बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

अनेरास्ववियूलाई ओलीको निर्देशन : सरकारले गुण्डागर्दी गर्‍यो, प्रतिवाद गर्नुहोस्

मङ्गलबार, ०५ असोज २०७८, १८ : ११
मङ्गलबार, ०५ असोज २०७८

प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सरकारकै संरक्षणमा मुलुकमा गुण्डागर्दी भइरहेको गम्भीर आरोप लगाएका छन् । अध्यक्ष ओलीले सरकारले प्रहरी परिचालन गरेर आफ्ना पार्टी निकट विद्यार्थी संगठन, युवा संगठन र कर्मचारी संगठनको कार्यालयमा गुण्डागर्दी गरेको भन्दै त्यसको प्रतिवादमा उत्रन पनि पार्टी निकट अनेरास्ववियूका नेता–कार्यकर्तालाई निर्देशन दिए । 

अनेरास्ववियूको नयाँ नेतृत्वको सपथग्रहणका लागि मंगलबार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै उनले जनताले भयरहित ढङ्गले जीवनयापन गर्न चाहेको उल्लेख गर्दै त्यसका विरुद्ध सरकार लागे प्रतिवादमा उत्रिनुको विकल्प नरहेको पटक–पटक दोहो–याए । अध्यक्ष ओलीले सरकारले जनतालाई दुःख दिने काम मात्रै गरेकाले आफूहरूले आपत्ति जनाउनु परेको पनि स्पष्ट पारे । 

उनले भने, ‘सरकार निर्देशित, सरकार सञ्चालित, सरकार संरक्षित गुण्डागर्दी जुन भइराखेको छ, त्यस कुराको पनि तपाईंहरुले भण्डाफोर गर्नु पर्छ । र मैले अस्ति बोल्दा पनि भनेको छु–जनता शान्तिपूर्ण ढङ्गले बाँच्न चाहन्छ । एउटा न्यायपूर्ण समाज होस्, न्यायपूर्ण व्यवहार होस् । र त्यहाँ शान्तिपूर्ण, भयरहित सम्मानजनक व्यवहार होस भन्ने जनता चाहन्छ । शान्तिपूर्ण ढङ्गले जीवनयापन गर्न चाहन्छ । तर जनतालाई त्यसरी बस्न दिँदै दिइएन भने जनताले के गर्छ ? प्रतिवाद गर्नु परेन । जनता भोलि प्रतिवादमा निस्कन्छ । अथवा असहज, अप्ठ्यारो, प्रतिकूल परिस्थिति आयो भने सरकारले त्यस्तो बेलामा साथ पाउँदैन । सबै चुप लागेर मूकदर्शक भएर हेर्छन् ।’

‘ २०१७ साल हेरे हुन्छ । २०१७ सालमा दुई तिहाइ ल्याएको काँग्रेस संसद् सबै अपदस्थ गर्दा पनि काँग्रेस केही पनि बोलेन । कोही पनि बोलेन । ३० वर्षसम्म किन चल्यो ? पछि त्यहीँ सिको गरेर ज्ञानेन्द्रले गरेको होइन ? माघ १९ । माघ १९ गर्दा ६१ सालबाट ६२ को अन्त्यमा पुग्दा त्यस रेजिमको नै समाप्त गरिदियो जनताले,’ उनले थपे, ‘त्यस शासन नै अन्त्य गरिदियो जनताले । तसर्थ जनता सचेत हुनुपर्दछ । जनतालाई सरकारले दुःख दिनु हुँदैन । लोकतन्त्र केही मानिसहरू शासनमा पुग्ने प्रणाली मात्रै होइन । जनतालाई छकाउने प्रणाली होइन, जनतालाई सेवा गर्ने, जनताको अधिकारको सुरक्षा गर्ने प्रणाली हो । सरकारले त जनताको अधिकार सुरक्षा गर्नुपर्ने ठाउँमा जनताको अधिकार खोसेर, जनतालाई दुःख दिएर, कानुनी ढङ्गले दुःख दिएर, अमानवीय ढंगले दुःख दिएर कुनै लोकतान्त्रिक आचरण भएन । हाम्रो आपत्ति त्यसमा हो ।’

अध्यक्ष ओलीले जनताको हितमा केन्द्रित भएर अघि बढ्न पनि अनेरास्ववियूका नेता, कार्यकर्तालाई सचेत गराए । उनले मुलुकलाई समृद्ध बनाउने अभियानलाई लक्ष्य बनाएर युवा, विद्यार्थीहरूले अघि बढ्नुपर्ने आवश्यकता पनि औँल्याए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप