बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

यी चर्चित प्रशिक्षक जो अहिले क्लबविहीन छन्

बुधबार, ०६ असोज २०७८, ०६ : ४९
बुधबार, ०६ असोज २०७८

युरोपमा फुटबल सिजन सुरु भएको केही सातामात्रै बितेको छ । र, अहिल्यै केही प्रशिक्षकहरूले क्लब छाड्नसक्ने चर्चा चलिरहेको छ । यही समय केही विश्वचर्चित प्रशिक्षकहरू भने क्लबविहीन छन् । बहालवाला प्रशिक्षकहरूले क्लब छाड्नुपर्ने अवस्था निम्तिएमा यी प्रशिक्षकहरूले ती क्लब सम्हाल्न सक्छन् । क्लब विहीन अवस्थामा रहेका प्रशिक्षकहरूको सूची यस्तो छ : 

जिनेदिन जिदान 

जिनेदिन जिदान खेलाडी जीवनमा जत्तिकै प्रशिक्षकका रूपमा पनि सफल रहे । उनले रियल म्याड्रिडलाई आफ्नो प्रशिक्षणमा लगातार तीनपटक च्याम्पियन्स लिग र दुईपटक ला–लिगा जिताए । तर, अहिले उनी क्लबविहीन छन् ।

​एन्टोनियो कोन्टे 

युभेन्टस्लाई तीनपटक इटालियन सिरिए उपाधि जिताएका एन्टोनियो कोन्टे २०१६ मा चेल्सी गएका थिए । उनले चेल्सीलाई २०१६–१७ मा प्रिमियर लिग जिताए । २०१९ देखि इन्टर मिलानको प्रशिक्षक रहेका कोन्टेले गत सिजन इन्टरलाई उपाधि जिताएका थिए । त्यसपछि इन्टर छाड्ने घोषणा गरेका कोन्टे अहिले विश्राममा छन् । 

आन्द्रे पिर्लो 

अब्बल खेलाडीका रूपमा ख्याति कमाएका पिर्लो सन्यासपछि प्रशिक्षणमा होमिएका हुन् । उनको प्रशिक्षणमा युभेन्टस्ले कोपा इटालिया र इटालियन सुपर कप जित्यो । तर, २०२०–२१ को सिजन सिरिए जित्न असफल रह्यो, यसपछि पिर्लोले पनि क्लब छाडे । अर्थात्, पिर्लोको प्रशिक्षणको सुरुवाती चरण सोचेजस्तो रहेन । 

फ्रयाङ्क लाम्पार्ड 

पूर्व इंलिस मिडिफल्डर फ्रयाङ्क लाम्पार्डले पनि प्रशिक्षण जीवनको सुरुवातमा राम्रो अनुभव गर्न पाएनन् । उनले २०१९ यता दुई सिजन चेल्सीको टिम सम्हाले । तर चेल्सीले कुनै उपाधि जित्न सकेन । उनको प्रशिक्षणमा चेल्सीले एफए कपको फाइनल यात्रा भने गरेको थियो ।

गिनारो गाटुसो 

इटलीका पूर्व स्टार खेलाडी गाटुसो २०१३ देखि नै प्रशिक्षणमा छन् । स्विचरल्यान्डको सिओन फुटबल क्लबमार्फत प्रशिक्षण जीवन सुरु गरेका गाटुसोले त्यसयता, पलेर्मो, एसी मिलान र नापोलीलाई प्रशिक्षण दिए । पछिल्लोपटक उनले गत सिजन नापोलीलाई प्रशिक्षण दिएका थिए । अहिले गाटुसो पनि क्लबविहीन छन् । 

यी प्रशिक्षक पनि क्लबविहीन 

बार्सिलोनाका पूर्व प्रशिक्षक इर्नेस्टो भाल्भार्डे, एएस रोमा पूर्व प्रशिक्षक पाउलो फोन्सेका, नेदरल्यान्डस्का पूर्व प्रशिक्षक फ्रयाङ्क डि बोयरलगायत प्रशिक्षक पनि अहिले कुनै टोलीसँग आबद्ध छैनन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप