बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

हिमाली क्षेत्रको चरा यती एयरलाइन्स २४ वर्षमा

मङ्गलबार, ०५ असोज २०७८, १३ : ४१
मङ्गलबार, ०५ असोज २०७८

काठमाडौं । निजी क्षेत्रबाट सञ्चालित वायुसेवा कम्पनी यती एयरलाइन्सले स्थापनाको २३ वर्ष पूरा गरी २४ वर्षमा प्रवेश गरेको छ । १९९८ सेप्टेम्बर २१ बाट पहिलो उडान शुरु गरेको यती आजबाट २४ वर्षमा प्रवेश गरेको छ ।

हिमाली क्षेत्रको चराको रुपमा चिनिएको यतीले सुरुवाती दिनमा यातायात सञ्जाल नजोडिएका हिमाली क्षेत्र र कर्णालीका बासिन्दालाई खाद्यान्न, औषधी, लत्ताकपडालगायत सामग्री ढुवानी गर्दै सेवा विस्तार गरेको थियो । 

यतीले पछिल्लो समय अन्तर्राष्ट्रिय स्तरमा समेत आफ्नो सञ्जाल बढाउँदै लगेको एयरलाइन्सका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अनोज रिमालले जानकारी दिए । नेपालका दुर्गम क्षेत्रका बासिन्दालाई मानवीय सेवा गर्ने उद्देश्यका साथ स्थापना भएको एयरलाइन्सले आफ्नो भगिनी संस्था तारा एयर सहित २३ वर्षदेखि नेपाली आकाशमा सेवा दिँदै आएको रिमालले बताए । 

“यती एयरलाइन्स र तारा एयरका साहसी पाइलट एवं आत्मविश्वासी चालक दल, दक्ष प्राविधिक, तालिम प्राप्त कर्मठ कर्मचारी, साझेदार संघ संस्थाहरुको लगन, मेहनत, इमानदारी तथा यात्रुहरूको विश्वासले यती एयरलाइन्सले गौरवमय २३ वर्षे इतिहास पूरा गर्न सफल भएको हो, यसका लागी हामी सवैलाई हार्दिक धन्यवाद व्यक्त गर्दछौ”– सीईओ रिमालले भने । 

२४ वर्षे यात्रासंगै यतीले जेट स्ट्रिम युगको पूर्णरुपले अन्त्य गरी एटीआर युगमा प्रवेश गरेको छ । हालै यतीले आफूसँग रहेको ५ वटा विमान बिक्री गरेको जनाएको छ । 

कल सेन्टर शुरु
यती एयरलाइन्सले २३ औँ वार्षिकोत्सवको अवसरमा ग्राहकलाई थप सहजता प्रदान गर्ने उद्देश्यले रिजर्भेसन सेन्टरलाई अपग्रेड गर्दै आजबाट कल सेन्टरको औपचारिक शुभारम्भ गरेको छ । कल सेन्टरको शुभारम्भसँगै अब ०१–५९७००७४ मा फोन गरी उडान सम्बन्धी जानकारी लिन सकिने र उडान सम्बन्धी जिज्ञासा अनुत्तरित नरहने यती एयरलाइन्सले जनाएको छ । 

एयरलाइन्सका प्रवक्ता एवं हवाई सुरक्षा प्रमुख सुदर्शन बर्तौलाले उपयुक्त भाडादर, झन्झट रहित यात्रा, गुणस्तरीय सेवा र यात्रुहरुलाई पहिलो प्राथमिकतामा राखी उडान गरेको कारण यती एयरलाइन्स स्वदेशी तथा विदेशी यात्रुको रोजाइमा पर्न सफल भएको बताए । 

बर्तौलाले विरामी, अपाङ्गता वा फरक क्षमता भएका यात्रु, बालबालिका तथा ज्येष्ठ नागरिकलाई विशेष प्राथमिकतामा राखि सुरक्षित रुपमा गन्तव्यमा पु¥याई सन्तुष्ट सेवा प्रदान गर्दै आएको र आगामी दिनमा पनि सेवाको गुणस्तरमा बृद्धि गर्दै लैजाने बताए ।

यती एयरलाइन्स नेपालको पहिलो र एकमात्र कार्वन न्युट्रल एयरलाइन्स हो । वातावरण संरक्षणमा यती एयरलाइन्स उत्तिकै संवेदनशील र सक्रिय रहेको प्रवक्ता बर्तौलाको भनाई छ । 

यतीले सामाजिक उत्तरदायित्व अन्तर्गत सगरमाथा सफाई अभियानमार्फत सगरमाथा लगायत खुम्बु क्षेत्रबाट हालसम्म करिब १०० टन फोहोर एयर लिफ्ट गरिसकेको छ । यस्तै, विभिन्न जिल्लामा २  लाख ७२ हजार ६०० वटा विरुवा वृक्षारोपण गरिसकेको छ । वायुयानभित्र प्लाष्टिक कपको सट्टा पेपर कप प्रयोगमा ल्याएको, विद्युतीय सवारीसाधनलाई प्राथमिकताका साथ प्रयोगमा ल्याएको कम्पनीले जनाएको छ । 

यतीले हाल पाँचवटा एटीआर विमानमार्फत् नेपालगञ्ज, भद्रपुर, जनकपुर, पोखरा, सिमरा, भैरहवा र विराटनगरमा उडान भर्दै आएको छ भने भगिनी संस्था तारा एयरको ४ वटा ‘ट्वीन–अटर’ विमानमार्फत् दुर्गम हिमाली तथा पहाडी भागहरु लुक्ला, फाप्लु, जोमसोम, हुम्ला, जुम्ला, रारा, डोल्पा, बाजुरा जस्ता विमानस्थलमा सेवा दिँदै आएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप