक्तिमा त कोही सांसद त कोही मन्त्री बने । एकातिर विरोध गर्ने र अर्कोतिर त्यसैको आधारमा सेवा सुविधा पनि लिने यस्तो किन त ? जनकपुरका इन्जिनियर सत्यनारायण साह भन्छन्, ‘मधेसवादी दलका नेताहरूको यो दोहोरो चरित्र हो, एकातिर संविधानको विरोध गर्ने, अर्कोतिर त्यही अनुसार सांसद बन्ने र मन्त्री बन्ने, यो दोहोरो चरित्र नै हो ।’

यदि संविधानप्रति असहमति छ भने कुनै पदमा नगई आन्दोलन गर्नुपर्ने उनको भनाइ छ । ‘जबसम्म संविधान संशोधन हुँदैन, तबसम्म कुनै सार्वजनिक पदमा जान्दैनौँ भनेर कसम खानुपर्छ तर उहाँहरूले त्यस्तो गर्नुहुन्न, किनभने उहाँहरूलाई पदको लोभ छ ।’

सधैँ सरकारी सेवा सुविधा लिने, संविधान कार्यान्वयनमा लागिरहने अनि वर्षमा एक दिन संविधानलाई नमान्ने भन्दै कालो दिवस मनाउने कार्य अशोभनीय भएको उनको भनाइ छ ।

नागरिकता, भाषा, संघीय संरचना, शक्ति बाँडफाँटलगायतका विषयमा मधेसवादी दलले संशोधन चाहेका छन् । प्रदेशलाई अधिकार नदिइएको, स्थानीय तहलाई संघीय सरकारअन्तर्गत राखिएको उनीहरूको भनाइ छ । त्यस्तै, आमाको नामबाट नागरिकता पाउनुपर्ने, जन्मसिद्ध नागरिकका सन्तानले वंशजको आधारमा नागरिकता पाउनुपर्ने जस्ता प्रावधान संविधानमा राख्नुपर्ने उनीहरूको माग छ ।

त्यसैगरी, संघीय संरचनामा पनि उनीहरूको चित्त बुझेको छैन । मधेसवादी दलले पहिचानसहितको १० प्लस १ प्रदेश चाहिन्छ भन्ने माग गर्दै आएका छन् । यद्यपि, यही संविधान अनुसार उनीहरू राज्यसत्तामा पुग्ने र मन्त्री बन्ने क्रम पनि जारी छ ।

स्थानीय तहको संरचना र त्यसलाई संघीय सरकारअन्तर्गत राखेकोमा असन्तुष्ट भए पनि उनीहरू स्थानीय तहको निर्वाचनमा सहभागी भएका छन् । प्रदेशलाई कुनै अधिकार दिइएन भनिरहँदा उनीहरू प्रदेशसभाको निर्वाचनमा सहभागी पनि भए । यतिमात्र होइन, तीन वर्षसम्म प्रदेश २ सरकारमा मधेसवादी दलमात्र सहभागी रहे । सर्वसाधारणले भने यसलाई सम्बन्धित दल र नेताहरूको द्वैध चरित्रका रूपमा बुझ्ने गरेका छन् । संविधानको विरोध गरेर नै यही संविधान अन्तर्गतका उपलब्धि हासिल गर्न सहज धरातल गर्ने रणनीतिका रूपमा यसलाई बुझ्ने जनसमुदायको हिस्सा पनि ठुलो छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप