शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

पोल भाडा वृद्धि गरिएकोमा केबल टिभी प्रदायकद्वारा आन्दोलनको चेतावनी

बुधबार, ०६ असोज २०७८, १४ : ५७
बुधबार, ०६ असोज २०७८

सरकारले केबल टिभी प्रदायक कम्पनीहरूले प्रयोग गर्दै आएको बिजुलीको पोलको भाडा वृद्धि गरेसँगै व्यवसायीहरू आक्रोशित भएका छन् । यसअघि मासिक ३०० रुपैयाँ (भ्याटसहित) भाडा तिर्दै आएकोमा सरकारले असोज १५ गतेदेखि लागू हुने गरी पोलको भाडा अधिकतम ५०० प्रतिशतसम्मले वृद्धि गरेसँगै व्यवसायीहरू आन्दोलित भएका हुन् । 

भाडा वृद्धिसँगै अब एक पोलका लागि केबल टिभी प्रदायक कम्पनीले अधिकतम २१ सय रुपैयाँसम्म खर्च गर्नुपर्ने भएको छ । त्यसको भार सोझै उपभोक्तामा पर्ने र साना केबल टिभी व्यवसायीमा टिकिरहन नसक्ने अवस्था आउने भएपछि आन्दोलनको विकल्प नभएको नेपाल केबल टेलिभिजन व्यवसायी महासंघले जनाएको छ । 

बुधबार एक प्रेस विज्ञप्ति जारी गर्दै महासंघले सरकारको तीव्र आलोचना गर्दै सो निर्णय विरुद्ध आगामी असोज १३ गते राष्ट्र व्यापी भेलाको आयोजना गर्ने जनाएको छ । 

सभाले पोल भाडाको सम्बन्धमा वृहत् छलफल गर्ने र भाडा वृद्धि फिर्ता गर्न दबाब दिने, यदि फिर्ता नभएको खण्डमा सम्पूर्ण व्यवसायीहरूले सरकारलाई तालाचाबी बुझाउने सम्मको निर्णय गर्ने महासंघका महासचिव मनोज गुरुङले रातोपाटीसँग बताए । 

सो अबसरमा महासचिव गुरुङले हाल कार्यान्वयनमा रहेको भनिएको क्लिन फिल्ड नीति समेत कडाइकासाथ लागू गर्न र सबैलाई समान व्यवहार गर्न सरकारसँग माग गरेका छन् । यस्तो व्यवस्था टिभी प्रदायक कम्पनीहरुलाई मात्र नभएर अन्य इन्टरनेट प्रदायक कम्पनीहरुलाई समेत लागू गर्नुपर्ने उनको माग छ । 

हाल मुलुकभरबाट गरि करिब ५०० केबल टिभी प्रदायक कम्पनीहरू र १५० इन्टरनेट सेवा प्रदायक कम्पनी व्यवसायीहरू रहेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप