बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

सेबोनका अध्यक्ष ढुंगानाविरुद्धको छानबिन समितिले बुझायो प्रतिवेदन

मङ्गलबार, ०५ असोज २०७८, १८ : ५५
मङ्गलबार, ०५ असोज २०७८

नेपाल धितोपत्र बोर्ड (सेबोन) का अध्यक्ष भीष्मराज ढुङ्गानामाथि लागेको आरोपको सम्बन्धमा जाँचबुझ गर्न गठित समितिले मंगलवार सकारलाई प्रतिवेदन बुझाएको छ । अर्थमन्त्रालयमा आयोजित एक कार्यक्रममा समितिका अध्यक्ष उच्च अदालतका पूर्व न्यायाधीश अनन्तराज डुम्रेले छानबिन प्रतिवेदन अर्थमन्त्री जनार्दन शर्मालाई बुझाएका हुन् ।

प्रतिवेदन बुझ्दै अर्थमन्त्री शर्माले यसको अध्ययन पश्चात् सरकारले आवश्यक निर्णय गर्ने बताए । सो क्रममा उनले अध्ययन प्रतिवेदनको निष्कर्ष तथा सुझावले धितोपत्र सम्बन्धी कारोबारलाई व्यवस्थित र सुरक्षित गर्ने तथा पुँजी बजारका सम्पूर्ण लगानीकर्ताहरूको हित रक्षामा सहयोगी हुने धारणा राखे । शेयर बजार आफ्नै नियम र पद्धतिमा अघि बढ्ने विषय भएकोले मन्त्रीको कारणले शेयर बजार घटबढ नहुने कुरा समेत उनले बताए ।     

सर्वोत्तम सिमेन्टको अनुचित सेयर कारोबारको आरोप लागेका अध्यक्ष ढुङ्गानाको भित्री कारोबार तथा धितोपत्र व्यवसाय गरी बोर्डलाई हानी नोक्सानी पु–याई बोर्डको हित र पुँजी बजारको विकास विपरीत हुने गरी पदीय आचरण विपरीत काम कारबाही गरेको भन्ने सम्बन्धमा जाँचबुझ गरी १५ दिनभित्र प्रतिवेदन पेस गर्न गत भदौ १६ गतेको मन्त्रिपरिषद् बैठकले जाँचबुझ समिति गठन गरेको थियो । 

धितोपत्र सम्बन्धी ऐन, २०६३ को दफा ७ को उपदफा ७ र नेपाल धितोपत्र बोर्ड सम्बन्धी नियमावली २०६४ को नियम ११ बमोजिम गठित समितिले मंगलबार तोकिएको समयभित्रै प्रतिवेदन पेस गरेको हो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप