शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

संसारको सबैभन्दा फेसनेबल परेवा, जसको विलाशी खर्च मात्र वार्षिक ६ लाख !

मङ्गलबार, ०५ असोज २०७८, ०८ : ३५
मङ्गलबार, ०५ असोज २०७८

केही मानिस घरपालुवा पन्छीका सौखिन हुन्छन् । तिनीहरु घरपालुवा पन्छीलाई आफ्नै सन्तानलाई झैँ माया गर्छन् र खानेकुराका साथै उत्कृष्ट स्याहार सुसार गर्छन् । मानिसलाई भन्दा बढी सुख, सुविधा दिएर परिपूर्ण बनाउँछन् । 

बेलायतको लिङ्कनसायरमा बस्ने मेगी जोन्सन पनि यस्तै सौखिनमध्येमा पर्छिन् । उनी आफ्ना दुईवटा परेवाका लागि हरेक महिना ४० देखि ६० हजार रुपैयाँ खर्च गर्छिन् । यति मात्रै होइन उनका परेवा असाध्यै फेसनेबल पनि छन्  । ती परेवाका लगाउने लुगाले भरिएको छुट्टै दराज छ; छुट्टै सुत्ने कोठा छ र स्ट्रोलरमा बसेर बाहिर घुम्न निस्किन्छन् । यो कुरा सुन्दा सायद कसैलाई पत्यार नलाग्न सक्छ तर यथार्थ यस्तो छ ।

२३ वर्षकी मेगी जन्सन पशु–पन्छी प्रेमी हुन् । उनले केही समय पहिले दुईवटा घाइते परेवा भेटेकी थिइन् । ती दुवै परेवा घरमा ल्याएर ६ हप्तासम्म राम्रोसँग स्याहार सुसार गरिन् । यो क्रममा उनलाई ती परेवाहरूको साधारण घरपालुवा जनावरको झैँ माया लागिसकेको थियो । तसर्थ तिनलाई घरमै राखेर पाल्ने निर्णय गरिन् । उनले ती दुईको नाम पनि राखिन् । एउटाको नाम स्काई र अर्कोको मुस राखिन् । उनले ती परेवाका लागि आकर्षक डिजाइनका ड्रेस बनाउँछिन् । त्यसका लागि उनी लाखौँ रुपैयाँ खर्च गर्छिन् ।

अहिले ती दुई परेवाले निकै विलासी जीवन विताइरहेका छन् । तिनले आफ्नो जन्म दिनमा निकै महँगा उपहार पाउँछन् भने खेलौना पनि धेरै नै छन् । ती दुई परेवा विशेष किसिमले बनाइएका स्ट्रोलरमा बसेर बाहिरी वातावरणसँग घुलमिल हुनका लागि बाहिर जान्छन् ।

उनको यस्तो व्यवहारमा धेरैले आपत्ति पनि जनाएका छन् । कतिले ती परेवालाई ‘उड्ने मुसा’ को संज्ञा दिएका छन् । यद्यपि मेगीले यस्ता कुराको वास्तै नगरी उनका परेवाले अन्य जनावरले झैँ माया पाउनुपर्ने बताउँछिन् ।

मेगीले आफ्ना परेवाको विलासी जीवनशैलीबारे जानकारी दिँदै भनिन्, ‘उनीहरूको आफ्नै बेडरुम छ । यहाँ उनीहरूलाई मनोरञ्जन प्रदान गर्ने विभिन्न वस्तु राखिएका छन् । उनीहरूका थुप्रै खेलौना र विशेष खालका पहिरन छन् । उनीहरूले विलासी जीवन बाँचिरहेका छन् ।’

‘यी दुई परेवाका लगभग १७ सेट लुगा छन् । ती लुगाका प्रत्येक सेटलाई २५ देखि ३० पाउन्ड (४ देखि ६ हजार रुपैयाँ) पर्छ ।

‘यी लुगा लगाउँदा उनीहरू निकै राम्रा देखिन्छन् । साथै यो निकै व्यावहारिक पनि छ किनभने लुगामा तिनीहरूको विस्टा पनि सङ्कलन हुन्छ; जसका कारण घर सफा रहन्छ ।’

मेगी भन्छिन्, ‘घरकै बगैँचामा केहीबेर उड्न दिन उनीहरूको लुगामा सानो डोरी पनि बाँध्न सकिन्छ । स्काईलाई मेरो कुममा बस्न र घाम ताप्न मनपर्छ । उसले कहिल्यै उडेर जाने प्रयत्न गरेको छैन ।’

‘म उनीहरूलाई सानो ‘पिजन स्ट्रोलर’ मा राखेर घुमाउन लान्छु । यसरी लैजाँदा उनीहरूले प्राकृतिक हावा र सूर्यको किरण देख्न पाउँछन् ।’

‘हामी यिनीहरूको जन्मदिन पनि मनाउँछौँ । यिनीहरूलाई उद्धार गरेको दिनलाई सम्झेर उत्सव मनाउँछौँ । मैले यिनीहरूलाई असाध्यै धेरै उपहार दिने गरेकी छु । त्यही भएर यिनीहरू असाध्यै मात्तिएको पनि धेरैले मलाई भन्छन् ।’

परेवाप्रति आफ्नो अथाह माया रहेको कुरा उनले सन् २०१६ मा थाहा पाइन् । एक दिन बाहिर हिँडिरहेका बेला उनको कुकुर पिप्पाले एउटा गुँडतर्फ सङ्केत गर्यो ।

उनले त्यहाँ परेवाको मरेको बचेरो भेटिन् र अर्को चाहिँ जीवित नै भेटिन् । त्यसैले उनले त्यो परेवालाई आफ्नो कोटमा राखेर घर लगिन् ।

विभिन्न वन्यजन्तु उद्धार केन्द्रसँग सम्पर्क गरेपछि उनले उक्त कमजोर परेवालाई बचाउन सफल भइन् । त्यही समयदेखि नै उनले परेवाको उद्धार गर्दै आएकी छिन् ।

अहिले दुई वर्ष पुगेको स्काईलाई उनले सन् २०१९ को सेप्टेम्बरमा उद्धार गरेकी हुन् । यस्तै हाल पाँच महिना पुगेको मुसलाई यसै वर्ष मेमा घरमा ल्याइन् ।

www.dailymail.co.uk

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप