शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

एमालेलाई बहुमतप्राप्त पहिलो शक्ति बनाउने ओलीका ‘चार सूत्र’

‘पश्चगामी षडयन्त्र विफल, समृद्धिको यात्रालाई निरन्तरता’
मङ्गलबार, ०५ असोज २०७८, १२ : ३६
मङ्गलबार, ०५ असोज २०७८


नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीलाई मुलुकको बहुमतप्राप्त पहिलो शक्ति बनाउने घोषणा गरेका छन् । हालै सम्पन्न स्थायी समिति बैठकमा पूर्व प्रधानमन्त्री समेत रहेका अध्यक्ष ओलीले पेस गरेको राजनीतिक प्रतिवेदन मस्यौदामा पार्टीलाई बहुमतप्राप्त मुलुकको पहिलो शक्ति बनाउने र राज्य सञ्चालनको केन्द्र भागमा पुनर्स्थापित गर्ने उल्लेख गरेका हुन् ।

मस्यौदाको ‘आगामी कार्यभार’, उपशीर्षकमा ओलीले २०७४ फागुन ३ गते आफ्नो पार्टीको नेतृत्वमा सरकार गठन हुँदाको उत्साहपूर्ण माहौल, नयाँ प्रणाली संविधानतः संस्थागत हुँदै गरेको अवस्था, बहुमतको सरकारले खडा गरेको राजनीतिक स्थिरताको आधार सुरुवात हुँदै गरेको समृद्धिको आज विराम लागेको उल्लेख गरेका छन् । आलीले आफ्नो नेतृत्वको सरकार विस्थापन भएपछि ‘नयाँ युगतर्फको यात्रा गन्तव्यहीन हुन पुगेको दाबी गरेका छन् ।

‘सरकार बदल्ने मात्र होइन, पछिल्ला राजनीतिक घटनाक्रमहरूको अन्तर्निहित उद्देश्य विगत केही वर्षको अथक प्रयासबाट तयार गरिएको र अगाडी बढाइएको राष्ट्रिय हितको रक्षा र स्वाभिमान वृद्धिका उपलब्धिलाई उल्ट्याउने कुरामा केन्द्रित छ’, अध्यक्ष ओलीले भनेका छन् ।

साथै उनले लोकतन्त्रको सुदृढीकरण र यसलाई जनताको जीवनसँग जोड्ने अभियानलाई असफल बनाउने उद्देश्यमा लक्षित रहेको उल्लेख गरेका छन् ।

‘सामाजिक न्याय र समाजवादका आधार तयार गर्ने प्रयासलाई विफल बनाउने दिशामा उन्मुख छ । मुलुकलाई अस्थिरता, अन्योल र द्वन्द्वतिर धकेल्दै राष्ट्रिय एकतालाई कमजोर गर्ने र बाह्य चलखेल बढाउन प्रवृत्त छ’, ओलीले आफ्नो प्रतिवेदन मस्यौदामा वर्तमान गठबन्धन सरकारप्रति लक्षित गर्दै भनेका छन्, ‘सारमा जनतामा जागेको आत्मविश्वास, भरोसा र आशावादमाथि तुसारापात गर्दै त्यसै अन्योलभित्र निहित स्वार्थ पुरा गर्ने कुरामा केन्द्रित छ ।’

ओलीले आफ्नो प्रतिवेदनमा पार्टीलाई राज्य सञ्चालनको केन्द्र भागमा पुनःस्थापित गर्ने उपशीर्षकमा ‘पार्टीलाई वैचारिक रूपले सुस्पष्ट, सङ्गठनात्मक दृष्टिले चुस्त र सुदृढ, भावनात्मक रूपमा एकताबद्ध, जनतासँग घनिष्ठ रूपमा आबद्ध मुलुकको बहुमतप्राप्त पहिलो शक्ति बनाउने’ उल्लेख गरेका छन् ।

नौ बुँदामा ओलीले विभाजनको असर न्यून पार्न भ्रममा रहेका साथीहरूलाई पार्टीमा फर्काउने, विभाजनकारीका अवसरवादी र जनविरोधी क्रियाकलापबारे जनतामा स्पष्ट पार्ने तथा गुटबन्दी, भ्रष्टता र सांस्कृतिक विचलनका विरुद्ध शुद्धीकरण र सुदृढीकरण अभियान सञ्चालन गर्ने लगायत रहेका छन् ।

पहिलो शक्ति बनाउने ओलीका चार सूत्र :

–वडा, पालिका र निर्वाचन क्षेत्र तहमा निर्वाचन तयारीका काममा तीव्रता दिने ।

–मतदाता नामावली लगायत कानुनी र प्राविधिक पक्षलाई चुस्त राख्ने ।

–विगत निर्वाचनमा विजयी भएका स्थानमा पार्टीले गरेका काम,प्राप्त गरेका उपलब्धि र पहलहरूका बारेमा व्यवस्थित सामग्री तयार गरी जनताका बीचमा स्थापित गर्ने ।

–शक्ति सन्तुलनको अवस्था, विपक्षी रणनीति र जनभावनाको सूक्ष्म अध्ययन÷विश्लेषण गर्ने ।

सरकारको विरोध र प्रतिवाद

त्यस्तै नेकपा एमालेले वर्तमान गठबन्धन सरकारलाई अवसरवादी दक्षिणपन्थी गठबन्धन भन्दै सरकारको गलत कामको विरोध र प्रतिवाद गर्ने भएको छ ।

‘वर्तमान गठबन्धनको अवसरवादी, स्वार्थी र राजनीतिक अस्थिरता सिर्जना गर्ने चरित्रका बारेमा जनतालाई स्पष्ट गर्ने, गठबन्धन सरकारबाट गरिने जनविरोधी र राष्ट्रविरोधी क्रियाकलापको सशक्त भण्डाफोर र विरोध गर्ने, प्रतिपक्षका रूपमा पार्टीको भूमिकालाई सशक्त, सिर्जनात्मक र प्रभावकारी बनाउने’, अध्यक्ष ओलीको प्रतिवेदनमा उल्लेख छ ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप