बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

विद्यालय धमाधम खुल्न थाले, बालबालिकाले कहिले खोप पाउने ?

फाइजर खोप आउँदै तर बालबालिकाले नपाउने
बुधबार, ०६ असोज २०७८, १२ : ५८
बुधबार, ०६ असोज २०७८

काठमाडौं । कोरोना संक्रमणको तेस्रो लहरमा बालबालिका बढी प्रभावित हुने चेतावनी विज्ञहरुले दिँदै आएको अवस्थामा विद्यालयहरु धमाधम खुल्न थालेको छ । हिन्दुहरुको महान् चाड बडा दसैँका लागि तीन सातामात्र बाँकी रहँदा काठमाडौं उपत्यकासँगै देशका ठुला शहरमा विद्यालयमा भौतिक उपस्थितिमै पठनपाठन सुरु हुन थालेको छ ।

त्यसो त, सरकारले बालबालिकाका लागि पनि कोरोनाविरुद्धको खोपलाई प्राथमिकतामा राखेको बताउँदै आए पनि त्यस्तो खोपको सुनिश्चितता गर्न सकेको छैन । सरकारले १२ देखि १७ वर्ष उमेर समूहका ५० लाख बालबालिकालाई खोप दिने घोषणा गरेको छ । बालबालिकाका लागि कहिले खोप प्राप्ति गर्ने, अनि कहिले खोप लगाउने भन्ने अझै सुनिश्चित हुन सकेको छैन ।

उता, युरोपियन मुलुकमा विद्यालय खुलेसँगै बालबालिकाहरुमा संक्रमण दर बढेको पाइएको छ । द अमेरिकन एकेडेमी अफ पेडियाट्रिक्स (एएपी)का अनुसार अमेरिकामा कोभिड–१९ संक्रमित बालबालिकाको संख्यामा अत्यधिक वृद्धि भएको छ । कुल संक्रमितमध्ये लगभग २६ प्रतिशत बालबालिका पाइएको छ ।

अमेरिकामा महामारी सुरु भएदेखि बालबालिकामा देखिएको यो संक्रमण दर दोस्रो सर्वाधिक उच्च हो । हाल बालबालिका उच्च जोखिममा रहेको विश्वव्यापी संक्रमणको तथ्याङ्कले देखाउँछ ।

नेपालमा पछिल्लो २४ घण्टामा एक हजार ३३० जना संक्रमित हुँदा दश वर्ष मुनिका ४० र  ११ देखि २० वर्ष उमेर समूहका ७९ जनामा संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमणका कारण हालसम्म नौ वर्ष मुनिका ४७ र १० देखि १९ वर्षसम्मका ५४ जना बालबालिकाको मृत्यु भएको छ ।

यस्तै, कोरोना महामारीमा १८ वर्ष मुनिका ६३ हजार बालबालिका संक्रमित भएका छन् । तीमध्ये पहिलो लहरमा २१ हजार ५२३, दोस्रो लहरमा ४१ हजार ७३८ जना संक्रमित भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । 

स्वास्थ्य मन्त्रालयका अनुसार संक्रमितमध्ये करिब १० प्रतिशत बालबालिका हुने गर्छन् । युवा, वयस्क, ज्येष्ठ नागरिकको तुलनामा बालबालिका संक्रमणको आशङ्कामा न्यून मात्रामा परीक्षण गर्न पुग्ने बालरोग विषेशज्ञहरुले बताउँदै आएका छन् ।

बालबालिका तुलनात्मक रुपमा परीक्षणको दायरामा कम आउने हुँदा संक्रमण दर पनि कम देखिएको कान्ति बाल अस्पतालका पूर्व प्रमुख वरिष्ठ बालरोग विशेषज्ञ तथा इसान अस्पतालका निर्देशक डा. आरके चौधरीको अनुमान छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार केही समयअघि पाँच वर्षसम्मका ५५ प्रतिशत र ५ देखि १४ वर्षसम्मका ५९ प्रतिशत बालबालिका संक्रमित भएको पाइएको थियो । अन्य उमेर समूहका कतिपयले कोरोनाविरुद्धको खोप लगाएको तर बालबालिकाले अहिलेसम्म खोप लगाउन नपाउँदा उनीहरु उच्च जोखिममा रहेको उनले बताए ।

फाइजर खोप आउँदै तर बालबालिकाले नपाउने

स्वास्थ्य सेवा विभाग, बाल स्वास्थ्य तथा खोप शाखाका अनुसार कोभ्याक्स सुविधामार्फत नेपालले चाँडै १ लाख ६२० मात्रा फाइजर खोप पाउने भएको छ । खोप शाखाका प्रमुख डाक्टर सागर दाहालले फाइजर खोप आउने निश्चित भएपछि यसको व्यवस्थापनको तयारीमा जुटेको सुनाए । सरकारले फाइजरको खोप ५५ वर्ष माथिका दीर्घरोगीलाई दिने तयारी गरेको छ ।

बालरोग विषेशज्ञहरुले अब आउने फाइजरको खोप बालबालिकालाई दिनुपर्नेमा जोड दिँदै आएका छन् । ५५ वर्ष उमेरभन्दा माथिका मात्रै दीर्घरोगी नभएर धेरै बालबालिकासमेत दीर्घरोगी रहेको भन्दै उनले फाइजरको अब आउने खोप बालबालिकालाई दिनुपर्ने वरिष्ठ बालरोग विषेशज्ञ चौधरीको धारणा छ ।

‘मेरुदण्ड, मिर्गौला, मुटु, क्यान्सर, एचआईभी (एड्स), फोक्सोसम्बन्धी जटिल दीर्घरोग धेरै बालबालिकालाई लागेको छ,’ उनले भने, ‘५५ वर्षमाथिका दीर्घरोगी अन्य खोपको प्राथमिकतामा समेत परेका छन्, खोप लगाउने क्रम पनि जारी छ ।’

कोभिशिल्ड, भेरोसेल, जोन्सोन एण्ड जोन्सोनको खोप, एस्ट्राजेनेका खोप दीर्घरोगीहरुले पनि लगाएका छन् । नेपालमा दीर्घरोगी बालबालिकाको अवस्थाबारे सम्बन्धित निकायले अध्ययन गरेको छैन । तर, उपचारमा संलग्न बाल चिकित्सकले कम्तीमा ५/६ प्रतिशत बालबालिका दीर्घरोगी रहेको अनुमान लगाउँछन् ।

संक्रमितको सङ्ख्या कम भए पनि जोखिम उत्तिकै छ । विद्यालयहरु धमाधम खुलिरहेकाले बालबालिकामा संक्रमणको जोखिम झन् बढेकाले प्राथमिकतामा पार्नुपर्छ ।

यता स्वास्थ्य सेवा विभाग, बाल स्वास्थ्य तथा खोप शाखा प्रमुख दाहालले फाइजर खोप एक लाख मात्रामात्रै आउने भएकाले ५५ वर्षभन्दा माथिका दीर्घरोगीलाई दिने तयारी गरिएको सुनाए । ‘अहिले आउने एक लाख फाइजर खोपले बालबालिकालाई पुग्दैन,’ उनले भने, ‘केही समयपछि खरिद, अनुदानको थप खोप आएपछि बालबालिकाले पाउँछन् ।’

भण्डारणको तयारी

फाइजर खोप भडारणका लागि ‘अल्ट्रा लो टेम्प्रेचर स्टोरेज फ्रिज’ ल्याइसकेको खोप शाखा प्रमुख डा. दाहालले बताए । यस खोपलाई ८० डिग्री सिल्सियस कम तापक्रममा राख्नुपर्छ । खोपलाई लगाउने बेलामा २ देखि ८ डिग्री तापक्रममा राखिने उनले सुनाए ।

फाइजर, मोडर्ना खोप आइसकेपछि कसरी भण्डारण गर्ने, कसरी यस खोपलाई खोप केन्द्रमा पु¥याएर लगाइदिने भन्नेबारे स्वास्थ्यकर्मीलाई तालिम दिने तयारी गरिरहेको उनले सुनाए ।

बालबालिकाका लागि खोप अनिश्चित

सरकारले ५० लाख बालबालिकालाई खोप दिने घोषणा गरे पनि कहिले दिने भन्ने अनिश्चित छ । सरकारले अमेरिकाबाट बालबालिकाका लागि ६० लाख फाइजर र ४० लाख मोडर्ना खोप ल्याउने जनाएको छ । सन् २०२२ को मार्चसम्ममा नेपालले खरिद गर्ने भनेको ६० लाख मात्रा फाइजरको खोप आइसक्ने स्वास्थ्य मन्त्रालयको दाबी छ । मोडर्ना खोप खरिदका लागि पैसा पठाइसकेको सरकारले जनाएको छ ।

यस्तै, फाइजर खोप खरिदको तयारी अन्तिम चरणमा पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । नेपालले भेरोसेल  कोभिशिल्ड, अस्ट्राजेनेका, जोन्सन एण्ड जोन्सन खोप खरिद र अनुदानमार्फत हालसम्म १ करोड ७७ लाख ५५ हजार ५९० डोज खोप प्राप्त भएको छ । मंगलबारसम्म पहिलो मात्रा ६२ लाख ३० हजार ८२३, पूर्ण मात्रा ५६ लाख २८ हजार ७९२ लगाएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

माया श्रेष्ठ
माया श्रेष्ठ

श्रेष्ठ राताेपाटीका लागि समसामयिक विषयमा रिपाेर्टिङ गर्छिन् ।

लेखकबाट थप