मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

अमेरिका पठाउने प्रलोभनमा रोहिङ्गा शरणार्थीलाई नेपाल भित्र्याउने गरेको खुलासा

मङ्गलबार, ०५ असोज २०७८, २२ : ३१
मङ्गलबार, ०५ असोज २०७८

केही गिरोहको मिलेमतोमा अमेरिका पठाउने बहानामा रोहिङ्गा शरणार्थीलाई नेपाल ल्याउने गरेको खुल्न आएको छ । अनुसन्धानका क्रममा हाल काठमाडौँको कपनमा रहेको रोहिङ्गा शरणार्थी क्याम्पमा बस्ने नूर अमिन र सोफिक आलमले बङ्गलादेशी नागरिक आजमत अलिसँग मिलोमतो गरी अन्य शरणार्थीलाई नेपाल भित्र्याइएको पाइएको छ ।

नेपालबाट अमेरिका जान परिचयपत्र पाइने, मासिक प्रतिव्यक्ति पुरुषलाई रु पाँच हजार ७५०, महिलालाई रु तीन हजार ७५० र बालबालिकालाई रु दुई हजार ७५० भत्ता सुविधा दिने तथा अन्य सुविधा पनि राम्रो रहेको भनी प्रलोभन दिएर नेपाल ल्याउने गरेको प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले जनाएको छ । उनीहरुले यसरी छ जना शरणार्थीलाई नेपाल ल्याएको पनि प्रहरीले जानकारी दिएको छ ।  

केही अघि ब्यूरोको टोलीले उनीहरुलाई पक्राउ गरी मानव वेचविखन अनुसन्धान व्यूरोमा बुझाएको थियो । ब्यूरोले जिल्ला अदालत काठमाडौँबाट सात दिनको म्याद थप गरी मानव वेचविखन तथा ओसारपसार नियन्त्रण ऐनअनुसार अनुसन्धान थालेको आज एक सूचनामार्फत जनाएको छ ।  

ब्यूरोका प्रवक्ता प्रहरी उपरीक्षक शारदाप्रसाद चौधरीअनुसार उनीहरुले कति जना मानिसलाई त्यसरी ल्याएका हुन् भन्ने बिषयमा अनुसन्धान भइरहेको जानकारी दिए । गिरोहले पीडितलाई शरणार्थीका लागि संयुक्त राष्ट्र सङ्घीय उच्चायुक्तको कार्यालय (युएनएचसीआर) नजिक छाडेका थिए । त्यसपछि कार्यालयको सम्पर्कमा गई पीडितले शरणर्थीको परिचयपत्र बनाएका थिए । अनुसन्धानमा उनीहरुलाई अवैध रुपमा  नेपालमा भित्र्याएको पाइएको छ । 

उनीहरुले शरणार्थीलाई भारतको बाटो प्रयोग गरी नेपाल ल्याइ मानव तस्करी गर्ने गरेको दाबी प्रहरीको छ । गिरोहले ढाकादेखि काठमाडाँैसम्मको यात्राका लागि दुई लाख ५० हजार टाका (बङ्गलादेशी मुद्रा) लिइ प्रलोभनमा पारी नेपालसम्म ल्याई पु¥याएको जनाइएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप