शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

चैत्र मसान्तभित्र सबै नागरिकलाई कोभिडविरुद्धको खोप : मन्त्री कार्की

मङ्गलबार, ०५ असोज २०७८, १८ : १९
मङ्गलबार, ०५ असोज २०७८

कानुन, न्याय तथा संसदीय मामिला मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सरकारको लक्ष्य अनुसार नै आगामी चैत्र मसान्तभित्र सबै नागरिकलाई कोभिडविरुद्धको खोप लगाइसक्ने बताएका छन् । नेपाल सरकारका प्रवक्ता समेत रहनु भएका मन्त्री कार्कीले सरकारले जनताको जीवन रक्षा गर्ने कामलाई पहिलो कर्तव्य सम्झेर सबै नागरिकलाई कोभिडविरुद्धको खोप पु–याउने अभियानलाई प्रभावकारी ढङ्गले अगाडि बढाइरहेको दाबी गरे । 

मंगलबार सिंहदरवारस्थित आफ्नै कार्यकक्षमा पुगेका इन्टरनेशनल कमिशन अफ जुरिष्ट्स, एडभोकेसी फोरम, एम्नेष्टि इन्टरनेशनल नेपाल, जुरी नेपाल र नेपाली पत्रकारहरुको अन्तराष्ट्रिय सञ्जाल (इन्जा)का पदाधिकारीहरूसँगको सामूहिक भेटमा उनले आफूहरू सरकारमा आउँदा मुलुकमा कोभिडको ठुलो आतङ्क रहेको र हाल आएर त्यसलाई सामान्य अवस्थामा पु–याउन सफल भएको पनि बताए । मन्त्री कार्कीले सरकार जनतालाई कोभिडबाट मुक्त गर्ने र मुलुकमा सुशासन कायम गर्दै दिगो शान्ति र दिगो आर्थिक विकासको कामलाई अगाडि बढाउने काममा अग्रसर भइरहेको बताए । 

उनले मुलुकमा राजनीतिक स्थिरता कायम गरी मुलुकलाई दिगो आर्थिक विकासको बाटोमा अगाडि बढाउन सरकारलाई साथ, सहयोग र समर्थन गर्न पनि सबैलाई आग्रह गरे । मन्त्री कार्कीले भने, ‘सबै नेपालीलाई भ्याक्सिन लगाउने काममा सरकार अगाडि बढिरहेको छ । र त्यो लक्ष्य पूरा हुन्छ । जनताको जीवन रक्षा नै प्रथम कर्तव्य हो–सरकारको । त्यो दायित्व पूरा गरिराखिएको छ । र त्यसपछि मुलुकलाई स्थिरता दिएर सुशासन कायम गर्दै दिगो शान्ति, दिगो आर्थिक विकासतर्फ हामी अगाडि बढ्नु पर्दछ । यही अभियानमा हामी सबै छौँ । यही अभियानमा सरकारलाई सबैको साथ, सहयोग र समर्थनको अपेक्षा गर्दछु ।’

मन्त्री कार्कीले वर्तमान सरकारले अर्थतन्त्रलाई चलायमान बनाउन पनि गम्भीरतापूर्वक काम गरिरहेको बताए । उनले ‘नो भ्याक्सिन’को अवस्थाबाट मुलुक सामान्य अवस्थामा आउनु ठुलो उपलब्धि भएको तर्क समेत गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप