बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

सुजित मैनालीको ‘सती’ सार्वजनिक

बुधबार, ०६ असोज २०७८, १० : ४२
बुधबार, ०६ असोज २०७८

मानव–इतिहासकै एउटा क्रूरतम अध्याय मानिने सती प्रथाबारे नेपालमा विरलै कलम चलाइएका छन् । यसै सन्दर्भमा लेखक सुजित मैनालीको नयाँ अनुसन्धानात्मक पुस्तक ‘सती : इतिहास र मीमांसा’ बजारमा आएको छ ।

नेपालमा सती प्रथामाथि रोक लगाइएको सय वर्ष पुगिसके पनि यसले पारेका असर लैङ्गिक भेदभावका अनेक पाटोका रूपमा समाजमा अझै व्याप्त छन् । मैनालीको किताबले सतीप्रथाको ऐतिहासिक, सामाजिक र मनोवैज्ञानिक पाटोबारे विमर्श गरेको छ ।

लेखक मैनाली भन्छन्, ‘मृतक पतिका नाममा पत्नीलाई जिउँदै जलाउने चलनबाट तात्कालिक पुरुषप्रधान समाजले कस्तो लाभ दोहन ग¥यो भनी चर्चा गर्दै यस किताबले महिनावारी बार्ने चलनदेखि बलात्कारसम्मका नारीद्वेषी चलनलाई सतीप्रथाको आलोकमा बुझ्ने प्रयत्न गरेको छ ।’

नेपालमा लिच्छवि राजा मानदेवको पालादेखि राणा प्रधानमन्त्री चन्द्रशमशेरको समयसम्म सतीगमनका अनेक घटना भएका छन् । वि.सं. १९७७ मा चन्द्रशमशेरले नेपालभरि सतीप्रथाको अभ्यासमा रोक लगाएपछि पत्नीले पनि पतिको शवसँगै जलेर प्राण त्याग्नुपर्ने चलन कानुनी रूपमा बन्द भएको हो ।

‘समाजशास्त्रका किताब पल्टाउँदै जाँदा महसुस भयो– इतिहास र त्यसको लैङ्गिक पाटो बुझ्न सके मात्र समाजको नसनाडी राम्ररी छाम्न सकिने रहेछ,’ समाजशास्त्रको अध्येता रहेका मैनाली भन्छन्, ‘खासमा यही अनुभूतिले मलाई किताब लेख्न प्रेरित गर्यो  ।’

लेखकले नेपाल र भारतमा अभ्यस्त सतीप्रथाबारे सात वर्ष जति अध्ययन–अनुसन्धान गरेर तयार पारेको यस पुस्तकमा आठवटा अध्यायहरू छन् । त्यसबाहेक ४२ वटा परिशिष्टहरूमा किंवदन्ती, अनुश्रुति र अभिलेखहरूको खँदिला विवरण समेटिएका छन् । त्यसका निम्ति लेखकले सतीको नामसँग जोडिएका स्थलहरूको स्थलगत अवलोकन गर्नुका साथै थुप्रै अन्तर्वार्ताहरू लिएका थिए । प्रकाशित लेख–रचनाबाहेक अप्रकाशित स्रोत, शिलालेख, पत्र, इस्तिहार, लिखत आदिको पनि पुस्तक लेखनमा पर्याप्त उपयोग गरिएको छ ।

यसै साता बजारमा उपलब्ध भएको ‘सती’ किताब पब्लिसर्सले प्रकाशन गरेको हो । सतीप्रथाको मुख्य उद्देश्य पतिव्रता धर्मको महिमा गाएर त्यसकै आवरणमा महिलाको यौनजीवन नियन्त्रित गर्नु थियो भन्ने कुरा पुस्तकले उजागर गरेको छ । सतीप्रथालाई राजपरिवारमा सत्ता प्राप्तिको हतियारका रूपमा कसरी उपयोग गरिन्थ्यो भन्ने विवेचना पनि यसमा छ । सतीप्रथाबाट सबैभन्दा प्रताडित कमारीहरूको रोदनलाई पनि ‘सती’ले बाहिर ल्याएको छ ।

भारतमा इस्ट इन्डिया कम्पनीले सतीप्रथामाथि प्रतिबन्ध लगाउँदा विरोध भए पनि नेपालमा त्यो कसरी सजिलैसँग उन्मूलन हुनसक्यो भन्ने कुराको अन्तर्य पनि किताबमा खोतलिएको छ ।

लेखनमा अन्तर्विधागत पद्दतिलाई जोड दिने सुजित मैनालीको यो दोस्रो किताब हो । यसअघि २०७६ सालमा उनको ‘शिलान्यास ः नेपाल निर्माणको नालीबेली’ पुस्तक प्रकाशित छ ।

प्रकाशक कल्पना ढकाल भन्छिन्, ‘यो पुस्तकमा सतीप्रथाको उद्भवपछाडिका ऐतिहासिक कारणहरूको राम्रोसँग विवेचना गरिएको छ । यो पढ्दै जाँदा अहिलेका लैङ्गिक भेदभावका कतिपय प्रवृत्तिहरू त्यही कुप्रथाका धङ्धङी हुन् भन्ने प्रष्ट हुन्छ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप