मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

दसैँको मुखमा सधैँ क्रसर उद्योगतिर नजर

सोमबार, ०४ असोज २०७८, ०९ : ५१
सोमबार, ०४ असोज २०७८

हरेक वर्ष दसैँ नजिकिएसँगै जिल्ला समन्वय समिति मकवानपुरले क्रसर उद्योगहरूको विषयमा चासो बढाउने गरेको पाइन्छ । वर्षभरि क्रसर उद्योगको विषयमा आएका सूचना तथा जानकारीको बेवास्ता गर्ने जिसस कार्यालय दसैँको मुखमा भने सक्रिय देखिन्छ ।

हरेक वर्षजसो दसैँ अगाडि जिसस मकवानपुरले क्रसर उद्योगको दर्ता, नवीकरणको विषय उठाएर नवीकरण नभएका क्रसर उद्योग बन्द गर्ने भन्दै सूचना जारी गर्दै आएको छ । तर, दसैँ सकिए लगत्तै क्रसर उद्योगको विषय साम्य हुने गरेको छ । यहाँसम्म कि, जिससले सूचना त जारी गर्छ तर त्यसअनुसार न कुनै क्रसर उद्योग दर्ता हुन्छ न त दर्ता नभएका त्यस्ता उद्योगलाई कारबाही नै हुन्छ ।

गैरकानूनी रूपमा सञ्चालित क्रसर उद्योगलाई तत्काल कानूनी दायरामा ल्याउने वा नवीकरण नभएकाको हकमा नवीकरण गर्ने, नवीकरण प्रक्रियामा नआउनेको अनुमति रद्द गर्न सक्ने व्यवस्था भए पनि त्यसको प्रभावकारी कार्यान्वयन हुन सकेको छैन । नवीकरण नभएको बहानामा वर्षको एकदुई पटक क्रसर उद्योग बन्द गराउने र बन्द गरेको केही समयपछि ती क्रसर उद्योग पुनः सञ्चालन हुने गरेको देखिए पनि यस्ता गतिविधि सीमित स्वार्थका लागि मात्र हुने गरेको सरोकारवालाहरू बताउँछन् ।

जिल्लाका विभिन्न स्थानमा सञ्चालनमा रहेका कुनै पनि क्रसर उद्योग मापदण्ड अनुरूप नरहेको जिसस मकवानपुर स्वीकार गर्छ । तर, ती क्रसर उद्योग बन्द गर्ने वा कारबाही गर्ने प्रक्रियामा भने जिसस मौन देखिन्छ ।

विगतका वर्षमा जस्तै यस वर्ष पनि जिसस मकवानपुरले जिल्लामा दर्ताबिना सञ्चालित क्रसर तथा बालुवा उद्योग बन्द गर्न निर्देशन दिएको छ । नदीजन्य तथा खानीजन्य जिल्ला अनुगमन एवम् व्यवस्थापन समिति मकवानपुरले जिल्लामा दर्ताबिना सञ्चालित क्रसर, बालुवा उद्योग बन्द गर्न निर्देशन दिएको छ ।

गत साता बसेको समितिको बैठकले अनुगमन उपसमितिको प्रतिवेदनका आधारमा जिल्लामा दर्ता नगरी सञ्चालित उद्योगहरू बन्द गर्न स्थानीय तहलाई निर्देशन दिने निर्णय गरेको हो ।

अनुगमन समितिका अध्यक्षसमेत रहेका जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलालको अध्यक्षतामा बसेको बैठकले त्यस्ता क्रसर तथा बालुवा उद्योग स्थानीय प्रहरी÷प्रशासनको सहयोगमा तत्काल बन्द गर्न निर्देशन दिने निर्णय गरेको हो ।

बैठकले जिल्लामा सञ्चालित क्रसर तथा बालुवा उद्योगहरू बिना दर्ता सञ्चालन भएको, राजश्व नबुझाएको र सम्बन्धित स्थानमा सञ्चालन नभएको भए अनुगमन तथा आवश्यक छानबिन गरी तत्काल बन्द गर्न स्थानीय तहलाई निर्देशन दिने निर्णय गरेको हो ।

बैठकले क्रसर तथा बालुवा उद्योगको स्टक प्रमाणित नभएसम्मका लागि ढुङ्गा, गिट्टी, बालुवा वितरणमा रोक लगाउने निर्णय गरेको छ ।

कतिपय स्थानीय तहमा सञ्चालित क्रसर उद्योग स्टक प्रमाणित गर्न नआएका कारण त्यस्ता उद्योगको हकमा प्रमाणित नभएसम्म बिक्री वितरणमा रोक लगाउने निर्णय गरिएको जनाइएको छ । स्टक प्रमाणित उपसमितिलाई स्टक प्रमाणित प्रक्रियाका विषयमा यथाशीघ्र विश्लेषण गरेर प्रतिवेदन पेस गर्न निर्देशन दिने निर्णय गरिएको जनाइएको छ ।

जिसस मकवानपुरका प्रमुख रघुनाथ खुलालले दसैँ नजिकिएको बेलामा मात्र सूचना जारी नगरेको अन्य समयमा पनि अनुगमन तथा निगरानी र दर्ता नवीकरण गर्न आग्रह गरेको बताए ।

उनले नेपाल सरकारले वर्षायामको ३ महिना खोला बन्द गर्ने र असोजबाट खोला खुल्ने भएकाले दसैँको समय संयोग मात्र परेको बताए । क्रसर व्यवसायीको स्वार्थ पूर्तिका लागि दसैँको मुखमा सूचना जारी गरेको भन्ने आरोप लगाइएको उनको भनाइ छ ।

उनले कानुन अनुसार सबै प्रक्रिया पूरा गरेर सरकारी काम काज गर्ने भएकाले यस विषयमा तोकिएको समय र सीमाको आधारमा सूचना जारी गरेको बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

गणेश दुलाल
गणेश दुलाल
लेखकबाट थप