शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

चीनबाट अझै आइपुगेन दसैँ/तिहारलाई सामान : ‘स्टक माल’ बेच्दै व्यापारी

मङ्गलबार, ०५ असोज २०७८, ०६ : ३०
मङ्गलबार, ०५ असोज २०७८


नेपाली व्यापारीले चीनबाट दसैँ/तिहारका लागि मगाएको सामान अझै आइपुगेको छैन । न्यूरोडका थोक (होलसेल) व्यापारीले चीनबाट मगाएको चाडपर्व लक्षित सामान नआइपुगेको हो । चीनबाट नेपालमा दसैँ/तिहारका लागि लत्ताकपडा, जुत्ता/चप्पल, इलेक्ट्रोनिक्स र खेलौना लगायत सामान ल्याइन्छ । लसुन, प्याज र स्याउसमेत आउने गरेको छ ।

चीनबाट सामान नआइपुग्दा न्यूरोडमा अझै दसैँ/तिहार लक्षित व्यापारको रौनक बढ्न सकेको छैन । हिमालय सीमापार वाणिज्य संघका निर्वतमान अध्यक्ष बच्चु पौडेलले चीनबाट सामान अझैसम्म नआइपुगेको बताए । नेपाल–चीन सडकमार्गमा सवारी आवागमन प्रभावित हुँदा सामान ल्याउन समस्या भएको उनले जानकारी दिए ।

कोरोना महामारी नियन्त्रणका लागि गरिएको निषेधाज्ञा तथा केरुङ र तातोपानी सडकमा पटक–पटक पहिरो चल्दा निम्तिएको सडक अवरोध लगायत कारणले सामान ल्याउन ढिलाइ भएको हो । सडकमार्ग हुँदै आयात गरिएको सामान १५ दिनमै नेपाल आइपुग्छ ।

केरुङ र तातोपानी नाकाबाट पर्याप्त सामान ल्याउन नसक्दा यतिखेर व्यापारीहरू समुद्रीमार्ग प्रयोग गरी भारत हुँदै सामान ल्याउनुपर्ने बाध्यतामा परेका छन् । जसकारण समुद्रीमार्ग हुँदै ल्याइने सामान चीनबाट नेपाल आइपुग्न कम्तिमा ६० दिन लाग्छ । संघका अनुसार चीनको समुद्री बन्दरगाहबाट सिंगापुर, श्रीलंकाको कोलम्बो र भारतको बन्दरगाह हुँदै नेपालसम्म सामान ल्याइपु¥याउँदा दुई महिनासम्म समय लाग्छ ।

संघका उपाध्यक्ष नयन पण्डित क्षेत्रीले चीनबाट दसैँभन्दा एक महिना अगाडी नै न्यूरोडका होलसेल पसलसम्म सामान ल्याइसक्नुपर्ने बताए । ‘एक महिनाअघि आइपुग्ने सामान नेपालभर वितरण हुन दुई सातासम्म लाग्छ,’ उनले भने, ‘बजारमै नआइपुग्दा थोक व्यापारीले देशभर सामान वितरण गर्न सकेका छैनन् ।’

यतिखेर न्यूरोड, वटु टोल रञ्जना गल्लीलगायत क्षेत्रमा दसैँको चहलपहल नै शुरू भएको छैन । पसलमा सामान नै नभएपछि बजारमा चहलपहल नभएको व्यापारीहरूको दाबी छ ।

‘स्टक माल’ बेच्दै व्यापारी

बजारमा चीनबाट नयाँ सामान समयमै ल्याउन नसकेपछि व्यापारीले अघिल्ला वर्षदेखि गोदाममा थन्किएर बसेका ‘स्टक माल’ (मौज्दात सामान) बेचिरहेका छन् । वटु टोलका होलसेल व्यापारी आनन्द श्रेष्ठले यो वर्ष नयाँ सामान नआइपुगेपछि अघिल्ला वर्षमा गोदाममा थन्किएका सामान बिक्री गरिरहेको बताए ।

उनले भने, ‘देशभरका आफ्ना ग्राहक (खुद्रा व्यापारी)लाई माल दिनैप–यो । वर्षौँदेखि व्यापार सम्बन्धमा रहेका ग्राहकलाई यो वर्ष सामान छैन भन्ने कुरै भएन । तर, उनीहरूलाई गोदामको स्टक सामान दिइरहेका छौँ ।’ गोदाममा पनि प्रशस्त सामान नहुँदा भने होलसेल व्यापारीहरूलाई समस्या भएको उनको भनाइ छ ।

रञ्जना ट्रेड सेन्टरका होलसेल व्यापारी विशाल श्रेष्ठले चीनबाट समयमै सामान नआउँदा व्यापार प्रभावित बनेको बताए । उनले ‘अर्डर’ गरेको सामान समयमै नआइपुग्दा बजारको धेरथोर माग पनि धान्न नसकिएको रातोपाटीलाई बताए ।

समुद्रीमार्गबाट सामान

नेपाल–चीन व्यापारमा प्रयोग हुँदै आएको तातोपानी र केरुङ नाकाबाट सामान आयातमा समस्या देखिएपछि व्यापारीले समुद्रीमार्गबाट सामान ल्याउन लागेका छन् 

अहिले चीनबाट नेपाल आउने कुल सामानमध्ये ९५ प्रतिशत सामान समुद्रीमार्ग हुँदै मगाइएको हिमालय सीमापार व्यापार संघले बताएको छ ।

यसअघि ८५ प्रतिशत सामान समुद्रीमार्ग र १५ प्रतिशत सडकमार्ग हुँदै ल्याइन्थ्यो । कोभिडका कारण चीनले पटकपटक उत्तरी नाकामा अवरोध गर्दा व्यापारीहरूले केरुङ र तातोपानीबाट भन्दा समुद्रीमार्गबाट सामान ल्याउन थालेका हुन् । 

हाल कोरोना महामारीका कारण चीन जान नपाउँदासमेत नेपालका व्यापारी समस्यामा परेका छन् । नेपाल राष्ट्रिय व्यवसायी महासंघका अध्यक्ष नरेश कटुवालले व्यापारी चीन जान नपाउँदा समस्यामा परेको बताए । उनले भने, ‘चीन जान नपाउँदा वीच्याटमार्फत सामान अर्डर गर्नुपर्ने हुन्छ । तर, एउटा सामान माग गर्दा अर्को आइपुग्छ । त्यसैले पनि यसपटक अघिल्लो वर्षहरू भन्दा कम सामान माग भएको छ ।’

उत्तरी नाकामा झन्झटै झन्झट !

नेपाल र चीनबीच व्यापार गर्न सबैभन्दा छोटो बाटो केरुङ र तातोपानी नाका नै हो । यी दुई नाकाबाट १५ दिनमा आइपुग्ने सामान समुद्रीमार्ग हुँदै ल्याउँदा दुई महिनाभन्दा बढी लाग्छ । तर, पछिल्लो समय विभिन्न कारणले चीनसँगको व्यापारमा उत्तरी नाकाको प्रयोग घट्दै गएको छ ।

कोभिड–१९ शुरू हुँदै गर्दा २०७६ सालको माघदेखि केरुङ र तातोपानी नाका बन्द भएको थियो । सामान बोकेर नेपालतर्फ आउँदै गरेका करिब १५ सय कन्टेनर डेढ वर्ष सिमानामै रोकिए । जसबाट नेपाली व्यापारीले करोडौँ रुपैयाँको नोक्सान ब्यहोर्नुप–यो । यो अवरोध अहिले पनि कायम नै छ ।

पछिल्लो समय व्यापारीले सिन्धुपाल्चोकको तातोपानी नाकाबाट सामान अर्डर गर्नै छाडिसकेको अध्यक्ष कटुवालले रातोपाटीलाई जानकारी दिए । यद्यपि, व्यापारीहरूले अहिले पनि केरुङ नाकाबाट सामान अर्डर गर्दै आएका छन् । तर, उक्त नाकाबाट पनि दैनिक बढीमा १० वटा कन्टेनर मात्रै नेपाल छिर्छन् । त्यसैले चीनबाट उल्लेख्य मात्रामा सामान नेपाल ल्याउन सकिएको छैन । यो नाकापनि पछिल्लो एक सातायता पहिरोका कारण अवरुद्ध छ ।

यस्तै, चीनसँगको अर्को व्यापारिक नाका तातोपानी पनि पहिरोका कारण अवरुद्ध छ । भन्सार कार्यालयका प्रमुख नारद गौतमले पछिल्लो समय तातोपानी नाका हुँदै चीनबाट सामान नआएको बताए ।

उनले भने, ‘पहिरोका कारण सडक अवरुद्ध हुँदा भन्सार जाँचपास नै भएको छैन । यसैपनि व्यापारीले अहिले यो नाकाबाट सामान कम ल्याउन छाडेका छन् ।’ खासगरी, पटकपटक अवरुद्ध भइरहँदा व्यापारीले यो नाकालाई प्राथमिकतामा नराखेको हुनसक्ने कार्यालयका अधिकारीहरू बताउँछन् ।

होलसेल व्यापारको समय सकिँदै

न्यूरोडका होलसेल व्यापारीले चीनबाट सामान ल्याएपछि देशभर वितरण गर्छन् । चीनबाट दसैँभन्दा कम्तिमा एक महिनाअघि नै होलसेल व्यापारीको गोदामसम्म सामान ल्याइसक्नुपर्छ । 

दसैँ शुरू हुन १५ दिनमात्रै बाँकी रहँदा पनि सामान नआइपुगेकाले होलसेल व्यापारको समय सकिएपछि मात्रै सामान आउने छाँट देखिएको व्यापारीहरू बताउँछन् । कटुवालले भने, ‘होलसेल व्यापारको समय दसैँ शुरू हुनुभन्दा १० दिन अघिसम्म रहन्छ । १० दिनअघि सामान किनेर खुद्रा व्यापारीले देशका विभिन्न कुनामा लगिसक्नुपर्छ ।’

तर, दसैँ शुरू हुन दुईसाता मात्रै बाँकी हुँदा पनि व्यापार चहलपहल समेत नदेखिएको उनको भनाइ छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

निकेश खत्री
निकेश खत्री

खत्री रातोपाटीका लागि आर्थिक विषयमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप